काठमाडौँ । प्रविधि क्षेत्रका दुई ठुला चर्चित नाम एलन मस्क र साम अल्टम्यानबिचको प्रतिस्पर्धा अब मानव मस्तिष्कसम्म पुगेको छ । ओपनएआई र यसका सह-संस्थापक साम अल्टम्यानले मस्कको कम्पनी ‘न्युरालिङ्क’सँग प्रतिस्पर्धा गर्न मानव मस्तिष्कलाई कम्प्युटरसँग जोड्ने नयाँ कम्पनीलाई सहयोग गर्ने तयारी गरेका हुन् ।
‘मर्ज ल्याब्स’ नाम दिइएको यो नयाँ कम्पनीले ८५ करोड डलरको मूल्याङ्कनमा नयाँ लगानी जुटाउँदैछ । फाइनान्सियल टाइम्सको स्रोतका अनुसार यसमा अधिकांश लगानी ओपनएआईको भेन्चर टिमबाट आउनेछ । यस परियोजनामा लगानी गर्न अल्टम्यानले नै प्रोत्साहन गरेको बताइएको छ । अल्टम्यान कम्पनीको सह-संस्थापक हुने भए पनि यसको दैनिक काममा भने प्रत्यक्ष संलग्न हुने छैनन् ।
मर्ज ल्याब्समा ‘मर्ज’को अर्थ मानव र मेसिनको मिलन हो जुन सिलिकन भ्यालीमा निकै चर्चित अवधारणा हो । अल्टम्यानले सन् २०१७ मै यसबारे एक ब्लग लेख्दै यो क्षण सन् २०२५ सम्ममा आउन सक्ने अनुमान गरेका थिए । यस वर्ष उनले अर्को ब्लगमा प्रविधिको विकासका कारण चाँडै नै ‘उच्च गतिको ब्रेन-कम्प्युटर इन्टरफेस’ सम्भव हुने बताएका थिए ।
मर्ज ल्याब्सले ओपनएआई र अन्य लगानीकर्ताबाट २५ करोड डलर उठाउने लक्ष्य राखेको छ । यो नयाँ कम्पनीले सन् २०१६ मा मस्कद्वारा स्थापित न्युरालिङ्कसँग सिधा प्रतिस्पर्धा गर्नेछ । यसले मस्तिष्कलाई सिधै कम्प्युटरमा जोड्ने प्रविधिमा काम गर्दै आएको छ ।
कुनै समय अल्टम्यान र मस्क मिलेर ओपनएआई स्थापना गरेका थिए । तर, सन् २०१८ मा अल्टम्यानसँगको विवादपछि मस्कले बोर्ड छाडे । त्यसयता एआईको दौडमा उनीहरू कट्टर प्रतिद्वन्द्वी बनेका छन् । मस्कले सन् २०२३ मा आफ्नै एआई स्टार्टअप ‘एक्सएआई’ सुरु गरेका थिए । त्यस्तै ओपनएआई गैरनाफामुखीबाट नाफामुखीमा परिणत भएको भन्दै मस्क अदालती लडाइँ पनि लडिरहेका छन् ।
ब्रेन-कम्प्युटर इन्टरफेसको बजारमा न्युरालिङ्क सबैभन्दा अगाडि छ । यसले हालै नौ अर्ब डलरको मूल्याङ्कनमा ६५ करोड डलर लगानी उठाएको थियो । रोचक कुरा त के छ भने अल्टम्यान आफैले पनि पहिले न्युरालिङ्कमा लगानी गरेका थिए ।
मस्तिष्कमा चिप्स प्रत्यारोपण गर्ने प्रविधि दशकौँ पुरानो भए पनि एआई र इलेक्ट्रोनिक उपकरणमा भएको विकासले यसलाई व्यावहारिक र उपयोगी बनाउने सम्भावना बढाएको छ । प्रिसिजन न्युरोसाइन्स र सिन्क्रोन जस्ता अन्य स्टार्टअप पनि यस दौडमा सामेल छन् ।
पछिल्लो अध्यावधिक: साउन ३१, २०८२ १०:३४
