close

ओपनएआईको मल्टि-एजेन्ट प्रविधि युक्त कोडिङ एप कोडेक्स अब विन्डोज प्रयोगकर्ताहरूका लागि पनि उपलब्ध

टेकपाना टेकपाना

फागुन २२, २०८२ ९:३७

ओपनएआईको मल्टि-एजेन्ट प्रविधि युक्त कोडिङ एप कोडेक्स अब विन्डोज प्रयोगकर्ताहरूका लागि पनि उपलब्ध

 

काठमाडौँ । आर्टिफिसियल इन्टेलिजेन्सको क्षेत्रमा अग्रणी कम्पनी ओपनएआईले आफ्नो शक्तिशाली कोडिङ एप कोडेक्स (Codex) अब विन्डोज अपरेटिङ सिस्टमका लागि पनि सार्वजनिक गरेको छ । फेब्रुअरी २०२६ को सुरुमा म्याकका लागि सार्वजनिक गरिएको यो एप बिहीबारदेखि विन्डोज प्रयोगकर्ताहरूका लागि पनि आधिकारिक रूपमा उपलब्ध भएको हो ।

विन्डोजका लागि ल्याइएको यो स्ट्यान्डअलोन एपमा म्याक भर्सनमा रहेका सबै शक्तिशाली फिचरहरू समावेश गरिएका छन् । यसको मुख्य विशेषता भनेको मल्टि-एजेन्ट (multi-agent) क्षमता हो, जसले जटिल कार्यहरू पुरा गर्नका लागि एकै पटक धेरै एआई असिस्टेन्टलाई व्यवस्थित र निर्देशित गर्न सक्छ । यसले गर्दा प्रोग्रामरहरूले एउटै कामका लागि धेरै एजेन्टहरूलाई समन्वय गरेर काम गराउन सक्छन् ।

 

जटिल सफ्टवेयर निर्माणमा सहजता

कोडेक्सले कसरी काम गर्छ भन्ने सन्दर्भमा ओपनएआईले एउटा उदाहरण प्रस्तुत गरेको छ । कम्पनीले कोडेक्सको प्रयोग गरेर 'मारियो कार्ट' जस्तै एउटा रेसिङ गेम तयार पारेको छ । एउटा मात्र एआई एजेन्टले पुरै गेम बनाउन गाह्रो हुने भए पनि कोडेक्सले त्यसका लागि विभिन्न मोडेलहरूलाई उनीहरूको क्षमता अनुसार काम बाँडफाँट गरिदिन्छ ।

जस्तै भिजुअल सामग्रीको लागि यसले जीपीटी इमेजको प्रयोग गर्दा अर्को छुट्टै मोडेलले गेमको कोडिङ गर्छ । यस प्रक्रियामा कोडेक्सले आफैँ डिजाइनर, गेम डेभलपर र क्यूए (QA) टेस्टरको भूमिका निभाउँदै कामको वैधता जाँच गर्न आफैँ गेम खेलेर समेत देखाउन सक्छ ।

एपका प्रमुख विशेषता

एपमा एउटा समर्पित डेडिकेटेड स्किल (Skills) सेक्सन, जसले निर्देशनहरू, स्रोतहरू र स्क्रिप्टहरूलाई एकै ठाउँमा राख्छ । यसले कोडेक्सलाई विभिन्न सफ्टवेयर टुलहरू र वर्कफ्लोसँग भरपर्दो रूपमा जोड्न मद्दत गर्छ । प्रयोगकर्ताले कोडेक्सलाई विशेष स्किल प्रयोग गर्न भन्न सक्छन् वा यसले आफैँ आवश्यकता अनुसार ती स्किलहरू प्रयोग गर्न सक्छ ।

त्यस्तै दोहोरिने र झन्झटिला कामहरूलाई कोडेक्सले अटोमेसनमार्फत् ब्याकग्राउन्डमा आफैँ सम्पन्न गर्न सक्छ । ओपनएआई आफैँले पनि यसलाई दैनिक इस्यु ट्राइज (issue triage) गर्न, सीआई (CI) विफलताहरूको सारांश निकाल्न, दैनिक रिलिज ब्रिफहरू तयार पार्न र बग परीक्षण गर्न प्रयोग गरिरहेको छ ।

साथै विन्डोज डेभलपरहरूलाई सुरक्षित र सहज अनुभव दिनका लागि एपमा नेटिभ स्यान्डबक्सिङको सुविधा समावेश गरिएको छ ।

प्रयोगकर्ताको सेसन हिस्ट्री सिधै ओपनएआई अकाउन्टमा सेभ हुन्छ । यसको अर्थ प्रयोगकर्ताले म्याकबुकमा सुरु गरेको कोडिङको काम बीचमै छोडेर विन्डोज कम्प्युटरमा आएर बिना कुनै अवरोध निरन्तरता दिन सक्छन् ।

उपलब्धता र मूल्य

कोडेक्स एप हाल च्याटजीपीटीका फ्री, गो, प्लस र प्रो गरी सबै प्रकारका प्रयोगकर्ताहरूका लागि उपलब्ध छ । यो नयाँ सफ्टवेयरले के-के गर्न सक्छ भनेर देखाउनका लागि केही समयका लागि फ्री र गो प्रयोगकर्ताहरूलाई पहुँच दिइएको छ । यद्यपि कम्पनीले प्लस र प्रो सब्सक्राइबरहरूका लागि भने शुल्क दोब्बर बनाएको छ ।

एआई एजेन्टहरूले समानान्तर रूपमा मिलेर काम गर्दा कस्तो नतिजा निस्कन्छ भन्ने कुराको यो एक उत्कृष्ट उदाहरण हो । यसअघि कर्सर बनाउने कम्पनीले पनि यस्तै प्रयासबाट वेब ब्राउजर बनाएको थियो । ओपनएआईको यो नयाँ विन्डोज एपले सफ्टवेयर विकासको क्षेत्रमा संलग्न व्यक्तिहरूका लागि काम गर्ने तरिकामा ठुलो परिवर्तन ल्याउने अपेक्षा गरिएको छ ।

पछिल्लो अध्यावधिक: फागुन २२, २०८२ १०:३५