close

९५% भन्दा बढी विद्यार्थी फेल भएपछि सीटीईभीटीको सिस्टममाथि नै प्रश्न, रिटोटलिङ नभई रिचेकको माग‍

रञ्जिता उप्रेती रञ्जिता उप्रेती

साउन २५, २०८२ १९:२७

९५% भन्दा बढी विद्यार्थी फेल भएपछि सीटीईभीटीको सिस्टममाथि नै प्रश्न, रिटोटलिङ नभई रिचेकको माग‍

 

काठमाडौँ । सीटीईभीटी अन्तर्गत डिप्लोमा तहमा इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स छैटौँ सेमेस्टमा अध्ययनरत छन्, रुपन्देहीका आषिश अधिकारी (नाम परिवर्तन ) । कोरिया नेपाल पोलिटेक्निक इन्स्टिच्युटमा अध्ययनरत उनको बुधबार पाँचौँ सेमेस्टरको नतिजा सार्वजनिक भयो । 

नतिजा हेर्दा आफूले सोच्दै नसोचेको  परिणाम आएको देखेर उनी छक्क परे । नतिजाअनुसार पावर इलेक्ट्रोनिक्सको थ्यौरीमा उनी फेल भएका छन् ।  उनी भन्छन्, “मेरो चार ओटै सेमेस्टरमा ७०% भन्दा बढी नम्बर आएको आको छ । एकै पटकमा सबै सेमेस्टर कटाएको थिएँ । यो पटक पनि मैले परीक्षामा राम्रै लेखेको थिएँ ।” 

आफूले परीक्षामा राम्रो लेखेको भन्दै उनी आफ्नो नतिजालाई लिएर सन्तुष्ट छैनन् । उनी भन्छन्, “अरू सेमेस्टरमा भएको भए एक्जाम दिउँला भन्ने हुन्थ्यो । तर पाँचौँ सेमेस्टरमा राम्रो एक्जाम दिँदा दिँदै पनि फेल भएको रिजल्ट आयो । ब्याक एक्जाम दिँदा एक वर्ष नाश हुने भयो ।” परीक्षाको नतिजा नराम्रो आएको भन्दा पनि पुनः जाँच नहुने कारणले गर्दा एक वर्ष खेर जाने चिन्ताले सताएको उनी बताउँछन् । “मेरो मात्र होइन, साथीहरू धेरैको नतिजा बिग्रिएको छ ।  ”

कपिलवस्तुको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय औरहिया कपिलवस्तुबाट सिभिल इन्जिनियरिङमा १४ जना विद्यार्थी सहभागी भएका थिए । २१ साउनमा सीटीभीटीले सार्वजनिक भएको नतिजामा कोही पनि विद्यार्थी पास हुन सकेनन् । 

विद्यालयका एक विद्यार्थीले भने, “पढ्नकै लागि भनेर तीन जना साथीहरूसँग डेरा गरेर बसेको छु । ३० गतेदेखि छैटौँ सेमेस्टरको परीक्षा सुरु हुँदैछ । त्योभन्दा पहिला पाँचौँ सेमेस्टरको रिजल्ट आयो । नतिजा सोचेभन्दा खराब आएको छ । यसले गर्दा मानसिक रूपमा आगामी परीक्षाको तयारी समेत गर्न सकिरहेको छैन ।”

उनले भने, “एउटा विषय चाहिँ अलि बिग्रिएकै थियो । तर चार ओटा विषयमा पो फेल भएको रिजल्ट आयो ।” सँगै डेरा गरेर बसेका अन्य साथीहरूको त झन् ६ ओटासम्म विषयको नतिजा बिग्रिएको उनले सुनाए । 

