close

चीनले दबाब दिएपछि एप्पलले आफ्नो एप स्टोरबाट हटायो 'गे' डेटिङ एप

टेकपाना टेकपाना

कात्तिक २५, २०८२ १४:०

चीनले दबाब दिएपछि एप्पलले आफ्नो एप स्टोरबाट हटायो 'गे' डेटिङ एप

काठमाडौँ । एप्पलले चीन सरकारको दबाबमा परेर आफ्नो चिनियाँ एप स्टोरबाट दुई वटा लोकप्रिय समलिङ्गी डेटिङ एपहरू हटाएको खबर बाहिरिएको छ । चीनको इन्टरनेट नियामक र सेन्सरशिप निकाय साइबरस्पेस एडमिनिस्ट्रेसन अफ चाइना (सीएसी) को आदेशपछि ब्लुड (Blued) र फिंका (Finka) नामक डेटिङ एपलाई एप्पलको एप स्टोरबाट हटाइएको हो ।

द चाइना प्रोजेक्टका अनुसार ब्लुड र फिंक चीनमा समलिङ्गी व्यक्तिहरूका लागि सबैभन्दा ठुला डेटिङ एपको रूपमा रहेका थिए । यी दुवै एपहरू एप्पलको आईओएस एप स्टोर र केही एन्ड्रोइड एप स्टोरहरूमा उपलब्ध हुन छोडेका छन् ।

एप्पलका एक प्रवक्ताले आफूहरूले सेवा सञ्चालन गर्ने देशहरूको कानुन पालना गर्ने बताएका छन् । ती प्रवक्ताले सीएसीको आदेशका आधारमा यी दुई एपलाई 'चीनको स्टोरफ्रन्टबाट मात्र' हटाइएको जानकारी दिएका छन् ।

ब्लुड र फिंकाको मातृ कम्पनी ब्लुसिटी हो, जुन न्युबर्न टाउनको स्वामित्वमा छ । ब्लुसिटीले एचआईभी तथा एड्स जस्ता रोगहरूको रोकथाम र उपचारका लागि समर्पित गैर-नाफामूलक संस्थासँग स्वास्थ्य सेवाको क्षेत्रमा पनि काम गर्छ । ब्लुड एप अन्तर्राष्ट्रिय रूपमा हिसे(HeeSay) नाममा उपलब्ध छ ।

यो कदम चीनको सीमान्तकृत एलजीबीटीक्यू प्लस समुदायका लागि एक धक्का हो ।चीनमा सन् १९९७ मा समलिङ्गीतालाई गैरअपराधीकरण गरिएको थियो । तर समलिङ्गी विवाहलाई भने अझै पनि मान्यता दिइएको छैन ।

सेन्सरशिप कानुनले एलजीबीटीक्यू प्लस पात्र र कथानक भएका फिल्म र टिभी शोहरूलाई पनि रोक्ने गर्छ । पछिल्ला वर्षहरूमा चीनले एलजीबीटीक्यू प्लस व्यक्तिहरूको अधिकार र समूहहरूमाथि बढ्दो रूपमा कारबाही गर्दै आएको छ । सन् २०२३ मा बेइजिङ एलजीबीटी सेन्टर जस्ता ठुला संस्थाहरू बन्द गरिएको थियो ।

यो पहिलो घटना भने होइन । लोकप्रिय एलजीबीटीक्यू प्लस डेटिङ एप ग्राइन्डरलाई पनि सन् २०२२ मा चीनमा एप्पलको एप स्टोरबाट हटाइएको थियो । यद्यपि, प्रयोगकर्ताहरूले पहिले नै इन्स्टल गरिएको खन्डमा यी एपहरूले अझै पनि काम गरिरहेको सामाजिक सञ्जालमा उल्लेख गरिरहेका छन् ।

एप्पलका सीईओ टिम कुकले सन् २०१४ मा आफू समलिङ्गी भएको खुलासा गरेका थिए । उनी विश्वव्यापी रूपमा एलजीबीटीक्यू प्लस समुदायका लागि सबैभन्दा शक्तिशाली आवाजहरूमध्ये एक मानिन्छन् ।

उनी आफूलाई अभियान्ता (एक्टिभिस्ट) ठान्दैनन् । तर एप्पलले मानव अधिकार र सबैका लागि समानताको लागि लामो समयदेखि वकालत गर्दै आएको छ र कम्पनीले आफ्ना मूल्यमान्यताका लागि लड्न जारी राख्ने कुरा भने उनले कुनै समय भनेका थिए ।

 

पछिल्लो अध्यावधिक: कात्तिक २५, २०८२ १४:०