काठमाडौं । विश्व धनाढ्य उद्यमी एलन मस्कले मङ्गल ग्रहमा अबको दुई वर्षभित्र पहिलो रकेट प्रक्षेपण गर्ने घोषणा गरेका छन् । शनिबार सामाजिक सञ्जाल एक्समा एक पोस्ट राख्दै उनले स्पेसएक्सको स्टारशिपलाई दुई वर्षभित्र मङ्गल ग्रहका लागि प्रक्षेपण गरिने बताएका हुन् ।
“अर्को पृथ्वी-मङ्गल ग्रह स्थानान्तरणको अवसर खुल्नासाथ पहिलो स्टारशिप अबको दुई वर्षमा मङ्गल ग्रहतर्फ प्रक्षेपण गरिनेछ,” मस्कले भनेका छन्, “यो मिसन मानव रहित हुनेछ र यो मङ्गल ग्रहमा सुरक्षित अवतरण गर्न सक्ने गरी परीक्षण गर्ने उद्देश्यले प्रक्षेपण हुनेछ ।”
यो मानव रहित प्रक्षेपण सफल भएपछि अबको चार वर्षभित्र मानव सहितको यान मङ्गलग्रहमा प्रक्षेपण गरिने उनले उल्लेख गरेका छन् । सन् २००२ मा स्पेसएक्सको स्थापना गरेका मस्कले यी दुई प्रक्षेपण सफल भएपछि फ्लाइटको दर अप्रत्याशित रूपमा बढ्ने अपेक्षा गरेका छन् । यस परियोजनाको अन्तिम लक्ष्य अबको २० वर्षमा मङ्गल ग्रहमा सहर निर्माण गर्ने रहेको उनको भनाई छ ।
The first Starships to Mars will launch in 2 years when the next Earth-Mars transfer window opens.
These will be uncrewed to test the reliability of landing intact on Mars. If those landings go well, then the first crewed flights to Mars will be in 4 years.
यसअघि मस्कले अप्रिल २०२४ मा स्पेसएक्सले पूर्ण रूपमा पुनः प्रयोग गर्न सकिने रकेट स्टेज निर्माण गरेको उल्लेख गरेका थिए । सो पोस्टमा उनले अबको पाँच वर्षमा स्पेसएक्सको अन्तरिक्ष यान स्टारशिप मङ्गल ग्रहमा हुने उल्लेख गरेका थिए । त्यति बेला मस्कले उक्त यान मानव रहित हुने वा मानवसहितको हुने भन्ने स्पष्ट खुलाएका थिएनन् ।
मङ्गल ग्रहमा मानव बस्ती बसाउने मस्कको सङ्कल्प आजको होइन । अर्ब पति मस्कले पटक पटक मिति घोषणा गरेका छन् । र, पछि ती मिति परिवर्तन गरेका छन् ।
जुन २०१६ मा मस्कले एक सम्मलेनमा बोल्दै २०२४ भित्र मानिसहरूलाई मङ्गल ग्रहमा पुर्याउने योजना रहेको बताएका थिए । “यदि सबै कुरा योजना अनुसार भयो भने हामी सायद २०२४ मा मानिसहरूलाई मङ्गल ग्रहमा लैजान सक्षम हुने छौं र उनीहरू २०२५ मा मङ्गलमा पुग्नेछन्,” मस्कले त्यस बेला भनेका थिए ।
त्यसपछि सन् २०२० मस्कले एक्सेल स्प्रिङ्गरका सीईओ माथियास डोफ्नरसँगको एक अन्तर्वार्तामा २०२६ सम्ममा मानिसहरू मङ्गल ग्रहमा पुग्न सक्ने उल्लेख गरेका थिए ।
“यदि भाग्य राम्रो भयो भने, सम्भवतः चार वर्षमा पुग्न सक्छौं,” मस्कले डोफ्नरसँगको कुराकानीमा उनले भनेका थिए । तर मार्च २०२२ मा, मस्कले सन् २०२९ मा मानिसहरूलाई मङ्गलमा अवतरण गर्ने अपेक्षा गरिरहेको बताएका थिए ।