मोरङको विराटनगरस्थित महानगर बहुप्राविधिक शिक्षालयका विद्यार्थीहरूले सीटीईभीटीको सुनसरी कार्यालयमा शुक्रबार ज्ञापनपत्र लेखेरै उत्तरपुस्तिका तत्काल पुन: जाँच गर्न माग गरेका छन् । उक्त शिक्षालयबाट परीक्षा दिएका २७ जना विद्यार्थी सबै अनुत्तीर्ण भएपछि उनीहरूले सङ्गठित रूपमै विरोध जनाएका हुन् । 

बुधबार सीटीईभीटीले इन्जिनियरिङका विभिन्न कार्यक्रमको नतिजा प्रकाशन गरेको थियो । त्यसमध्ये सिभिल इन्जिनियरिङमा नियमित परीक्षा दिने विद्यार्थीहरूमध्ये ७२% भन्दा बढी अनुत्तीर्ण भएका छन् । कोशी प्रदेशमा मात्रै कुल परीक्षार्थीमध्ये ९५ प्रतिशतभन्दा बढी विद्यार्थी अनुत्तीर्ण (फेल) भएका छन् । कोशी प्रदेशमा सिभिल इन्जिनियरिङ अध्यापन हुने ३२ मध्ये १७ शिक्षालयमा पास हुने विद्यार्थीको सङ्ख्या शून्य छ ।  

यस्तै, सीटीईभीटीमा इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स कार्यक्रम अन्तर्गतका ८३.५३% विद्यार्थी अनुत्तीर्ण छन् । पाँच वटा शैक्षिक संस्थानबाट ८५ जना विद्यार्थीले परीक्षा दिँदा १४ जना मात्रै उत्तीर्ण भएका हुन् । जसमध्ये मध्यमाञ्चल क्षेत्रीय इन्जिनियरिङ कलेजबाट आठ जना विद्यार्थी परीक्षामा सहभागी भएका मध्ये एक जना पनि पास भएनन् । 

सीटीईभीटीकै अर्को कार्यक्रम इलेक्ट्रिकल इन्जिनियरिङमा २३ मध्ये पाँच वटा संस्थानको नतिजा निल छ । इलेक्ट्रिकल इन्जिनियरिङ तर्फ ४९३ विद्यार्थी सहभागी भएकोमा १११ विद्यार्थी मात्र पास भएका छन् । अर्थात् ७७.४८% विद्यार्थी अनुत्तीर्ण । 

सीटीईभीटीमा अध्ययनरत विद्यार्थीले अनपेक्षित नतिजा आएको भन्दै चरम असन्तुष्टि व्यक्त गरिरहेका छन् । विद्यार्थीहरूले सीटीईभीटीको पाठ्यक्रम र शैक्षिक गुणस्तरमा समेत प्रश्न उठाएका छन् । कुनै पनि शुल्क बिना रिटोटलिङको सुविधा सीटीईभीटीले दिनु पर्ने सम्मको माग उनीहरूले राखेका छन् । 

२० जना विद्यार्थीहरूले परीक्षा दिँदा सबै विद्यार्थी अनुत्तीर्ण भएपछि कन्काइ पोलिटेक्निक इन्स्टिच्युट झापाका प्रिन्सिलप खगेन्द्र मिश्रले अनपेक्षित नतिजा आएको बताए । उनका अनुसार सबै सेमेस्टरमा पास भइरहेका विद्यार्थीहरू पनि उत्तीर्ण भएका छैनन् । “दुई चार जना फेल हुने त जताततै हुन्छ । तर अहिले आएको नतिजा भने अनपेक्षित नै हो,” उनले भने । 

परीक्षा लिएपछि सीटीईभीटीले उत्तरपुस्तिका जाँच गर्न विज्ञहरू खटाउनु पर्ने उनको भनाई छ । उनले भने “सीटीईभीटीले पनि प्रक्रिया पूरा गरेर प्रश्न पत्र जाँच गरेरै नतिजा सार्वजनिक गरेको हुनुपर्छ । यदि छानबिन गर्दा त्यस्तो नभएको पाइएमा सजायको भागेदार पनि हुनुपर्छ । "

