close

एआईको सहयोगमा चिनजानकै व्यक्तिको आवाज बनाएर हुन थाल्यो अनलाइन ठगी, बच्ने कसरी ?

टेकपाना टेकपाना

चैत १२, २०८० १४:१

एआईको सहयोगमा चिनजानकै व्यक्तिको आवाज बनाएर हुन थाल्यो अनलाइन ठगी, बच्ने कसरी ?

काठमाडौं । प्रविधिको दुनियाँमा तीव्र रूपमा आइरहेको परिवर्तनसँगै मानिसहरूबिच सल्लाह दिने गरिएको छ, "हरेक कुरा अनि हरेक मानिसको विश्वास नगर्नु ।" आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को माध्यमबाट युवाहरू तथा जेष्ठ नागरिकहरूमाथि ठगी भइरहेका खबर आउन थालेका छन् ।

त्यस किसिमका सम्भावित ठगीबाट जोगिने उपायको रूपमा यो एड्भाइजरी तयार पारिएको हो । एआईको माध्यमबाट कुनै पनि व्यक्तिको आवाज बनाएर ठुला ठुला रकम ठगी भएका घटना बाहिरिन थालेका छन् । यो प्रक्रियामा कुनै पनि प्रकारका प्रमाण फेला पर्दैनन् । यस्तोमा ठगी भएको रकम फिर्ता ल्याउने त टाढाको कुरा, छानबिन तथा अनुसन्धान हुन पनि मुस्किल बन्छ ।

मामिला यहाँसम्म पुगिसकेको छ कि मानिसहरूलाई अपरिचित नम्बर वा अपरिचित व्यक्तिको कल नउठाउने सल्लाह समेत दिन थालिएको छ।

 

सोच बदल्नुपर्ने आवश्यकता

साइबर सुरक्षा क्षेत्रका विज्ञहरूको बुझाईमा यस्ता चुनौतीको सामना गर्नका लागि सोच नै बदल्न जरुरी छ । प्रविधिको यो नयाँ दुनियाँमा तपाईंले हरेक व्यक्ति वा हरेक चिजमा भरोसा गर्न सक्नु हुन्न ।

तपाईंले आफूलाई एक त्यस्तो व्यक्तिमा ढाल्नुपर्नेछ कि जसले हरेक चिजमा शङ्का गर्न सकोस् । साथै सबै चिज तथा सबै मानिसमाथि विश्वास नगरोस् । यस हिसाबले यस्ता ठगीबाट बच्न आफ्नो सोचमै परिवर्तन ल्याउनु पर्ने जरुरी बनिसकेको छ । भारतको मध्य प्रदेशमा भएको एक अचम्मको घटना बाहिरिएको छ ।

जहाँ एक व्यक्तिलाई कल गरेर उक्त व्यक्तिमाथि रकम ठगी गरिएको थियो । फोन गर्ने व्यक्तिले फोन उठाउने व्यक्तिलाई उसको किशोर छोराले बलात्कार गरेको र त्यसलाई सामसुम पार्नका लागि ८० हजार रुपैयाँ दिनु पर्ने भनेको थियो । फोन गर्ने व्यक्तिले ती बुबालाई उनको छोराको रुँदै गरेको आवाज समेत सुनायो ।

त्यसपछि बुबाले तुरुन्तै ८० हजार रुपैयाँ ट्रान्सफर गरिदिए । तर पछि थाहा भयो कि उनका छोरा ठिक हालतमा थिए र त्यो एक फर्जी कल थियो ।

यो मामिला ठगीका त्यस्ता मामिलासँग मेल खान्छ, जसमा ठगी गर्नेले कुनै व्यक्तिको आवाज बनाएर उसका साथीलाई फोन गरेर आफू एक अनजान देशमा फसेको र तुरुन्तै पैसा चाहिएको भन्छ । यस प्रकारको ठगी अशिक्षितका साथै शिक्षित व्यक्तिहरूमाथि समेत भइरहेको छ ।

 

कत्तिको सहज छ एआईबाट आवाज बनाउन ?

यस्ता ठगीका मामिलाबाट बच्न फोन उठाउने वा मेसेज पाउने व्यक्तिले त्यस्ता मेसेज तथा कलमाथि आँखा चिम्लिएर विश्वास गर्नु हुँदैन । इन्टरनेटमा यस्ता कयौं टुलहरू उपलब्ध छन्, जसले कसैको आवाजको नमुना लिएर उसको आवाज र बोल्ने ढङ्गका साथै डिपफेक भिडिओ समेत बनाउन सकिन्छ ।

जसलाई ट्रेस गर्न सकिंदैन । तपाईंले यी टुल प्रयोग गर्नु भयो भने आफैं छक्क पर्नु हुनेछ । तपाईंलाई कसैले कल गरेर सजिलै त्यसलाई रेकर्ड गर्न सक्छ । जसबाट साइबर अपराधीका लागि तपाईंको आवाजमा अरू कसैलाई कल गर्न पर्याप्त डेटा उपलब्ध हुन्छ ।

केही एल्गोरिदमलाई सिड डेटाको आवश्यकता हुन्छ । कसैले तपाईंलाई भिडिओ वा साधारण कल गरेर त्यस्तो सिड डेटा प्राप्त गर्न सक्छ । यो निकै सजिलो छ ।

कसैले पनि एक अपरिचित व्यक्तिबाट आएको कलमा कुराकानी गर्न सक्छ । त्यस कुराकानीका क्रममा ठगी गर्नका लागि उसको आवाज रेकर्ड गर्न सकिन्छ । यस्ता धेरैजसो धोखेबाजका लागि सामाजिक सञ्जाल एक खानी जस्तै हो, जहाँबाट उनीहरूले आवाजका साथै भिडिओ र फोटो कपी गर्न सक्छन् ।

यस्तो लाग्छ कि उनीहरूको ध्यान बालबालिकाको सामाजिक सञ्जाल अकाउन्टमा रहेको छ, जहाँबाट उनीहरूले धेरैभन्दा धेरै जानकारी हात पार्न सक्छन् । अहिलेको समयमा डिप फेक बनाउने प्रविधि सजिलै उपलब्ध हुन्छ । तर त्यसको सामना गर्ने प्रविधि भने छैन ।

 

फ्रड कल तथा मेसेजबाट कसरी जोगिने ?

  • फोनमा ट्रु कलर जस्ता कल भेरिफिकेसन एप इन्स्टल गर्नुहोस् । 

  • यदि त्यसो गर्न चाहनु हुन्न भने अपरिचित नम्बरबाट आउने कल नउठाउनु होस् । बरु त्यस्ता व्यक्तिलाई टेक्स्ट मेसेज वा ह्वाट्सएपका लागि आग्रह गर्नुहोस् । 

  • कमन सेन्स प्रयोग गर्नुहोस् । कुनै पनि अज्ञात नम्बरबाट आएको फोनमाथि पटक्कै भरोसा नगर्नुहोस् । 

  • आफ्नो फोनमा एन्टिभाइरस एप राख्नुहोस् ।

  • फेक लिङ्क, भिडिओ वा टेक्स्ट नखोल्नुहोस् । किन कि भिडिओको माध्यमबाट समेत मालवेयर राख्न सकिन्छ । सामाजिक सञ्जालमा आफ्नो र आफ्ना बालबालिकाको तस्विर शेयर गर्दा सावधानी अपनाउनु होस् । 

 

पछिल्लो अध्यावधिक: चैत १२, २०८० १४:१