‘हे सिरि’ पनि अब ‘हे गुगल’: एप्पलको भ्वाइस असिस्टेन्टमा जेमनाई एआई प्रयोग हुने निश्चित
पुस २९, २०८२ ११:५९
काठमाडौँ । प्रविधि क्षेत्रका दुई ठुला प्रतिद्वन्द्वी एप्पल र गुगलले एक ऐतिहासिक साझेदारीको घोषणा गरेका छन् । जसअनुसार एप्पलले आफ्नो भ्वाइस असिस्टेन्ट सिरीलाई थप व्यक्तिगत र शक्तिशाली बनाउन गुगलको जेमनाई एआई प्रविधि प्रयोग गर्नेछ ।
एप्पलले गुगलको प्रविधिलाई 'एप्पल फाउन्डेसन मोडल'का लागि सबैभन्दा सक्षम आधारका रूपमा मूल्याङ्कन गर्दै यसलाई छनोट गरेको हो । एप्पलले विगत एक वर्षदेखि सिरीको एआई-अपग्रेड संस्करणमा काम गरिरहेको छ, जसले प्रयोगकर्ताको व्यक्तिगत सन्दर्भ (personal context) बुझ्ने र उनीहरूको तर्फबाट कार्यहरू गर्न सक्नेछ ।
गुगलको जेमनाई ३ एआई मोडेलको सहयोगमा अब सिरीले 'वर्ल्ड नलेज आन्सर' (World Knowledge Answers) जस्ता सुविधाहरू प्रदान गर्नेछ । जसले वेबबाट जानकारी खोजेर एआई-जेनेरेटेड सारांश उपलब्ध गराउनेछ । यो नयाँ र परिष्कृत सिरी यसै वर्ष सार्वजनिक हुने अपेक्षा गरिएको छ ।
एप्पलले गुगलको क्लाउड प्रविधि र जेमनाई मोडेल प्रयोग गरे तापनि प्रयोगकर्ताको गोपनीयतामा कुनै सम्झौता नगर्ने बताएको छ । एप्पल इन्टेलिजेन्सका सुविधाहरू अझै पनि एप्पल डिभाइस र कम्पनीको आफ्नै प्राइभेट क्लाउड कम्प्युटमा चल्नेछन् । धेरैजसो एआई प्रोसेसिङ डिभाइसमै वा कडा नियन्त्रणमा रहेको पूर्वाधार मार्फत गरिनेछ ।
यो साझेदारीका वित्तीय सर्त आधिकारिक रूपमा सार्वजनिक नगरिए तापनि एप्पलले गुगलको एआई प्रविधि प्रयोग गरे बापत वार्षिक करिब १ अर्ब अमेरिकी डलर तिर्ने समाचार विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमले लेखेका छन् । यो सम्झौता गुगलका लागि एउटा ठुलो जित मानिएको छ, जसले ओपनएआई विरुद्धको प्रतिस्पर्धामा गुगलको स्थान बलियो बनाएको छ ।
विशेष कुरा के छ भने गत हप्ता मात्र गुगलको मातृ कम्पनी अल्फाबेटले बजार पूँजीकरणमा सन् २०१९ पछि पहिलो पटक एप्पललाई उछिनेको छ । एप्पलले यसअघि नै सिरीमा जटिल प्रश्नहरूको उत्तर खोज्नका लागि ओपनएआईको च्याटजीपीटी एकीकृत गरिसकेको छ । गुगलसँगको यो नयाँ साझेदारीले च्याटजीपीटीसँगको सम्बन्धमा कस्तो असर पार्छ भन्ने स्पष्ट छैन ।
तर एप्पलले आफ्नो सम्झौतामा कुनै परिवर्तन नभएको बताएको छ । यसका साथै एप्पलले एन्थ्रोपिक र पर्प्लेक्सिटी जस्ता कम्पनीहरूसँग पनि सहकार्यको सम्भावना खोजी गरिरहेको छ ।
पछिल्लो अध्यावधिक: पुस २९, २०८२ ११:५९