केही वर्ष पहिला केमेस्ट्री विषयको नतिजामा पनि यस्तै समस्या आएको उनले सुनाए । “पास हुन २४ नम्बर ल्याउनु पर्नेमा फेल हुने अधिकांशको १८ नम्बर आएको थियो । प्रदेशभर नै यस्तो समस्या आए पनि सुनुवाइ भएन,” उनले भने । विभिन्न फोरमहरू मार्फत समस्या उठान गर्दा पनि समाधान नभएको र अन्तिममा विद्यार्थीहरूले ब्याकको परीक्षा नै दिनु परेको उनले बताए । 

इलामको रत्नकुमार बान्तावा पोलिटेक्निक इन्स्टिच्युटबाट ३८ जना सिभिल इन्जिनियरिङका विद्यार्थीले परीक्षा दिँदा त्यहाँ पनि कोही पास हुन सकेनन् । अनपेक्षित नतिजा आएपछि यसको कारण बुझ्न अनुरोध गर्दै परीक्षा नियन्त्रक कार्यालयमा मौखिक रूपमा जानकारी गराएको शिक्षालय प्रमुख होमनाथ अधिकारी बताउँछन् । 

उनी भन्छन्, “यही ब्याचका विद्यार्थीहरूले पहिलाका परीक्षामा राम्रै नतिजा ल्याएका थिए । प्रायः सबै विद्यार्थीहरूको सिङ्गल डिजिटमा नम्बर आएको छ । टपर विद्यार्थीहरूको नतिजा पनि खराब छ ।” परीक्षा जाँचमा नै केही समस्या भएको हुन सक्ने उनको आशङ्का छ । 

उत्तर पुस्तिका परीक्षण केन्द्रबाट प्रश्न पत्र परीक्षण हुने गरेको र नतिजाको विषय आफ्नो क्षेत्राधिकारभन्दा बाहिर रहेको सीटीईभीटी कोशी प्रदेशका निर्देशक उमेशप्रसाद खरेलले बताए । परीक्षण नियन्त्रण कार्यालयको क्षेत्राधिकारमा उक्त कुरा पर्ने उनले स्पष्ट पारे । उनले भने, “नतिजा अपेक्षित आएन भनेर शिक्षक र विद्यार्थीहरूले निवेदन दिइरहनु भएको छ । यो कुरा हामीले माथि केन्द्रसम्म पुर्‍याएर सहयोग गर्ने मात्र हो । हाम्रो क्षेत्राधिकारमा पर्दैन ।” 

केही दिन भित्रमा नतिजाका विषयमा केन्द्रबाट केही निर्णय हुने अपेक्षा गरिएको उनले सुनाए । ९५% भन्दा धेरै विद्यार्थी अनुत्तीर्ण भएको विषयले आफूलाई पनि चकित बनाएको बताउँदै उनले भने, “विशेष गरी सिभिल इन्जिनियरिङमा विद्यार्थीहरूको नतिजा निराशाजनक छ । कोशीमा मात्र होइन, लुम्बिनी प्रदेशको पनि अवस्था उस्तै छ ।”

यता विद्यार्थीहरूको नतिजा खराब आउनुको कारण आफूले दिन नसक्ने सीटीईभीटीका सह-परीक्षा नियन्त्रक तथा सूचना अधिकारी गोविन्दकुमार श्रेष्ठ बताउँछन् । परीक्षाको नतिजा चित्त नबुझेमा २१ दिन भित्र रिटोटलिङका लागि अनलाइनमार्फत भुक्तानी गरेर आवेदन दिन सकिने उनले बताए । तर उत्तरपुस्तिका पुन: परीक्षणको भने सुविधा सीटीईभीटीमा नरहेको उनले स्पष्ट पारे । 

पछिल्लो अध्यावधिक: साउन २५, २०८२ १९:२७