जलेका उत्तरपुस्तिकाको पुन: परीक्षाको विरोधमा सीटीईभीटीमा विद्यार्थीहरूको प्रदर्शन
कात्तिक १६, २०८२ १४:५१
काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले जेनजी आन्दोलनका क्रममा भएको आगजनीबाट जलेका उत्तरपुस्तिकाको पुन: परीक्षा लिने निर्णय गरेपछि विद्यार्थीहरू आन्दोलित भएका छन् । आइतबार सानोठिमीस्थित सीटीईभीटीको गेटअगाडि प्रदर्शन गर्दै विद्यार्थीहरूले जलेका उत्तरपुस्तिकाको जिम्मेवारी सीटीईभीटीले नै लिनुपर्ने र पुन: परीक्षा खारेज गर्नुपर्ने मुख्य माग राखेका छन् ।
पुन: परीक्षा लिनुको सट्टामा सीटीईभीटीले लिएको अन्तिम परीक्षाको नतिजा, प्रयोगात्मक र मौखिक परीक्षाका आधारमा वैकल्पिक मूल्याङ्कनको व्यवस्था गर्नुपर्ने विद्यार्थीहरूको अडान छ । यसैगरी, उत्तरपुस्तिका जल्नुमा जिम्मेवार कर्मचारीको छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग पनि उनीहरूले गरेका छन्।
प्रदर्शनकारी विद्यार्थीहरूले सीटीईभीटीका सबै तह र कार्यक्रमको परीक्षा सञ्चालन भएको तीन महिनाभित्र नतिजा प्रकाशन गर्नुपर्ने र नतिजामा असफल भएका विद्यार्थीहरूको एक महिनाभित्र पुन: परीक्षा सञ्चालन गर्नुपर्ने मागसमेत अघि सारेका छन् ।
गत भदौ २४ गतेको आगजनीबाट सीटीईभीटीका कोशी र बागमती प्रदेशका डिप्लोमा र प्रि-डिप्लोमा तहका १५ हजारभन्दा बढी उत्तरपुस्तिकाहरू नष्ट भएका थिए । २३ ओटा परीक्षा केन्द्रबाट परीक्षा लिएर प्रहरी कार्यालयमा सुरक्षाका लागि राखिएका ती उत्तरपुस्तिकाहरू जल्ने वा हराउने घटना भएको थियो ।
सीटीईभीटीले सोही कारण आगामी ४ मंसिरदेखि पुन: परीक्षा सञ्चालनको तयारी गरेको छ । यता विद्यार्थीहरू भने सीटीईभीटीको तयारीप्रति असन्तुष्ट जनाउँदै आफ्नो माग पूरा नभएसम्म निरन्तर आन्दोलन गर्ने अडानमा छन् ।
पछिल्लो अध्यावधिक: कात्तिक १६, २०८२ १४:५१
