close

फ्याक्टचेक: पृथ्वीसुब्बा गुरुङले एमालेलाई नसोधी रास्वपा सरकारले कुनैपनि निर्णय लिए आन्दोलनमा जाने भनेका छैनन्

रञ्जिता उप्रेती रञ्जिता उप्रेती

चैत १, २०८२ १७:८

फ्याक्टचेक: पृथ्वीसुब्बा गुरुङले एमालेलाई नसोधी रास्वपा सरकारले कुनैपनि निर्णय लिए आन्दोलनमा जाने भनेका छैनन्

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्व सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले एमालेलाई नसोधी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कुनै निर्णय गरे आन्दोलनमा जाने भन्दै दाबी गरिएका पोस्टहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । जसमा रास्वपाले सरकार सञ्चालन गर्ने समयमा एमालेलाई सोध्नुपर्ने गुरुङले बताएको दाबी गरिएको छ । 

तर, टेकपाना फ्याक्टचेक डेस्कको अनुसन्धानका क्रममा गुरुङले एमालेलाई नसोधी रास्वपा सरकारले कुनै पनि निर्णय लिएमा आन्दोलनमा जाने जस्तो अभिव्यक्ति दिएको प्रमाण भेटिएन । ७ मार्चमा मत गणना भइरहेको समयमा गुरुङले रास्वपाको दुई तिहाइ बहुमत आउने सम्भावना रहेको र त्यसले देशमा समस्या ल्याउन सक्ने अभिव्यक्ति दिएका थिए । पृथ्वीसुब्बा गुरुङले संविधान संशोधन र सङ्घीयता जस्ता राष्ट्रिय मुद्दाहरूमा राष्ट्रिय सहमति हुनुपर्ने, तर रास्वपाले बलजफती गरेमा समस्या आउने बताएकोमा उक्त भनाइलाई तोडमोड गरेर भ्रमपूर्ण पोस्ट गरेको पाइएको हो ।

दाबी

nayapusta.com’ नामक फेसबुक पेजबाट  १५ मार्च बिहान ९:२६ मा एमालेलाई नसोधी रास्वपाले कुनै निर्णय गरेमा आन्दोलनमा जाने पृथ्वीसुब्बा गुरुङले बताएको दाबीसहित एक पोस्ट सार्वजनिक भएको छ । उक्त पोस्टमा एमाले उपाध्यक्ष तथा पूर्व सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ र रास्वपाका वरिष्ठ नेता बालेन शाहको तस्बिर राखिएको छ । 

 

पोस्टको क्याप्सनमा लेखिएको छ, “एमालेलाई नसोधी रास्वपाले सरकारमा कुनै निर्णय लिए हामी आन्दोलनमा जान्छौँ : पृथ्वी सुब्बा गुरुङ” । जसमा नौ हजार ५०० बढि रियाक्सन, ३४ सय बढी कमेन्ट आइसकेको छ ।

हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ लिङ्क र स्क्रिनशट । 

 

 

अनुसन्धान

Uttam Dai नामक फेसबुक पेजले पनि सोही दाबी सहित पोस्ट गरेको फेला पर्‍यो । “एमालेलाई नसोधी रास्वपाले सरकारमा कुनै निर्णय लिए हामी आन्दोलनमा जान्छौँ : पृथ्वी सुब्बा गुरुङ” क्याप्सन सहित आइतबार बिहान १०:३७ मा उक्त पोस्ट सार्वजनिक भएको हो ।

हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ लिङ्क र स्क्रिनशट ।  

Online News Nepal नामक फेसबुक ग्रुपमा Som Nath Adhikari ले १४ मार्च (शनिबार) राति ८:०१ मा सोही दाबी सहित पोस्ट शेयर गरेका छन् । उक्त पोस्टमा लेखिएको छ, “एमालेलाई नसोधी रास्वपाले सरकारमा कुनै निर्णय लिए हामि आन्दोलनमा जान्छौँ : पृथ्वी सुब्बा गुरुङ”। 

हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ लिङ्क र स्क्रिनशट ।  

 

 

Tokuch Keto नामक फेसबुक प्रयोगकर्ताले 'Balen Shah बलेन शाह समर्थन ग्रुप' मा १४ मार्च (शनिबार) राति ६:२० मा सोही पोस्ट गरेको फेला पर्‍यो । उक्त पोस्टमा लेखिएको छ, “एमालेलाई नसोधी रास्वपाले सरकारमा कुनै निर्णय लिए हामि आन्दोलनमा जान्छौँ : पृथ्वी सुब्बा गुरुङ”। 

हेर्नुहोस् पोस्ट, आर्काइभ लिङ्क र स्क्रिनशट । 

 

‘Apil Tripathi-गण्डकी छड्के समर्थक ग्रुप’मा Sita Poudel ले १४ मार्च राति ९:४२ मा सोही पोस्ट राखेकी छिन् । पोस्टको क्याप्सनमा लेखिएको छ, “एमालेलाइ नसोधि कुनै निर्णय गरे रास्वपाले मुल्य चुकाउनु पर्छ- पृथ्वी सुब्बा गुरुङ 😮” । 

हेर्नुहोस् पोस्ट, आर्काइभ लिङ्क र स्क्रिनशट ।  

 

सामाजिक सञ्जालमा पृथ्वी सुब्बा गुरुङले एमालेको सहमति बिना रास्वपाले कुनै निर्णय लिएमा आन्दोलनमा जाने बताएको दाबी भाइरल भइरहेको पाइएपछि हामीले यससँग सम्बन्धित भिडिओ तथा समाचार सामग्री खोज्यौँ । 

