close

यसरी सजिलैसँग बुझ्नुहोस् ब्लुटुथ प्रविधि र यसले काम गर्ने तरिका

गणेश सुवेदी गणेश सुवेदी

माघ ८, २०८१ १४:३८

यसरी सजिलैसँग बुझ्नुहोस् ब्लुटुथ प्रविधि र यसले काम गर्ने तरिका

काठमाडौं । आजकल इयरबड्स र एयरपड्स जस्ता वायरलेस उपकरण एकदमै सामान्य भइसकेका छन् । तार भएका इयरफोन वा हेडफोनको प्रयोग निकै कम हुँदै गइरहेको छ । वायरलेस उत्पादनको माग धेरै छ ।

वायरलेस किबोर्ड, माउस पनि उत्तिकै प्रयोगमा छन् । वायरलेस स्पिकर पक्कै पनि प्रयोग गर्नु भएकै होला । तर, तार नजोडिकन एउटा उपकरण अर्को उपकरणसँग कसरी जोडिन्छ ? हो, यसमा ब्लुटुथको भूमिका महत्त्वपूर्ण हुन्छ । तर यो ब्लुटुथ कसरी चल्छ ? यसले कसरी काम गर्छ ? यसको पछाडि कस्तो प्रविधि हुन्छ ?  आज हामी यहाँ यिनै विषयमा चर्चा गर्दैछौँ ।

सबैभन्दा पहिला यसको नामबाट सुरु गरौँ । ब्लुटुथ नयाँ शब्द जस्तो लागे पनि यो धेरै पुरानो शब्द हो । यो इतिहाससँग पनि जोडिएको छ । वास्तवमा ब्लुटुथ एक व्यक्तिको नाम हो । १० औँ शताब्दी तिर डेनमार्कमा एक राजा थिए, जसको नाम हेराल्ड ब्लुटुथ थियो । नेपालका पृथ्वीनारायण शाह जस्तै हेराल्ड धेरै राज्यलाई आपसमा जोड्ने राजाको रूपमा चिनिन्छन् । 

उनले डेनमार्क, नर्वे र स्विडेनलाई आपसमा मिलाएर स्क्यानडिनेभिया राज्य बनाएका थिए । जसरी ब्लुटुथले विद्युतीय उपकरणलाई आपसमा जोड्ने काम गर्छ, त्यसरी नै राजा हेराल्ड ब्लुटुथले राज्यहरूलाई जोड्ने काम गरेका थिए । यही कुरालाई स्मरण गर्दै ब्लुटुथ प्रविधि विकास गर्ने टोलीका एक सदस्य इन्टेलका प्रतिनिधि जिम कार्डियाकले यस प्रविधिलाई ब्लुटुथ नाम दिए ।

नामको इतिहासपछि अब प्रविधितिर लागौँ । ब्लुटुथले रेडियो तरङ्गमा काम गर्छ । जसरी वाइफाई २.४ गिगाहर्ज र ५.२ गिगाहर्जमा काम गर्छ, त्यसरी नै ब्लुटुथले २.४ गिगाहर्ज फ्रिक्वेन्सी प्रयोग गर्छ । यो विश्वव्यापी नि:शुल्क रूपमा उपलब्ध फ्रिक्वेन्सी हो । कहिलेकाहीँ वाईफाई र ब्लुटुथ डिभाइस एउटै मोबाइलबाट जोड्दा इन्टरनेट ढिलो चल्ने वा ब्लुटुथको सम्पर्क विच्छेद हुने समस्या भोग्नु भएको छ भने त्यो दुवै डिभाइसको फ्रिक्वेन्सी जुधेर भएको हुन सक्छ । 

यस्तो समस्या २.४ गिगाहर्जको वाईफाई प्रयोग गर्दा हुन सक्छ । तर, यसलाई हटाउने गरी ब्लुटुथ प्रविधिमा कामहरू भइरहेका छन् । यसको बारेमा पनि एकै छिनमा कुरा गरौँला ।

ब्लुटुथ डिभाइसको सामान्य दायरा भनेको १० मिटर हो । तर, ब्लुटुथ प्रविधि विकसित भएसँगै आजभोलि यसले २४० मिटरसम्मको दुरीमा पनि काम गर्न सक्छ । तपाईँलाई लाग्छ होला, यो सुरक्षित छ त ? अवश्य पनि, ब्लुटुथले सुरक्षाका लागि फ्रिक्वेन्सी हपिङ स्प्रेड स्पेक्ट्रम प्रविधि प्रयोग गर्छ । यो विधिले डेटा ट्रान्सफर गर्दा एउटै फ्रिक्वेन्सीमा नभएर अलग-अलग फ्रिक्वेन्सी प्रयोग हुन्छ । यदि तपाईँले ब्लुटुथ डिभाइस जोडेर फोनमा कुराकानी गर्दै हुनुहुन्छ भने, एक सेकेन्डमा १,६०० पटकसम्म फरक-फरक च्यानलबाट डेटा ट्रान्सफर हुन सक्छ । 

