काठमाडौं । ४०० अर्ब डलरभन्दा बढी सम्पत्ति कमाउने पहिलो व्यक्ति बनेका एलन मस्क प्रायः आफ्नै सामाजिक सञ्जाल एक्स (ट्वीटर) मा अनेकौं पोस्ट गरिरहेका हुन्छन् । तीमध्ये केही पोस्ट चर्चाको विषय बन्ने गर्छन्, केहीले ठूलो प्रभाव पार्छन् भने केहीले खासै प्रभाव पार्दैनन् ।
सन् २०२० मा मस्कले गरेको एउटा ट्वीटले उनको कम्पनी टेस्लालाई नसोचेको क्षति पुर्याएको थियो । १३ अर्ब डलर (तत्कालीन समयमा १४ खर्ब ८२ अर्ब रुपैयाँ बढी) बजार मूल्य गुमाएको घटना आज पनि चर्चित छ । १ मे २०२० मा उनले ट्वीट गरेका थिए, “Tesla stock price too high imo” अर्थात् “मेरो विचारमा टेस्लाको शेयर मूल्य धेरै उच्च छ ।”
उनको यो साधारण भनाइले लगानीकर्ताहरूमा ठूलो नकारात्मक प्रभाव पार्यो । टेस्लाका सीईओको बयानलाई लगानीकर्ताहरूले कम्पनीको भविष्यबारे अस्थिर संकेतका रूपमा लिएका थिए । धेरै लगानीकर्ताहरूले आत्तिएर आफ्नो शेयर बेच्न थाले । शेयरको ठूलो परिमाणमा बिक्री हुँदा बजार मूल्यमा भारी गिरावट आयो ।
त्यसबेला मस्कका अन्य ट्वीटहरू पनि विवादित बनेका थिए । उनले आफ्नो सम्पत्ति बेच्ने योजना र प्रेमिकासँगको सम्बन्ध बिग्रिएको जानकारीसमेत ट्वीटमार्फत दिएका थिए । यस्ता अभिव्यक्तिले लगानीकर्ताहरूमा अन्योलता थप्यो ।
I am selling almost all physical possessions. Will own no house.
यो घटना पहिलो भने थिएन । सन् २०१८ मा मस्कले टेस्लालाई निजीकरण गर्न आवश्यक लगानी जुटाइसकेको भन्दै ट्वीट गरेका थिए । तर अमेरिकी नियामक निकायले उक्त ट्वीटलाई बजारलाई प्रभावित गर्ने अभिव्यक्ति मानेर २० करोड डलर जरिबाना तिराएको थियो ।
मस्कका ट्वीटहरू प्रायः विवादास्पद हुने गरेका छन् । यद्यपि, उनका अभिव्यक्तिले कम्पनीलाई तत्कालीन प्रभाव परे पनि टेस्लाले ती घटनालाई पछाडि पार्दै आजको सफलतासम्मको यात्रा तय गरिसकेको छ ।