close

फ्याक्टचेक: रास्वपाले ७ सिट मात्र जित्ने ओलीको ‘भविष्यवाणी’ भनिएको भिडिओ भ्रामक, तीन वर्षअघि माओवादीबारे गरेका थिए टिप्पणी

रञ्जिता उप्रेती रञ्जिता उप्रेती

फागुन २६, २०८२ १६:५२

फ्याक्टचेक: रास्वपाले ७ सिट मात्र जित्ने ओलीको ‘भविष्यवाणी’ भनिएको भिडिओ भ्रामक, तीन वर्षअघि माओवादीबारे गरेका थिए टिप्पणी

काठमाडाैँ । हाल प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को प्रत्यक्षतर्फका १६५ निर्वाचन क्षेत्रमध्ये १६४ क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ । निर्वाचन आयोगको तथ्याङ्कअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १२५ स्थानमा जित हासिल गरेको छ । यसै क्रममा, जेनजी आन्दोलनअघि सत्तामा रहेको नेकपा एमालेले भने प्रत्यक्षतर्फ केवल ९ क्षेत्रमा मात्र जीत निकाल्न सकेको छ ।

मत परिणाम सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको एउटा भिडिओ क्लिप भाइरल भइरहेको छ । उक्त भिडिओमा ओलीले चुनावअघि रास्वपाले सात सिटमात्र पाउने दाबी गरेको भन्दै भ्रम फैलाइएको छ । ओलीको उक्त आँकलन रास्वपासँग नभई उल्टै एमालेसँग मेल खाएको भन्दै प्रयोगकर्ताहरूले उनलाई ट्रोलसमेत गरिरहेका छन् ।

तर, टेकपाना फ्याक्टचेक डेस्कको अनुसन्धानबाट ओलीले हालै सम्पन्न निर्वाचनमा रास्वपाको सिटका बारेमा भविष्यवाणी गरेको भन्ने दाबी भ्रामक रहेको देखिएको छ । वास्तवमा ओलीले २०७९ मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका बेला तत्कालीन नेकपा (माओवादी केन्द्र) ले सात सिट मात्र पाउने दाबी गर्दै कान्तिपुर टेलिभिजनलाई अन्तर्वार्ता दिएका थिए । सोही भिडिओलाई अहिले रास्वपाका बारेमा गरिएको टिप्पणी भन्दै भ्रामक रूपमा फैलाइएको हो ।

दाबी

‘The Digital Video’ नामको फेसबुक पेजले ७ मार्च राति ११:३६ मा केपी शर्मा ओलीको अन्तर्वार्ताको एक क्लिप सार्वजनिक गरेको छ । भिडिओको क्याप्सनमा लेखिएको छ, “केपी ओलीले पहिल्यै भनेका थिए, ७ सिट आउँछ भनेर” । 

भिडिओमा मतगणनाका क्रममा ४३ स्थानमा लिड गरिरहेको र ७९ मा जीत हासिल गरिसकेको देखिने ग्राफ राखिएको छ । जहाँ नेपाली काँग्रेस र नेकपा एमालेले सात-सात ठाउँमा अग्रता कायम गरेको देख्न सकिन्छ । उक्त ग्राफमा काँग्रेसले ११ स्थान र एमालेले पाँच स्थानमा जीत हासिल गरेको देख्न सकिन्छ । 

१८ सेकेन्ड लामो क्लिपमा ओलीले कुनै राजनीतिक दलले निर्वाचनमा सात सिट ल्याउन सक्ने आँकलन गरिरहेका छन् । भिडिओमा प्रश्नकर्ता र ओलीको कुराकानी सुन्न सकिन्छ । 

भिडिओमा सुन्न सकिन्छ: 

केपी ओली: मैले देख्दाखेरि सात सिट जति ल्याउला कि जस्तो लागेको छ । 

प्रश्नकर्ता: कति भन्नुभयो ?

ओली: सात 

प्रश्नकर्ता: जम्मा ?

ओली: थोरै हो सात भन्या? (हातको ‍औँला भाँच्दै उनले भनेका छन्) १, २, ३, ४, ५… (एउटा हातको) औँला सिद्धिए, ६, ७ । दुईटा थप्नुपर्छ अर्को हातको । कम त भएन नि त !”

