काठमाडौं । पब्जी प्रतियोगिता ‘पब्जी मोबाइल सुपर लिग (पीएमएसएल) सेन्ट्रल एण्ड साउथ एसिया फल २०२४’ सुरु भएको छ । आजदेखि १४ सेप्टेम्बरसम्म हुने प्रतियोगितामा नेपालबाट होरा ई-स्पोर्ट्स र डीआरएस गेमिङ टिमले प्रतिस्पर्धा गर्दैछन् ।
साउथ एसिया क्षेत्रबाट नेपालका यी दुई टिमसहित बङ्गलादेशका दुई र पाकिस्तानबाट चार टिम सहभागी छन् भने सेन्ट्रल एसियाबाट १२ टिम गरी कूल २० टिमले भाग लिँदैछन् ।
८ सेप्टेम्बरसम्म लिग चरणको खेल हुनेछ भने १२ देखि १४ सेप्टेम्बरसम्म फाइनल चरणका खेल हुनेछन् ।
लिग चरण तीन हप्ता लामो हुनेछ, जहाँ २० टिमलाई पाँच समूहमा बाँडेर हरेक हप्ता खेलाइनेछ । हरेक हप्ताको प्रदर्शनको आधारमा टिमहरूलाई बोनस पोइन्ट दिइनेछ र समूहहरू पनि त्यही अनुसार फेरबदल गरिनेछ ।
तीन हप्ताको खेलपछि अङ्क तालिकाको शीर्ष १६ टिमले फाइनलमा स्थान सुरक्षित गर्नेछन् भने पछाडि रहेका चार टिम प्रतियोगिताबाट बाहिरिनेछन् ।
फाइनलमा पुग्ने टिमले आफ्नो बोनस पोइन्टको आधा अंकबाट यात्रा सुरु गर्नेछन् । फाइनलमा कूल १८ खेल हुनेछ, जसमा हरेक दिन ६ खेल खेलाइनेछ । शीर्ष चार टिमले ‘पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप २०२४’ मा स्थान सुरक्षित गर्नेछन् ।
यो प्रतियोगिताको कूल पुरस्कार राशि दुई लाख अमेरिकी डलर (करिब दुई करोड ६७ लाख रुपैयाँ) रहेको छ । यसअन्तर्गत फाइनल विजेताले २६ हजार डलर (करिब ३७ लाख ३८ हजार रुपैयाँ) पुरस्कार प्राप्त गर्नेछ ।
लिग चरणको हरेक हप्ताको विजेताले सात हजार डलर (करिब नौ लाख ३५ हजार रुपैयाँ) पुरस्कार पाउनेछ । त्यस्तै, चिकेन डिनर जित्ने टिमलाई पनि २०० डलर (करिब २६ हजार सात सय रुपैयाँ) पुरस्कार दिइनेछ ।
नेपाली समय अनुसार दिउँसो ४:४५ बजेदेखि पब्जी मोबाइल ई-स्पोर्ट्स साउथ एसियाको युट्युब च्यानल तथा फेसबुक पेजबाट खेलको प्रत्यक्ष प्रसारण हेर्न सकिनेछ ।