काठमाडौं । नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (एनसीआईटी)का विद्यार्थीले आफ्नै प्रोग्रामिङ ल्याङ्ग्वेज बनाएका छन् । कलेज परियोजनाका लागि विद्यार्थीहरूले ‘स्ट्याब’ (stab) नामक नयाँ प्रोग्रामिङ ल्याङ्ग्वेज बनाएका हुन् ।
सामान्य तरिकाले बुझ्दा प्रोग्रामिङ ल्याङ्ग्वेज भनेको मसिनसँग कुराकानी गर्ने एउटा माध्यम हो । यसबाट कम्प्युटरजस्ता मसिनलाई विभिन्न प्रकारका निर्देशन दिन सकिन्छ । सोही प्रकारको प्रोग्रामिङ ल्याङ्ग्वेज स्ट्याब बनाउनेमा एनसीआईटीमा ब्याचलर अफ कम्प्युटर इन्जिनियरिङ अन्तिम सेमेस्टरमा अध्ययनरत आसन भट्टराई, अभिलेख गौतम, अङ्कित लामिछाने र विशाल लामिछाने रहेका छन् ।
यसलाई उनीहरूले मिनिमलिस्टिक प्रोग्रामिङ ल्याङ्ग्वेज भनेर चिनाएका छन् । स्ट्याबले विद्यार्थीहरूलाई विभिन्न परियोजनामार्फत प्रोग्रामिङ ल्याङ्ग्वेज लागु गर्न तथा ल्याङ्ग्वेज डिजाइन सिक्न सहयोग गर्ने बताइएको छ ।
विशेषगरी नेपाली विश्वविद्यालयहरूमा हुने सैद्धान्तिक तथा प्रयोगात्मक शिक्षाबीचको अन्तर कम गर्न यो ल्याङ्ग्वेजले भूमिका खेल्ने उनीहरूको विश्वास छ । कम्पाइलर कसरी बनाउन सकिन्छ भनेर थाहा दिन यो ल्याङ्ग्वेज बनाएको टिम लिडर अभिलेख गौतम बताउँछन् । उनका अनुसार प्रोग्रामिङ ल्याङ्ग्वेज इम्प्लिमेन्टेसन अथवा कम्पाइलर विषय भएका कम्प्युटर सम्बन्धी जुनसुकै कोर्समा स्ट्याब प्रयोग गर्न सकिन्छ ।
“सेमेस्टर छ महिनाको हुन्छ । तर पढाइ हुने समय दुई/तीन महिनाभन्दा कम हुन्छ । त्यति कम समयमा प्रोग्रामिङ ल्याङ्ग्वेज तथा कम्पाइलरबारे जानकारी दिन स्ट्याब महत्त्वपूर्ण हुन्छ,” उनी भन्छन् ।
यस प्रकारको प्रोग्रामिङ ल्याङ्ग्वेज बनाउने प्रेरणा स्ट्यान्डफोर्ड विश्वविद्यालयबाट पाएको विद्यार्थीहरू सुनाउँछन् । अहिले स्ट्यान्डफोर्ड विश्वविद्यालयले 'कुल' (cool) नामक प्रोग्रामिङ ल्याङ्ग्वेज प्रयोग गर्ने गर्छ । जुन कम्पाइलरका कोर्स प्रोजेक्टमा प्रयोग गर्न विश्वविद्यालय आफैंले बनाएको हो ।
त्यसरी नै आफूहरूले पनि नेपाली विश्वविद्यालयहरूका लागि स्ट्याब बनाएको टिम मेम्बर आसन भट्टराई सुनाउँछन् । यो ल्याङ्ग्वेज बनाउन फ्लेक्स, बिसन र लो लेभल भर्चुअल मसिन (एलएलभीएम) जस्ता टुल प्रयोग गरिएको उनी बताउँछन् ।
अन्य धेरै प्रोग्रामिङ ल्याङ्ग्वेजमा भएका फिचरहरू यसमा पनि उपलब्ध भएको उनको भनाइ छ । जसमा इन्टिजर टाइप्स, लुप कन्स्ट्रक्सन, इफ-एल्स स्टेटमेन्ट्स, एरे लगायत छन् । उनका अनुसार स्ट्याबमा अब्जेक्ट ओरियन्टेड (ओओपी) फिचर पनि उपलब्ध छ । अब क्रमशः अन्य फिचर थप्ने योजना रहेको उनी सुनाउँछन् ।
स्ट्याबलाई कलेज तथा विश्वविद्यालयहरूमा प्रयोग गर्न विशुद्ध शैक्षिक टुलका रूपमा विकास गरिएको अभिलेख बताउँछन् । स्ट्याबले अहिलेका प्रोग्रामिङ ल्याङ्ग्वेजहरूलाई विस्थापन गर्ने नभइ ल्याङ्ग्वेज डिजाइन गर्न सिकाउने उनको भनाइ छ ।
“अहिलेका चर्चित ल्याङ्ग्वेजहरूको कम्पाइलर धेरै विकसित भएकाले सिकारू विद्यार्थीका लागि निकै जटिल हुन्छ,” उनी भन्छन्, “तर स्ट्याब जस्तो आवश्यक फिचर भएको, तर सानो प्रोग्रामिङ ल्याङ्ग्वेजले उनीहरूलाई बुझ्न सजिलो बनाउँछ ।”
अब स्ट्याबलाई आफ्नै कलेजमा लागु गर्ने उनीहरूको सोच छ । तर, यसका लागि करिब डेढ वर्ष कुर्नुपर्ने छ । “विश्वविद्यालयले पाठ्यक्रम परिमार्जन गर्दै सातौं सेमेस्टरमा कम्प्लाइर डिजाइन विषय राखेको छ । अहिले सातौं सेमेस्टरमा जाने ब्याच भर्खर चौथो सेमेस्टरमा छन्,” उनी भन्छन् ।
यसकारण सो समयसम्ममा स्ट्याबमा थप फिचरहरू राख्ने उनीहरूको योजना रहेको छ । यसका लागि स्ट्याबलाई गिटहब समेत राखिएको छ, जसकारण यस्ता प्रोजेक्टमा रुचि भएकाहरूले स्ट्याबमा थप काम गर्नसक्ने तथा विभिन्न सल्लाह सुझाव दिन सक्नेछन् ।