उक्त भिडिओलाई यो सामग्री तयार गर्दासम्म १६ लाख भन्दा धेरै पटक हेरिएको छ । १५ हजार ५०० भन्दा धेरैले रियाक्ट गरेका छन् । एक हजारभन्दा धेरैले कमेन्ट र २२ सयभन्दा धेरैले शेयर गरेका छन् । कमेन्ट गर्नेमध्ये अधिकांश प्रयोगकर्ताले ओलीले रास्वपालाई नै लक्षित गरेको भन्दै आफ्ना प्रतिक्रिया दिएका छन् । हेर्नुहोस् ओरिजिनल भिडि‌ओ, रेकर्डेड भिडि‌‌ओ र स्क्रिनशट ।

  

 

                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                           अनुसन्धान 

“KP Oli Had Already Predicted This Seat 😭🙏” क्याप्सनसहित ८ मार्च, २०२६ साँझ ५:२२ मा ‘NEPHOP’ नामको फेसबुक पेजबाट ओलीको सोही भिडिओ पोस्ट भएको छ । तर, भिडिओमा कुन पार्टीको बारेमा ओलीले कहिले अनुमान गरेका थिए भन्ने बारेमा खुलाइएको छैन । 

उक्त भिडिओलाई यो सामग्री तयार पार्दासम्म दुई लाख २० हजार पटक हेरिएको छ भने तीन हजार ४०० भन्दा धेरैले रियाक्ट गरेका छन् । 

“रास्वपा गल्तीले जिते १००+ सिट, ७ ठाउँ मात्रै जित्नु पर्ने थियो - केपी ओली” क्याप्सनसहित ‘Prabindra Sharma’ नामका फेसबुक प्रयोगकर्ताले पनि सोही भिडिओ सार्वजनिक गरेको फेला पर्‍यो । ८ मार्च बिहान ८:०२ मा सार्वजनिक भएको उक्त भिडिओमा भनिएको छ, “एकचोटि हाम्रो बा’ले भनेको कुरा सुनम् न त ।” 

त्यसपछि ओलीको भाइरल क्लिप राखिएको छ । त्यसपछि भिडिओमा भनिएको छ, “सात सिट भन्नु भएको छ बाले । हैन बा म अहिले नतिजा हेर्दा  १०० सिट अलरेडी जिति सकेका छन् २५ सिटमा अझै अगाडी छन् । यसरी हेर्दा त १२५ सिट त प्रत्यक्ष तर्फ जित्दै छन् ।” हेर्नुहोस् भिडिओ र स्क्रिनशट । 

 

  

‘nepalinlast24hr’ नामको टिकटक अकाउन्टबाट पनि सोही भिडिओ राखिएको फेला पर्‍यो ।  ८ मार्चमा सार्वजनिक उक्त भिडिओलाई यो सामग्री तयार पार्दा सम्म १५ हजार ९०० भन्दा धेरैले लाइक गरेका छन् भने चार लाख ६७ हजार भन्दा धेरै पटक हेरिएको छ । 

क्याप्सनमा लेखिएको छ, “सामाजिक सञ्जालमा केपी ओलीको एउटा पुरानो भिडियो भाइरल भइरहेको छ, जसमा उनले निर्वाचनमा अन्य दलहरूले केही सिट मात्रै जित्ने भविष्यवाणी गरेका देखिन्छन् । तर हालको निर्वाचन परिणामअनुसार एमालेले अहिलेसम्म ७ सिट मात्र जितेको छ । त्यसैले धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले उक्त भविष्यवाणी व्यंग्यात्मक रूपमा आफ्नै पार्टीका लागि सत्य साबित भएको टिप्पणी गरिरहेका छन् ।” (अङ्ग्रेजीमा भएको स्टाटसलाई नेपालीमा रुपान्तरण गरिएको हो ।) उक्त भिडिओमा रास्वपाले १०२ सिट र एमालेले सात सिट पाएको डेटासमेत राखिएको छ । 

हेर्नुहोस् भिडिओ र स्क्रिनशट ।  

त्यसपछि हामीले ओलीको भाइरल भिडिओबाट विभिन्न स्क्रिनशट लिएर गुगल रिभर्स इमेज सर्च गर्‍यौँ । खोज्ने क्रममा भाइरल भिडिओमा केपी ‌ओलीले लगाएको कपडासँग मिल्ने कान्तिपुरको युट्युब च्यानलमा अन्तर्वार्ता फेला पर्‍यो । १७ नोभेम्बर २०२२ अर्थात् १ मंसिर २०७९ मा ‘निर्वाचन विशेष’ नामक कार्यक्रमका लागि कान्तिपुरले ओलीसँग लिएको “दलीय व्यवस्थाविरुद्ध स्वत:स्फूर्त देखिने संगठित अभियान चलाउन खोजिएको छ : केपी शर्मा ओली” शीर्षकको अन्तर्वार्ता युट्युबमा राखेको पाइयो ।