यसरी ब्लुटुथले च्यानल छान्दा कम अवरोध भएको च्यानल छान्ने गर्छ, जसले गर्दा कुराकानी गर्दा वा डेटा ट्रान्सफर गर्दा डेटा हराउने सम्भावना एकदमै कम हुन्छ । यस कारण बीचमा बसेर कसैले डेटा चोर्न पनि सक्दैन । सुरक्षासँगै अन्य कुराहरू ब्लुटुथको संस्करणसँगै बलियो र राम्रो हुँदै आएका छन् । अहिले ब्लुटुथ संस्करण ५ प्रचलनमा छ । ब्लुटुथ संस्करण ४ मा भन्दा ५ मा डेटा ट्रान्सफर दर र दायरा दुवैमा सुधार भएको छ । 

ब्लुटुथ संस्करण ४ को डेटा ट्रान्सफर दर १ एमबीपीएस र दायरा ५० मिटर थियो भने ब्लुटुथ संस्करण ५ सम्म आइपुग्दा यो बढेर ट्रान्सफर दर २ एमबीपीएस र दायरा २४० मिटरसम्म पुगेको छ । साथै एउटा ब्लुटुथमा दुई ओटा डिभाइस जोड्न सकिने सुविधा पनि यही ५ औँ संस्करणमा थपिएको हो । सुरक्षाका लागि इन्क्रिप्सनमा पनि काम भएको छ । संस्करण ४ मा एईएस इन्क्रिप्सन प्रयोग गरिएको थियो भने ५ मा एईएस-सीसीएम प्रयोग गरिएको छ । 

इन्क्रिप्सन भनेको त्यस्तो प्रक्रिया हो, जसमा तपाईँको डेटालाई अर्को डिभाइसमा पठाउँदा जस्ताको त्यस्तै नपठाई कुनै एल्गोरिदम वा 'कि' प्रयोग गरेर पढ्न नसक्ने बनाइन्छ, र डेटा प्राप्त गर्नेले पनि सोही एल्गोरिदम वा 'की' प्रयोग गरेर मात्र सो डेटा पढ्न सक्छ । ब्लुटुथ ४ मा डेटालाई इन्क्रिप्ट मात्र गरिन्थ्यो भने ५ मा इन्क्रिप्टसँगै डेटासँग कसैले छेडछाड नगरेको पनि सुनिश्चित गरिन्छ ।

उदाहरणको लागि, डेटा पठाउने बेलामा सीबीसी-म्याकले प्रत्येक डेटा ब्लकको 'ह्यास' जस्तो मान निकाल्छ र एउटा प्रमाणीकरण ट्याग (म्याक ट्याग) बनाउँछ । जब अर्को डिभाइसले डेटा पाउँछ, त्यहाँ पनि सीबीसी-म्याक प्रयोग गरेर नयाँ ट्यागसँग पठाइएको ट्याग तुलना गरिन्छ । यदि नयाँ ट्याग र पठाइएको ट्याग उस्तै भए डेटासँग छेडछाड नभएको पुष्टि हुन्छ र डिभाइसले प्राप्त गर्छ । यदि ट्याग फरक भए डेटा परिवर्तन गरिएको पुष्टि हुन्छ । त्यो अस्वीकृत पनि हुन सक्छ वा फेरि पठाउनको लागि अनुरोध जान पनि सक्छ ।

अहिले ब्लुटुथ संस्करण ५.४ आइसकेको छ । यसमा पनि विभिन्न सुधारहरू भइरहेका छन् । केही समयअघि मात्र सार्वजनिक भएको ब्लुटुथ संस्करण ६ मा अझै धेरै सुधार देख्न सकिन्छ । यसमा दुई ब्लुटुथ उपकरणबिचको दूरी पत्ता लगाउनको लागि ब्लुटुथ च्यानल साउन्डिङ थप गरिएको छ । 

त्यसका लागि यसमा फेज बेस्ड रेन्जिङ (पीबीआर) र राउन्ड ट्रिप टाइमिङ (आरटीटी) प्रयोग गरिएको छ । फेज बेस्ड रेन्जिङ (पीबीआर) मा एउटा डिभाइसले निश्चित ढाँचामा रेडियो सङ्केत पठाउँछ, जसलाई फेज भनिन्छ, र जब अर्को डिभाइसले त्यो सङ्केत प्राप्त गर्छ र त्यसले वास्तविक फेजसँग पाएको फेज तुलना गर्छ । 

