यूएई र क्यानडासँग विश्वकपको वार्म-अप खेल खेल्दै नेपाल, आईसीसीले अनलाइनमा निःशुल्क देखाउने
माघ १९, २०८२ १६:१८
काठमाडौँ । आईसीसी पुरुष ट्वान्टी-२० विश्वकप २०२६ को पूर्वसन्ध्यामा नेपाली राष्ट्रिय क्रिकेट टोलीले यूएई र क्यानडासँग वार्म-अप खेल खेल्ने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सार्वजनिक गरेको तालिका अनुसार नेपालले चेन्नईमा यी दुई टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।
तालिका अनुसार नेपालले आफ्नो पहिलो वार्म-अप खेल भोलि यूएईसँग खेल्नेछ । चेन्नईस्थित एम.ए. चिदम्बरम स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार साँझ ५:१५ बजे सुरु हुनेछ । त्यसैगरी, नेपालले दोस्रो वार्म-अप खेल ५ फेब्रुअरी (माघ २३ गते) मा क्यानडासँग खेल्नेछ । सो खेल सोही मैदानमा दिउँसो ३:१५ बजे सुरु हुने तालिका छ ।
आईसीसीले वार्म अप खेलहरूको प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था मिलाएको छ । आईसीसीका अनुसार नेपाल र यूएई तथा नेपाल र क्यानडाबिचको खेल आईसीसी टिभी' (ICC.tv) मार्फत विश्वभर प्रत्यक्ष प्रसारण गरिनेछ । यसअन्तर्गत आईसीसी टिभीको पोर्टल वा एपमार्फत खेल हेर्न सकिने छ ।
यसका साथै आईसीसीले आफ्ना डिजिटल च्यानलहरू मार्फत खेलको हाइलाइट्स समेत उपलब्ध गराउने जानकारी दिएको छ।
भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुन लागेको विश्वकपको मुख्य प्रतियोगिता ७ फेब्रुअरीबाट सुरु हुँदैछ । त्यसअघि विभिन्न १६ ओटा वार्म अप खेलहरू हुनेछन् । भारतका मुम्बई, बेंगलुरु र चेन्नई तथा श्रीलंकाको कोलम्बोमा यी खेल सञ्चालन हुनेछन् ।
नेपालले चेन्नईको स्पिनमैत्री पिचमा वार्म-अप खेल खेल्न पाउनुलाई विश्वकपको तयारीका लागि महत्त्वपूर्ण अवसरको रूपमा हेरिएको छ । आईसीसीले यस पटकको विश्वकपका लागि ‘फिल द थ्रिल’ बोलको आधिकारिक गीत समेत सार्वजनिक गरिसकेको छ ।
पछिल्लो अध्यावधिक: माघ १९, २०८२ १७:१५