१ घण्टा १४ मिनेट लामो उक्त अन्तर्वार्ता पत्रकारद्वय सुधीर शर्मा र दुर्गा खनालले संयुक्त रूपमा लिएका छन् । 

अन्तर्वार्तामा सुधीर शर्माले प्रतिनिधि सभा निर्वाचन २०७९ मा यदि एमाले पहिलो पार्टी भएर दुई तिहाइ ल्याउन सफल नभएमा नेकपा एस (एकीकृत समाजवादी) र माओवादीसँग गठबन्धनको सम्भावना कस्तो छ भन्दै प्रश्न गरेका छन् । जवाफमा केपी ओलीले ०७९ को निर्वाचनमा नेकपा एस राष्ट्रिय दल नै बन्न नसक्ने दाबी गरेका छन् । यस्तै सो समयमा निर्वाचनका लागि काँग्रेससँग गठबन्धन गरेकाले माओवादीले सात सिटसम्म पाउने दाबी गरेका छन् । 

भिडिओमा यस्तो सुन्न सकिन्छ:

ओली : माओवादीले प्रत्यक्षमा... तपाईँहरूको आँकलन कति सिट ल्याउला भन्ने छ ?

सुधीर शर्मा : हामी खासै आँकलन त्यसरी गरिरहेका छैनौँ । तपाईँकै बरु सुन्न पाए सजिलो हुन्थ्यो ।

ओली : ए... माओवादीले काँग्रेसको समर्थनमा, मैले देख्दाखेरि सात सिट जति ल्याउला कि जस्तो लाग्छ ।

सुधीर शर्मा : कति भन्नुभयो ?

ओली : सात ।

सुधीर शर्मा: जम्मा ?

ओली: थोरै भो र सात भन्या ? १, २, ३, ४, ५ औँला सिद्धिए, ६, ७ । दुईटा थप्नुपर्छ अर्को हातको । कम त भएन नि त !

ओली: ल्याउनै नहुने हो... ल्याउनै नहुने हो, तैपनि अब केही केही ठाउँमा ल्याउन सक्छ ।

भिडिओको ४७:४३ मिनेटदेखि ४८:४७ सम्म माओवादीले २०७९ को निर्वाचनमा पाउने सम्भावना रहेको सिट सङ्ख्याको बारेमा बताएका छन् । सोही समयको क्लिपलाई नै हाल २०८२ सालको निर्वाचनमा ओलीले रास्वपाले ल्याउने सिट भन्दै पूर्वानुमान गरेको भनी भाइरल गराइएको हो । 

हेर्नुहोस् कान्तिपुरमा सार्वजनिक भएको अन्तर्वार्ता:

दाबी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ जम्मा ७ सिट मात्र जित्ने भविष्यवाणी गरेका थिए, तर परिणाम उल्टो आयो । 

दाबीकर्ता

‘The Digital Video’, ‘NEPHOP’, ‘Prabindra Sharma’ नामक फेसबुक पेजहरू, ‘nepalinlast24hr’ नामक टिकटक अकाउन्ट लगायतका सामाजिक सञ्जाल प्रयोगकर्ता । 

तथ्य 

भाइरल भिडिओ हालैको निर्वाचनको नभई २०७९ साल मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन भन्दा अगाडिको हो । १७ नोभेम्बर २०२२ (१ मंसिर २०७९) मा कान्तिपुरका पत्रकार सुधीर शर्मा र दुर्गा खनालले लिएको अन्तर्वार्तामा ओलीले उक्त अभिव्यक्ति दिएका थिए । 

अन्तर्वार्ताको पूर्ण अंश हेर्दा ओलीले रास्वपाको बारेमा नभई नेकपा माओवादी केन्द्रले सात सिट मात्र ल्याउन सक्ने दाबी गरेका थिए । सोही पुरानो भिडिओलाई अहिले रास्वपाको सफलता र एमालेको खुम्चिएको नतिजासँग जोडेर भ्रामक रूपमा भाइरल गराइएको हो । 

निष्कर्ष

केपी शर्मा ओलीले रास्वपाको सिट सङ्ख्याबारे भविष्यवाणी गरेको भन्दै भाइरल भइरहेको भिडिओ र दाबी भ्रामक छ । तत्कालीन माओवादी केन्द्रसँग सम्बन्धित पुरानो अन्तर्वार्तालाई अहिले रास्वपासँग जोडेर भ्रम फैलाइएको हो ।

 

प्रतिक्रिया

तपाईँले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुकइन्स्टाग्रामटिकटकएक्स, ​युट्युबलिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु सक्नुहुनेछ ।

पछिल्लो अध्यावधिक: फागुन २६, २०८२ १७:२८