सामाजिक सञ्जालको प्रयोगले क्रिकेट खेलाडीको ध्यान भड्कायो, प्रदर्शनमा असर पर्योः प्रशिक्षक
फागुन २, २०८२ २३:१४
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक स्टुअर्ट ललेले सामाजिक सञ्जालको प्रयोग र त्यसमा आउने कमेन्टहरूले खेलाडीको प्रदर्शनमा नकारात्मक असर पर्ने बताएका छन् । भोलि वेस्ट इन्डिजविरुद्ध हुने खेलअघि पत्रकारहरूसँग कुरा गर्दै प्रशिक्षक लले नेपाली संस्कृतिमा सामाजिक सञ्जालको प्रभाव निकै गहिरो रहेको र यसले खेलाडीलाई आफ्नो मुख्य जिम्मेवारीबाट विमुख बनाउन सक्ने खतरा औँल्याए ।
“मेरो विचारमा सामाजिक सञ्जाल अहिलेको समयमा एक ठुलो डिस्ट्र्याक्सन (अवरोध) बनेको छ,” प्रशिक्षक लले भने, “यदि हामी मैदानमा टोलीलाई के आवश्यक छ र खेलको माग के हो भन्ने भन्दा पनि सामाजिक सञ्जालमा मानिसहरूले हाम्रो बारेमा के भनिरहेका छन् भन्नेतर्फ केन्द्रित भयौँ भने हामी आफ्नो लक्ष्यबाट टाढा पुग्छौँ ।”
लले खेलाडीहरू व्यावसायिक स्पोन्सरसिप र ब्रान्ड इन्डोर्समेन्टका लागि सामाजिक सञ्जालमा निर्भर हुनुपर्ने बाध्यतालाई बुझे तापनि खेलको समयमा खेलमै केन्द्रित हुनुपर्नेमा जोड दिए । “मैले खेलाडीहरूलाई स्पष्टसँग भन्ने गरेको छु- मैदानमा क्रिकेट जित्न थाल्नुहोस्, सामाजिक सञ्जालमा तपाईंका लाइक र फलोअर्स आफैँ बढ्नेछन् । त्यसका लागि सधैँ झुण्डिइरहनु पर्दैन,” उनले भने ।
आफूलाई सामाजिक सञ्जालको बारेमा खासै ज्ञान नभएको डाइनोसर (पुरानो विचारधाराको)का रूपमा चित्रण गर्दै लले यसका सकारात्मक पक्षभन्दा नकारात्मक पक्षले खेलाडीलाई बढी प्रभावित पारेको धारणा राखे । “मैले खेलाडीहरूलाई क्रिकेट मैदानमा हुँदा क्रिकेटकै बारेमा मात्र सोच्न र अन्य अनावश्यक कुराहरूलाई खेलभन्दा बाहिरै राख्न निर्देशन दिएको छु,” उनले थपे ।
महत्त्वपूर्ण खेलहरूमा मानसिक रूपमा बलियो हुनुपर्ने उल्लेख गर्दै प्रशिक्षक लले सामाजिक सञ्जालको दबाबबाट मुक्त भएर मैदानमा उत्रनु नै अहिलेको मुख्य आवश्यकता रहेको स्पष्ट पारे । जारी टी-२० विश्वकपमा आफ्नो दोस्रो खेलमा इटालीसँग लज्जास्पद हार ब्योहरेपछि प्रशिक्षक लले खेलाडीले सामाजिक सञ्जाल प्रयोग गरेकोमा असन्तुष्टि जनाएका हुन् ।
पछिल्लो अध्यावधिक: फागुन २, २०८२ २३:२५
