विजय थलापथीको नयाँ फिल्म ‘जन नायकन’ को ट्रेलरमा गुगल जेमिनाईको लोगो देखिएपछि ट्रोलको वर्षा
पुस २०, २०८२ १५:५६
काठमाडौँ । दक्षिण भारतीय चलचित्रका सुपरस्टार विजय थलापथीको चलचित्र ‘जन नायकन’ को ट्रेलर विवादमा परेको छ । शनिबार सार्वजनिक भएको ट्रेलरमा एडिटरले जेमिनाई एआईको वाटरमार्क हटाउन बिर्सिएपछि चलचित्र आलोचित बनेको हो ।
ट्रेलरको २३औँ सेकेन्डको एक दृश्यमा एक व्यक्तिले सटगन लोड गरिरहेको देखाइएको छ । त्यसलगत्तै आउने एक सानो दृश्यमा ‘गुगल जेमिनाई’ (Google Gemini) को लोगो प्रस्ट देखिएको थियो । सामाजिक सञ्जालमा धेरै प्रयोगकर्ताले यसको स्क्रिन रेकर्डिङ शेयर गर्दै निर्माण टिमको लापरबाही औंल्याएका छन् ।
४०० करोडभन्दा बढीको बजेटमा बनेको भनिएको चलचित्रमा यस्तो ‘एमेच्योर’ गल्ती देखिएपछि फ्यान र सिनेमा प्रेमी आक्रोशित भएका छन् । कतिपयले चलचित्रमा एआईको प्रयोगलाई ‘कलाको अपमान’ भनेका छन् भने कतिपयले एडिटरको क्षमतामाथि प्रश्न उठाएका छन् ।
एक प्रयोगकर्ताले टिप्पणी गरेका छन्, “४०० करोडको बजेट, तर यो के ताल हो ? यस्तो सामान्य गल्ती कसरी हुन सक्छ ?” अर्का प्रयोगकर्ताले लेखेका छन्, “यो विजयको अन्तिम चलचित्र हो, यसलाई भव्य र स्तरीय बनाउनुपर्नेमा यस्तो सस्तो काम भयो ।”
पछिल्लो अध्यावधिक: पुस २०, २०८२ १५:५७
