काठमाडौं । एप्पलले आफ्नो सबैभन्दा महत्त्वपूर्ण उत्पादन आईफोन सार्वजनिक गर्ने रणनीतिमा ठूलो परिवर्तन गर्ने भएको छ । ब्लुमबर्गको ‘पावर अन’ न्युजलेटरले सार्वजनिक गरेको एक रिपोर्ट अनुसार एप्पलले आगामी वर्षदेखि वर्षमा कम्तीमा दुई पटक नयाँ आईफोनका मोडल बजारमा ल्याउने भएको हो ।
हालसम्म कम्पनीले हरेक वर्ष एक पटक मात्र नयाँ मोडेल सार्वजनिक गर्दै आएको छ । यो परिवर्तनले एप्पलका लाखौं ग्राहक र विश्वव्यापी स्मार्टफोन बजारमा नयाँ तरङ्ग ल्याउने अनुमान गरिएको छ । ब्लुमबर्गका अनुसार एप्पलले आफ्ना हाइ-इन्ड आईफोन १८ मोडेल २०२६ को सेप्टेम्बर अक्टोबरमै सार्वजनिक गर्नेछ । यसबेला कम्पनीले बहुप्रतिक्षित फोल्डिङ मोडल पनि सार्वजनिक गर्नेछ । तर, कम्पनीले आफ्ना बेस मोडेल आईफोन १८ ई र आईफोन एयर भने त्यसको करिब ६ महिनापछि अर्थात् सन् २०२७ को मार्च-अप्रिलमा सार्वजनिक गर्नेछ ।
‘पावर अन’ का पत्रकार मार्क गुरम्यानका अनुसार यो परिवर्तनले एप्पललाई आफ्नो बजारीकरण, इन्जिनियरिङ प्रयास र राजस्वलाई वर्षभरि फैलाउन मद्दत गर्नेछ । साथै यसले कम्पनीलाई वर्षको एकै समयमा हुने ठुलो आईफोन लन्चमाथिको निर्भरता कम गर्न पनि सघाउनेछ । यद्यपि यस विषयमा एप्पलका प्रतिनिधिले तत्काल कुनै प्रतिक्रिया दिएका छैनन् ।
यो परिवर्तनको हल्ला सन् २०२५ को आईफोन १७ र आईफोन एयर मोडल सार्वजनिक हुनुअघिदेखि नै चलेको थियो । तर यो न्युजलेटरले एप्पलको रणनीतिको बारेमा थप ठोस विवरण उपलब्ध गराएको छ । पत्रकार गुरम्यानका अनुसार एप्पलको सबैभन्दा पातलो मोडेल आईफोन एयरलाई ‘१७’ नम्बर बिना नै सार्वजनिक गर्नुको उद्देश्य यसलाई वार्षिक चक्रबाट अलग राख्नु थियो ।
एप्पल अब फरक आईफोन मोडल बजारमा ल्याउन लागेको बताइएको छ । भविष्यमा आउने नयाँ मोडलमा ‘एयर’ सिरिज, फोल्डेबल फोन र सन् २०२७ मा आउने भनिएको घुमाउरो डिस्प्ले तथा स्क्रिनभित्र लुकाइएको फ्रन्ट-फेसिङ क्यामेरा भएको हाई-इन्ड आईफोन समावेश हुनेछन् ।
पछिल्लो अध्यावधिक: मंसिर २, २०८२ १७:६
