close

उपचारका लागि २४ घण्टामै डेढ करोड बढी खर्च जुटेपछि साम्बाको आग्रह- अब रकम नपठाउनुहोला

टेकपाना टेकपाना

फागुन १२, २०८२ १६:२०

उपचारका लागि २४ घण्टामै डेढ करोड बढी खर्च जुटेपछि साम्बाको आग्रह- अब रकम नपठाउनुहोला

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान साबित्रा भण्डारी (साम्बा) ले आफ्नो उपचारका लागि आवश्यक पर्ने सम्पूर्ण खर्च जुटेको भन्दै थप आर्थिक सहयोग नगर्न आग्रह गरेकी छन् । मङ्गलबार सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै उनले समर्थकले देखाएको अगाध माया र सहयोगप्रति आभारी प्रकट गरिन् ।

सोमबार फेसबुकमा एक पोस्ट राख्दै भण्डारीले आफ्नो खुट्टाको उपचारका लागि आर्थिक सहयोगको अपिल गरेकी थिइन् । पोस्ट राखेको २४ घण्टामै उपचारका लागि स्वदेश तथा विदेशबाट उल्लेख्य रकम सङ्कलन भएको छ । भण्डारीका अनुसार उनको नेपाली बैंक खातामा एक करोड रुपैयाँभन्दा बढी र विदेशी प्लेटफर्ममा ४५ लाख नेपाली रुपैयाँ (५२ हजार न्युजिल्यान्ड डलर) जम्मा भइसकेको छ ।

पर्याप्त रकम संकलन भएको जानकारी दिँदै उनले सामाजिक सञ्जालमा लेखेकी छन्, “मलाई प्रायोजन गर्नुहुने संस्था र अन्य नेपालका धेरै संघ-संस्थाले पनि नगद र सुविधा सहयोगको वाचा गर्नुभएको छ । यसले मेरो उपचार खर्च मात्र नभएर कतारमा उपचारका दौरान लाग्ने आवास र यातायात पनि पुग्ने देखिन्छ । त्यसैले म आजबाट नै दुवै अकाउन्टमा सहयोग रकम रोकिदिनुहुन अनुरोध गर्दछु ।”​

भण्डारी हाल आबद्ध रहेको न्युजिल्यान्डको क्लब वेलिङ्टन फिनिक्सले पनि उनको शल्यक्रिया र पुनःस्थापनाका लागि बीमा रकम निकासा गरी उपचारमा सहजीकरण गरिरहेको छ । कतारमा रहँदा त्यहाँका विभिन्न व्यक्ति तथा संस्थाले पनि सहयोगको वाचा गरेको उनले बताएकी छन् । छिट्टै शल्यक्रियाको मिति तय भएर प्रक्रिया अघि बढ्नेमा उनी विश्वस्त छिन् ।

“आज ‘धन्यवाद’ शब्द निकै सानो लागेको छ । पछिल्लो २४ घण्टामा मेरो उपचारका लागि जुन साथ, विश्वास र माया मैले पाएको छु, त्यो शब्दले वर्णन गर्न सक्दिनँ,” उनले लेखेकी छन्, “यो चोटले मलाई थकाएको थियो, तर तपाईंहरूको साथले म एक्लो छैन भन्ने विश्वास दिएको छ ।”

भण्डारीले समर्थकहरूको यो मायाको साँचो जवाफ आफ्नो पुनरागमन हुने बताएकी छन् । शल्यक्रिया र पुनर्स्थापनामा शतप्रतिशत मेहनत गर्ने वाचा गर्दै उनले दृढ संकल्पका साथ भनेकी छन्, “म अझ मजबुत भएर फर्कनेछु । पुनः नेपालको जर्सी लगाएर मैदानमा उत्रिनेछु । मेरो तर्फबाट ‘धन्यवाद’ मात्र पर्याप्त हुँदैन, तपाईंहरूको मायाको साँचो धन्यवाद भनेको मेरो पुनरागमन हुनेछ ।”

पछिल्लो अध्यावधिक: फागुन १२, २०८२ १६:४८