close

खर्च धान्न ओपनएआईको नयाँ दाउ, च्याटजीपीटीमा देखाउन थाल्यो विज्ञापन

टेकपाना टेकपाना

माघ २८, २०८२ १५:२४

खर्च धान्न ओपनएआईको नयाँ दाउ, च्याटजीपीटीमा देखाउन थाल्यो विज्ञापन

काठमाडौँ । ओपनएआईले आफ्नो च्याटबट च्याटजीपीटीमा विज्ञापन देखाउन सुरु गरेको छ । कम्पनीले सोमबारदेखि अमेरिकामा रहेका नि:शुल्क र गो सब्सक्रिप्सन प्रयोगकर्ताहरूका लागि विज्ञापनको परीक्षण सुरु गरेको घोषणा गरेको हो ।

कम्पनीले गत जनवरीमा मात्रै महिनाको ८ डलर पर्ने सस्तो शुल्कको गो प्लान विश्वव्यापी रूपमा सार्वजनिक गरेको थियो ।

ओपनएआईका अनुसार च्याटजीपीटी प्लस, प्रो, बिजनेस, इन्टरप्राइज, एजुकेसन जस्ता प्रिमियम शुल्क तिर्ने प्रयोगकर्ताले भने विज्ञापन देख्नुपर्ने छैन । ​एआईले दिने उत्तरहरूमा विज्ञापनको प्रभाव पर्नसक्ने भन्दै सर्वत्र चासो व्यक्त भइरहेका बेला ओपनएआईले यसलाई स्पष्ट पारेको छ ।

“विज्ञापनले च्याटजीपीटीले दिने उत्तरहरूमा कुनै प्रभाव पार्ने छैन । प्रयोगकर्ताका कुराकानीहरू विज्ञापनदाताबाट गोप्य राखिनेछन्,” ओपनएआईले आफ्नो ब्लग पोस्टमा लेखेको छ । विज्ञापनबाट संकलित रकमले च्याटजीपीटीका शक्तिशाली फिचरहरू अझ बढी प्रयोगकर्तामाझ पुर्‍याउन सहयोग पुग्ने कम्पनीको भनाइ छ ।

विज्ञापन राख्ने ओपनएआईको यो कदमको प्रमुख प्रतिस्पर्धी कम्पनी एन्थ्रोपिकले कडा आलोचना गरेको छ । आइतबार सम्पन्न ‘सुपर बोल’ का क्रममा एन्थ्रोपिकले टेलिभिजन विज्ञापनमार्फत च्याटजीपीटीमा विज्ञापन देखाउँदा प्रयोगकर्ताको अनुभव कति झन्झटिलो हुन्छ भन्ने देखाउँदै खिल्ली उडाएको थियो ।

यसप्रति ओपनएआईका प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यानले कडा प्रतिक्रिया दिएका छन् । उनले एन्थ्रोपिकका विज्ञापनहरूलाई बेइमान भन्दै सो कम्पनीलाई 'तानाशाही' (Authoritarian) को संज्ञा दिएका छन् ।

कसरी देखिनेछ विज्ञापन ?

च्याटजीपीटीमा देखिने विज्ञापनहरू प्रयोगकर्ताको कुराकानीको विषयसँग सम्बन्धित हुनेछन् । उदाहरणका लागि, यदि कुनै प्रयोगकर्ताले खानाका रेसिपीबारे खोजिरहेको छ भने उसलाई खाद्यान्न डेलिभरी सेवाको विज्ञापन देखाइनेछ । यद्यपि, विज्ञापनदाताले प्रयोगकर्ताको व्यक्तिगत विवरण पाउने छैनन् । उनीहरूले केवल विज्ञापन कति पटक हेरियो वा क्लिक गरियो भन्ने एग्रिगेट तथ्याङ्क मात्र पाउनेछन् ।

विज्ञापनहरूलाई स्पष्ट रूपमा स्पोन्सर्ड (Sponsored) भनी लेबल लगाइनेछ । प्रयोगकर्ताले आफूलाई देखिएको विज्ञापन किन देखाइयो भन्ने हेर्न, त्यसलाई हटाउन र फिडब्याक दिन समेत सक्नेछन् ।

ओपनएआईले १८ वर्ष मुनिका प्रयोगकर्ताहरूलाई विज्ञापन नदेखाउने नीति लिएको छ । साथै स्वास्थ्य, राजनीति र मानसिक स्वास्थ्य जस्ता संवेदनशील र नियमन गरिएका विषयमा कुराकानी भइरहेका बेला विज्ञापन नराखिने कम्पनीले स्पष्ट पारेको छ ।

पछिल्लो अध्यावधिक: माघ २८, २०८२ १७:१२