जसको आधारमा सङ्केत यात्रा गर्दा कति फेज सर्‍यो भन्ने हिसाबले दूरी गणना हुन्छ । राउन्ड ट्रिप टाइमिङ (आरटीटी) मा पनि एउटा डिभाइसले सङ्केत पठाउँछ र अर्कोले प्राप्त गरेपछि तुरुन्तै फर्काउँछ । यसरी पठाउन र फर्काउन लागेको समयको आधारमा दूरी मापन गरिन्छ । यसले गर्दा संस्करण ५ मा भन्दा पछिल्लो संस्करणको ब्लुटुथले अझै यकिन रूपमा दुई डिभाइसबीचको दूरी पत्ता लगाउँछ र स्मार्ट होम अटोमेसन, 'किलेस कार इन्ट्री सिस्टम' जस्ता कुरा अझै प्रभावकारी हुन्छन् । 

यसबाहेक डिसिजन बेस्ड एडभर्टाइजिङ फिल्टरिङ (डीबीएएफ) पनि ब्लुटुथ संस्करण ६ मा समावेश गरिएको छ । यसको मतलब यसले अनावश्यक सङ्केतलाई फिल्टर गरेर छिटो जडान गर्छ र ब्याट्रीको आयु पनि बढाउँछ । अडियो गुणस्तरसँगै ‘लेटन्सी’ मा सुधार गर्नको लागि आइसोक्रोनस एडप्टेसन लेयर (आईएसओएएल) प्रयोग गरिएको छ । 

 

एक्सटेन्डेड लिङ्क लेयरले गर्दा ब्लुटुथ ६ स्मार्ट लक लगायतका सुरक्षा प्रणाली अझै छिटो र प्रभावकारी हुने निश्चित छ । अब ब्लुटुथले कुन डिभाइस इयरफोन हो, कुन किबोर्ड, कुन माउस हो भनेर कसरी छुट्याउँछ होला त ? यसको लागि ब्लुटुथ प्रोफाइलको प्रयोग हुन्छ, जसमा पहिले नै परिभाषित गरिन्छ कि कुन उपकरण के हो र यसले कसरी काम गर्छ भनेर । 

उदाहरणका लागि एड्भान्स्ड अडियो डिस्ट्रिब्युसन प्रोफाइल (ए-2डीपी) ले गर्दा हामी गीत सुन्न वा कुराकानी गर्न सक्छौँ । त्यसैगरी, ह्युमन इन्टरफेस डिभाइस प्रोफाइलले गर्दा हामी ब्लुटुथ किबोर्ड, माउस, गेम कन्ट्रोलर चलाउने वा ब्लुटुथ डिभाइसबाट अन्तरक्रिया गर्न सक्छौँ । हरेक प्रोफाइलको आ-आफ्नै काम हुन्छ ।

सबैभन्दा पहिले हामीलाई अलिकति झन्झटिलो लाग्ने काम भनेको ब्लुटुथ डिभाइस ‘पेयर’ गर्नु हो । यो प्रक्रियामा एउटा डिभाइसले ब्लुटुथ सङ्केत प्रसारण गर्छ र अर्कोले प्रतिक्रिया दिन्छ । जसमा गुप्तिकरण गरिएको ‘युनिक कि’ को सहायताले ‘पेयरिङ’ हुन्छ । त्यसपछि मात्र दुई डिभाइसबीच सञ्चार हुन्छ । अर्थात्, हामीले ती डिभाइस प्रयोग गर्न सक्छौँ ।

अहिले त एउटै ब्लुटुथ डिभाइसमा धेरै डिभाइस जोडेर काम गर्न पनि सकिन्छ । ब्लुटुथ मेस, जसलाई अहिले घर वा उद्योगको स्वचालनमा पनि प्रयोग गर्न थालिएको छ । ब्लुटुथ मेसमा धेरै डिभाइसहरू माकुराको जालो जस्तै एकअर्कासँग गाँसिएका हुन्छन् र आपसमा सञ्चार गर्छन् । यसरी सञ्चार गर्दा एउटै डिभाइसबाट घरको पुरै बत्ती नियन्त्रण गर्न पनि सकिन्छ । 

यसबाट मसिनहरूलाई नियन्त्रण गर्न पनि सजिलो हुनेछ । भविष्यमा आर्टिफिसियल इन्टेलिजेन्स, मसिन लर्निङमा अझै धेरै काम हुँदा ब्लुटुथ उपकरणको दायरा पनि बढ्ने पक्का छ ।

 

पछिल्लो अध्यावधिक: माघ ८, २०८१ १८:१३