‘पारिश्रमिक देऊ’ भन्दै पोस्टमा गरेको कमेन्ट जिम्मी निशम आफैँले हटाएः पोखरा एभेन्जर्स
फागुन २६, २०८२ १५:२०
काठमाडौँ । न्युजिल्यान्डका अलराउन्डर जिम्मी निशमले नेपाल प्रिमियर लिग (एनपीएल) को टोली पोखरा एभेन्जर्सको इन्स्टाग्राम पोस्टमा गरेको कमेन्ट हटाएका छन् । पोखरा एभेन्जर्सका प्रतिनिधिले टेकपानालाई ईमेलमार्फत जानकारी दिँदै निशमले उक्त कमेन्ट पोस्ट गरेको करिब २४ घण्टापछि आफैँले डिलिट गरेको बताएका हुन् ।
निशमले टिमको आधिकारिक पोस्टमा सार्वजनिक रूपमा पारिश्रमिक मागेको विषय बाहिरिएपछि सामाजिक सञ्जालमा व्यापक चर्चा भएको थियो । एभेन्जर्सले कमेन्ट हटाउनु निशमको व्यक्तिगत निर्णय हुनसक्ने बताएको छ । “उनले पोस्टमा कमेन्ट गरेका थिए र करिब २४ घण्टापछि आफैँले हटाएका छन् । यो व्यक्तिगत निर्णय वा खेलको नतिजापछि आएको निराशासँग सम्बन्धित हुन सक्छ,” क्लब पक्षले ईमेलमार्फत भनेको छ ।
क्लबले निशम तथा उनका प्रतिनिधिसँग निरन्तर सम्पर्कमा रहेको र आवश्यक औपचारिकताहरू समाधान गर्ने प्रक्रियामा प्रतिबद्ध रहेको पनि उल्लेख गरेको छ । यसअघि आइतबार सम्पन्न टी–२० विश्वकप फाइनलमा निशमको प्रदर्शनको प्रशंसा गर्दै पोखरा एभेन्जर्सले आफ्नो इन्स्टाग्राममा पोस्ट गरेको थियो ।
सोही पोस्टमा निशमले ‘पे योर प्लेयर्स’ भन्दै कमेन्ट गरेपछि सामाजिक सञ्जालमा टोलीको आलोचना सुरु भएको थियो । कमेन्ट सार्वजनिक भएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले पोखरा एभेन्जर्सलाई खेलाडीको पारिश्रमिक तुरुन्त भुक्तानी गर्न दबाब दिएका थिए । कतिपयले नेपाल क्रिकेट सङ्घ (क्यान) को समेत ध्यानाकर्षण गराएका थिए ।
पोखरा एभेन्जर्सका प्रतिनिधिले निशमको कमेन्टमाथि प्रकाशित समाचारहरूले टोली मात्र नभई, नेपाल प्रिमियर लिग र समग्र नेपाली क्रिकेटको प्रतिष्ठामा असर परेको बताएका छन् । त्यसैले घटनाको पछिल्लो अवस्था पनि सार्वजनिक गर्न आवश्यक रहेको उनीहरूको भनाइ छ ।
यस विषयमा पोखरा एभेन्जर्सले औपचारिक रूपमा निशमसँग सम्पर्क र समन्वय जारी रहेको जनाएको छ ।
पछिल्लो अध्यावधिक: फागुन २६, २०८२ १५:४५

