काठमाडौँ । गुगलले क्रोम ब्राउजरमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) फिचर थप्ने भएको छ । सर्च इन्जिनमा कडा प्रतिद्वन्द्वीका रूपमा उदाएका पर्प्लेक्सिटी र ओपनएआईलाई टक्कर दिन गुगलले क्रोममै जेमिनाई उपलब्ध गराउने भएको हो ।
बिहीबार एक पोस्ट सार्वजनिक गर्दै कम्पनीले सुरुवाती चरणमा यो फिचर अमेरिकी प्रयोगकर्ताका लागि म्याक, विन्डोज र मोबाइल फोनमा समावेश गरिरहेको जानकारी दिएको छ । यो फिचर उपलब्ध भइसकेपछि क्रोमको माथि दायाँपट्टि जेमिनाईको लोगो देखिन्छ । त्यसमा क्लिक गर्दा छेउमा जेमिनाईको यूआई खुल्छ । र, त्यसैमा च्याट गर्न सकिन्छ ।
यससँगै प्रयोगकर्ताले जेमिनाईमा खोज्नुपर्ने कुनै जानकारी सजिलै छुट्टै ट्याबमा नगएरै खोज्न सक्नेछन् । कम्पनीका अनुसार क्रोममा इन्टिग्रेट भएको जेमिनाईको सहायताले प्रयोगकर्ताले मिटिङ शेड्युल गर्न र युट्युब भिडिओ पनि खोज्न सक्नेछ ।
“हामी वेबको उत्कृष्ट अनुभव दिन ब्राउजरलाई नयाँ स्वरूप दिइरहेका छौं,” कम्पनीले भनेको छ, “यो यस्तो तरिकाले विकास भइरहेको छ, जुन केही वर्षअघिसम्म असम्भव जस्तै लाग्थ्यो । यो सबै गरिरहँदा हामीले धेरैले क्रोमको गति, सरलता र सुरक्षालाई पनि कायमै राखेका छौं ।”
पछिल्लो समय एआईको व्यापक प्रयोग भएसँगै त्यसको केन्द्रमा इन्टरनेट ब्राउजर परेका छन् । प्रयोगकर्तालाई ब्राउजरबाटै एआई प्रयोग गर्न दिएर आफूलाई अब्बल सावित गर्ने दाउमा कम्पनीहरू छन् ।
पछिल्लो अध्यावधिक: असोज ४, २०८२ १२:४०
