यस्ता छन् एप्पल स्टोरका वर्षकै उत्कृष्ट एप र गेम, तपाईंलाई कतिको बारेमा थाहा छ ?
मंसिर १९, २०८२ ११:०
काठमाडौँ । एप्पलले २०२५ का लागि आफ्नो एप स्टोर अवार्डका विजेताको घोषणा गरेको छ । कम्पनीले यस वर्ष प्राविधिक नवीनता र दीर्घकालीन सांस्कृतिक प्रभावका लागि १७ वटा एप र गेमलाई अवार्ड प्रदान गरेको हो ।
टाइमो (Tiimo) ले यस वर्षका लागि आईफोन एप अफ दि इयर (वर्षको उत्कृष्ट आईफोन एप) पुरस्कार जित्यो टाइमोलाई एक भिजुअल एआई प्लानरको रूपमा वर्णन गरिएको छ । जसले गर्नुपर्ने कार्यहरूलाई भिजुअल टाइमलाइनसहितको योजनामा बदल्छ । यो एपले एआई प्रयोग गरेर प्रत्येक चरणमा लाग्ने समय अनुमान गरी यथार्थपरक तालिका बनाउन मद्दत गर्छ ।
त्यस्तै डिटेल (Detail) आईप्याड एप अफ दि इयर (वर्षको उत्कृष्ट आईप्याड एप) बन्यो । यसले Auto Edit नामक एआई सुविधा प्रयोग गरेर भिडिओ एडिटिङलाई सरल बनाउँछ । यो सुविधाले साइलेन्स रिमुभल, जुम कट र शीर्षक तथा क्याप्सन थप्ने जस्ता कुराहरूलाई ह्यान्डल गर्छ ।
यसैगरी इजिस्ट (Essayist) म्याक एप अफ दि इयर (वर्षको उत्कृष्ट म्याक एप) घोषित भएको छ । यो एआई टुलबाट सञ्चालित छ र म्याकमा शैक्षिक पेपरहरूको फर्म्याटिङ जस्ता समय खपत गर्ने कामलाई सहज बनाउँछ ।
एप्पल वाच एप अफ दि इयर (वर्षको उत्कृष्ट एप्पल वाच एप) को अवार्ड भने स्ट्राभाले पाएको छ । जसमा एउटा एआई असिस्टेन्ट समावेश छ, जसले व्यायाम डेटालाई इनसाइट्समा बदल्छ ।
यस बाहेक आईफोनका लागि पोकेमन टीसीजी पकेट, आईप्याडका लागि ड्रिज, म्याकका लागि साइबरपङ्क २०७७: अल्टिमेट एडिसन, एप्पल भिजन प्रोका लागि प्रोटा नुबी, एप्पल आर्केडका लागि ह्वाट दि क्ल्याश गेम अफ दि इयर बनेका छन् । एक्सप्लोर भीओभी एप्पल भिजन प्रो एप अफ दि इयर र एचबीओ म्याक्स एप्पल टिभी एप अफ दि इयर घोषित भए ।
एप स्टोरका एडिटरहरूले ६ वटा एपलाई 'सांस्कृतिक प्रभाव' विजेताको रूपमा चयन गरे । जसले सकारात्मक प्रभाव पार्दै उपयोगी उपकरणहरू प्रदान गर्ने, समझदारी प्रवर्धन गर्ने र थप समावेशी संसारलाई आकार दिने उद्देश्य राखेका थिए ।
जसमा पर्न सफल बी माई आइज् (Be My Eyes) नामक एपले दृष्टिविहीन वा कम दृष्टिका प्रयोगकर्ताहरूलाई दैनिक गतिविधिहरूमा मद्दत गर्न एआई र लाखौँ स्वयंसेवकहरूको शक्तिलाई जोड्दछ । यसले वास्तविक-विश्वका तस्विरहरूको दृश्य विवरण प्रदान गर्न एआई असिस्टेन्ट प्रयोग गर्दछ ।
यस्तै स्टोरीग्राफ नामक एपले पढ्ने डेटामा आधारित पुस्तक सिफारिसहरू गर्न मसिन लर्निङ एआई प्रयोग गर्दछ । चान्ट्स अफ सेनर एप भाषाको शक्तिको उत्सव मनाउने एक विचारोत्तेजक साहसिक गेम हो ।
त्यस्तै डेस्पेलट एक स्लाइस अफ लाइफ फुटबल गेम हो । जसले उथलपुथलबाट गुज्रिरहेको र फुटबलको माध्यमबाट एकजुट भएको राष्ट्रको एक झलक प्रस्तुत गर्दछ ।
यस्तै अर्को एप हो फोकस फ्रेन्ड । ह्याङ्क ग्रिनको यो एपले सन्तुष्टि दिने अवार्डसहित फोकस सेसनहरूलाई गेमिफाइ गरेर डिजिटल डिस्ट्राक्सनबाट बचाउन शक्तिशाली सहयोगीको रूपमा काम गर्दछ । आर्ट अफ फउनाले विश्वभरका वन्यजन्तु चित्रणलाई आरामदायी पजलहरूमा बदल्छ र पहुँचयोग्य खेल डिजाइनको लागि नयाँ मापदण्ड सेट गर्दछ ।
विजेता एप र गेमलाई एप्पल स्टोर एडिटरहरूले ४५ वटा फाइनलिस्टहरूको सूचीबाट छनोट गरेका थिए । जसका लागि असाधारण नवीनता, प्रयोगकर्ता अनुभव र डिजाइन पर्फर्मेन्सलाई आधार बनाइएको थियो ।
यद्यपि एप्पलले वर्षको उत्कृष्ट एपको रूपमा कुनै डेडिकेटेड एआई एप वा एआई च्याटबटको नाम भने लिएको छैन । तथापि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) यस वर्षका धेरै विजेताहरूमा महत्त्वपूर्ण रूपमा प्रस्तुत भएको छ ।
एप्पलका सीईओ टिम कुकले भनेका छन्, "मानिसको जीवनलाई समृद्ध बनाउने नवीन अनुभवहरूमा परिणत गर्ने डेभलपरका उत्कृष्ट आइडियाहरूबाट हामी प्रेरित हुन्छौँ । यस वर्षका विजेताहरूले एप स्टोरलाई परिभाषित गर्ने रचनात्मकता र उत्कृष्टताको प्रतिनिधित्व गर्छन् र विश्व-स्तरीय एप र गेमले जताततै मानिसहरूमा पार्ने अर्थपूर्ण प्रभाव देखाउँछन् ।
पछिल्लो अध्यावधिक: मंसिर १९, २०८२ ११:०
