close

सञ्चालनमा आयो ऋणीको व्यवहार र कर्जा भुक्तानी क्षमता परीक्षण गर्ने सफ्टवेयर

टेकपाना टेकपाना

चैत ८, २०८० १६:०

सञ्चालनमा आयो ऋणीको व्यवहार र कर्जा भुक्तानी क्षमता परीक्षण गर्ने सफ्टवेयर

काठमाडौं । नेपाल राष्ट्र बैंकसँगको समझदारीमा तयार भएको साइकोमेट्रिक स्कोरिङ सोलुसन कर्जा सूचना केन्द्र लिमिटेडलाई हस्तान्तरण गरिएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोषले बिहीवार एक कार्यक्रमका बीच उक्त सोलुसन हस्तान्तरण गरेको हो ।

यससँगै उक्त प्रणाली पूर्ण रूपमा प्रयोगमा ल्याइने भएको छ । केन्द्रीय बैंकका अनुसार नयाँ ऋणीको व्यवहार र कर्जा भुक्तानी क्षमताको मनोवैज्ञानिक परीक्षण गर्ने उद्देश्यका साथ उक्त प्रणाली तयार पारिएको हो । यो प्रणालीबाट विगतमा कर्जा नलिएका र बिना धितो सानो आकारका कर्जा लिन चाहने ऋणीको मनोवैज्ञानिक परीक्षण हुने बताइएको छ ।

यसको कार्यान्वयनसँगै नेपालमा वित्तीय समावेशीकरणको प्रवर्द्धनमा समेत सहयोग पुग्ने अपेक्षा राखिएको छ । कर्जा सूचना केन्द्रका प्रवक्ता विजय कुँवरले विगत एक वर्षदेखि तीन-चार ओटा बैंक तथा वित्तीय संस्थामा यो सफ्टवेयर पाइलट परियोजनाको रूपमा सञ्चालनमा रहेको र अब सम्पूर्ण बैंक तथा वित्तीय संस्थाका लागि उपलब्ध गराइने जानकारी दिए ।

कुनै ऋणीले बैंक तथा वित्तीय संस्थामा कर्जाका लागि आवेदन दिए पश्चात् कर्मचारीले सफ्टवेयरमा लगइन गरेर त्यहाँ आउने मनोविज्ञान बुझ्ने गरी तयार पारिएका प्रश्नहरू प्रत्यक्ष रूपमा सोध्नुपर्ने हुन्छ र सम्बन्धित व्यक्तिले दिइएका मध्ये जवाफ छान्न सक्छन् । कुन प्रश्न सोधिन्छ भन्ने कुरा कर्मचारीलाई समेत थाहा हुँदैन ।

प्रश्नहरू सामान्य हुने भएपनि त्यसबाट भोलिको दिनमा ऋण तिर्न सक्छ वा सक्दैन भन्ने अन्दाज गर्न सम्बन्धित व्यक्तिको मनसाय बुझ्न सकिन्छ । सबै प्रश्नको उत्तर दिइसकेपछि सफ्टवेयरले आन्तरिक प्रक्रिया सुरु गर्छ र ऋणीको स्कोर अर्थात् अङ्क निकाल्छ । जसबाट सम्बन्धित ऋणीको मनोविज्ञान अन्दाज गर्न सकिने केन्द्रले जनाएको छ ।

सफ्टवेयरमा आधारित यो प्रणाली सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखाहरूमा प्रयोगमा ल्याउने स्तरमा तयार भएको कुँवरले बताए । यसका लागि इच्छुक बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकलाई बोधार्थ उल्लेख गरेर केन्द्रलाई निवेदन वा ईमेल पठाउनुपर्ने हुन्छ ।

"हाललाई यो सोलुसन बैंक तथा वित्तीय संस्थालाई निःशुल्क रूपमा उपलब्ध गराइरहेका छौं," उनले भने, "तर त्यसका लागि सम्बन्धित संस्थाले समेत उक्त प्रणाली लिङ्क गर्न मिल्ने सिस्टम बनाउनु पर्छ, जसको आवश्यक मापदण्ड तथा आवश्यकता केन्द्रले उपलब्ध गराउनेछ ।"

पाइलट परियोजनाको नतिजा कस्तो रह्यो भन्ने प्रश्नमा कुँवरले त्यसको अन्तिम प्रतिवेदन तयार हुन बाँकी रहेको जवाफ दिए । पाइलट परियोजनाको रूपमा रहेको सिस्टममा मात्रै निर्भर रहेर कर्जा जारी गर्न चुनौतीपूर्ण हुन सक्ने सन्दर्भ उल्लेख गर्दै उनले यसको नतिजाका लागि कर्जा उपलब्ध गराइएका ऋणीको व्यवहार र सफ्टवेयरले अनुमान गरेको स्कोर मिलाएर विश्लेषण गर्नुपर्ने बताए ।

पछिल्लो अध्यावधिक: चैत ८, २०८० १६:०