close

ओपनएआई र गुगलसँग भिड्न भारतको आफ्नै एआई च्याट एप ‘इन्डस’ सार्वजनिक

टेकपाना टेकपाना

फागुन ९, २०८२ १५:०

ओपनएआई र गुगलसँग भिड्न भारतको आफ्नै एआई च्याट एप ‘इन्डस’ सार्वजनिक

काठमाडौँ । स्थानीय भाषा र प्रयोगकर्ताका लागि एआई मोडेल निर्माणमा केन्द्रित भारतीय एआई स्टार्टअप ‘सर्वम’ले नयाँ च्याट एप ‘इन्डस’ सार्वजनिक गरेको छ । वेब र मोबाइल प्रयोगकर्ताका लागि लक्षित यो एप शुक्रबार सार्वजनिक भएसँगै सर्वमले ओपनएआई, एन्थ्रोपिक, गुगलजस्ता दिग्गजको प्रभुत्व रहेको एआई बजारमा औपचारिक रूपमा प्रवेश गरेको छ । जेनेरेटिभ एआई अपनाउने सन्दर्भमा भारत अहिले विश्वको मुख्य प्रतिस्पर्धात्मक मैदान बनेको छ । 

हालै ओपनएआईका सीईओ साम अल्टम्यानले भारतमा च्याटजीपीटीका १० करोडभन्दा बढी साप्ताहिक सक्रिय प्रयोगकर्ता रहेको बताएका थिए । त्यस्तै एन्थ्रोपिकले पनि आफ्नो कुल ‘क्लाउड’ प्रयोगमा भारतको हिस्सा ५.८ प्रतिशत रहेको र यो अमेरिकापछि दोस्रो स्थानमा रहेको जनाएको छ । यस्तो परिवेशमा स्वदेशी एप ‘इन्डस’ को आगमनलाई विज्ञहरूले अर्थपूर्ण रूपमा हेरेका छन् ।

‘इन्डस’ एपले कम्पनीको १०५ अर्ब प्यारामिटर भएको लार्ज ल्याङ्ग्वेज मोडेल (एलएलएम) ‘सर्वम १०५बी’ को इन्टरफेसको रूपमा काम गर्छ । केही दिनअघि नयाँ दिल्लीमा आयोजित ‘इन्डिया एआई इम्प्याक्ट समिट’ मा बेङ्गलुरुस्थित यस स्टार्टअपले १०५बी र ३०बी मोडेल लन्च गरेको थियो ।

सोही समिटमा स्टार्टअपले नोकियाका फिचर फोनमा एआई फिचर ल्याउन एचएमडी र एआई-इनेबल्ड अटोमोटिभ एप्लिकेसनका लागि बोससँग साझेदारीको घोषणा गरेको थियो । त्यसका साथै कम्पनीले इन्टरप्राइज पहल र हार्डवेयर योजनाको रूपरेखा पनि प्रस्तुत गरेको थियो ।

हाल आईओएस, एन्ड्रोइड र वेबमा ‘बेटा’ भर्सनमा उपलब्ध यो एपमा प्रयोगकर्ताले टाइप गरेर वा बोलेर प्रश्न सोध्न सक्छन् । यसले लिखित र अडियो दुवै माध्यममा जवाफ दिन सक्छ । प्रयोगकर्ताले फोन नम्बर, गुगल, माइक्रोसफ्ट वा एप्पल आईडी प्रयोग गरेर साइन इन गर्न सक्नेछन् । यद्यपि हालका लागि यो सेवा भारतमा मात्र सीमित देखिन्छ ।

एपको सुरुवाती चरणमा केही प्राविधिक सीमा देखिएका छन् । प्रयोगकर्ताले आफ्नो अकाउन्ट नै डिलिट नगरी च्याट हिस्ट्री हटाउन सक्दैनन् । साथै, एपको ‘रिजनिङ’ फिचर बन्द गर्ने अप्सन नहुँदा कहिलेकाहीँ जवाफ आउन समय लाग्ने गरेको प्रयोगकर्ताको अनुभव छ ।

कम्पनीले कम्युट क्षमता विस्तार भइरहेकोले पहुँच सीमित हुन सक्ने चेतावनी दिएको छ । सर्वमका सह-संस्थापक प्रत्युष कुमारले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “हामी सीमित कम्युट क्षमतामा इन्डसलाई विस्तारै रोलआउट गर्दैछौं, त्यसैले सुरुमा वेटलिस्टमा बस्नुपर्ने हुन सक्छ । हामी प्रयोगकर्ताको प्रतिक्रिया लिँदै समयसँगै पहुँच विस्तार गर्नेछौं ।”

सन् २०२३ मा स्थापना भएको सर्वमले भारतका लागि अनुकूल हुने लार्ज ल्याङ्ग्वेज मोडेल निर्माण गर्न हालसम्म लाइटस्पीड भेन्चर पार्टनर्स, पीक एक्सभी पार्टनर्स र खोसला भेन्चर्स लगायतका लगानीकर्ताबाट ४१ मिलियन डलर रकम जुटाइसकेको छ ।

पछिल्लो अध्यावधिक: फागुन ९, २०८२ १६:५