‘एमाले रास्वपा सरकार आन्दोलन पृथ्वीसुब्बा’, ‘एमाले रास्वपा सरकार आन्दोलन’ ‘रास्वपा निर्णय एमाले आन्दोलन’, ‘पृथ्वीसुब्बा गुरुङ’ ‘prithvi subba gurung’ लगायतका किवर्ड राखेर विभिन्न सामाजिक सञ्जालका समाचार तथा भिडिओ खोज्यौँ । तर, रास्वपाले सरकारमा एमालेलाई नसोधी केही निर्णय गरेमा आन्दोलनमा जाने विषयमा पृथ्वीसुब्बा गुरुङले बोलेको दाबीलाई पुष्टि गर्न सक्ने कुनैपनि सामग्री फेला परेन । 

निर्वाचनमा १८३ सिट जितेर करिब दुई तिहाइ बहुमतको दल बनेको रास्वपाका बारेमा जेनजी प्रदर्शन अघि सत्तामा रहेको एमालेका उपाध्यक्षले उक्त टिप्पणी गरेको भएमा  मूलधारका मिडियाले समाचार प्रकाशन गर्नुपर्ने हो । तर, त्यस्तो भएको भेटिएन । 

त्यसपछि हामीले गुरुङका सामाजिक सञ्जाल अकाउन्टहरू केलायौँ । गुरुङको अन्तिम पोस्ट ८ मार्चमा गरेको देखियो । उक्त पोस्टमा उनले प्रतिनिधि सभा सदस्य निर्वाचनका समयमा आफ्नो पराजयलाई स्वीकार्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार धर्मराज केसीलाई बधाई दिएका छन् । 

त्यसपछि हामीले पृथ्वीसुब्बा गुरुङले पछिल्ला कुनै अन्तर्वार्ताका बिचमा उक्त टिप्पणी गरेको हुनसक्ने आशंका गर्दै   ‘पृथ्वीसुब्बा गुरुङ’ ‘prithvi subba gurung’ किवर्ड राखेर फेसबुक, युट्युब तथा गुगलमा सर्च गर्‍यौँ । खोज्ने क्रममा ७ मार्चमा पृथ्वीसुब्बा गुरुङले दिएको एक अन्तर्वार्ता भेटियो । 

७ मार्चमा निर्वाचनको मत गणना भइरहेको थियो । उक्त समयमा गुरुङले सञ्चारकर्मीहरूसँग कुरा गर्दै रास्वपाको दुई तिहाइ बहुमत आउने सम्भावना रहेको र मुलुकका लागि समस्या हुन सक्ने बताएका छन् । रास्वपाले संविधान कार्यान्वयनको पक्षमा विचार पुर्‍याउनुपर्ने उल्लेख गर्दै उनले संविधान संशोधन, सङ्घीयता, समावेशी र समानुपातिक निर्वाचन प्रणालीका बारेमा निर्णय गर्दा बलजफती नगरेर राष्ट्रिय सहमतिको आधारमा गर्नुपर्नेमा जोड दिएका छन् ।

७ मार्च ३:५० मा eKantipur ले गुरुङको उक्त भनाइ सार्वजनिक गरेको छ । भिडिओको क्याप्सनमा लेखिएको छ, “नेकपा एमाले उपाध्यक्ष एवम प्रतिनिधि सभा सदस्य उम्मेदवार पृथ्वीसुब्बा गुरुङको प्रतिकृया Reaction of CPN-UML Vice Chairperson and House of Representatives candidate Prithvi Subba Gurung. भिडियो : आश गुरुङ, लमजुङ” 

हेर्नुहोस् पुरा भिडिओ

कान्तिपुरमा सार्वजनिक भएको भिडिओमा गुरुङले यस्तो भनेको सुन्न सकिन्छ: 

"प्रत्येक निर्वाचनमा, हरेक निर्वाचनको एउटा आफ्नो एजेन्डा हुन्छ नि । राष्ट्रियताको एजेन्डा हुन्छ, विकासको एजेन्डा हुन्छ, सुशासनको एजेन्डा हुन्छ । हाम्रो संविधान सम्बन्धी हाम्रो कयौँ टिप्पणीहरू छन्, संविधान संशोधन या हाम्रो सङ्घीय शासन प्रणाली प्रतिको हाम्रो प्रतिबद्धता, त्यसको कार्यान्वयन अभ्यासमा चाहिँ देखापरेका समस्याहरूको समाधान गर्ने कुरा कहीँ पनि उठेन । हामीले त आफ्नो ठाउँबाट केही न केही भन्यौँ। यो निर्वाचनमा राष्ट्रले जित्नुपर्छ, देशले जित्नुपर्छ, नेपालीले जित्नुपर्छ । अनि मात्र नेपालीको चाहिँ जित हुन्छ भनेर भनेको थियो । त्यो कुराको सुनुवाइ भएजस्तो मलाई लागेन ।

दोस्रो कुरा चाहिँ विकासको एजेन्डा के हो भनेर । विकासको एजेन्डा या समस्या समाधानको एजेन्डा कसैसँग छ भने हामीसँग थियो । तर, हाम्रो त्यो कुराको पनि सुनुवाइ भएन । जनताले किन त्यसो गर्‍यो । अब विकास यो चाहिँ तपाईको सुशासन या राष्ट्रियता या चाहिँ लोकतन्त्र या सङ्घीयता यो कुनै एजेन्डामा नै कसैको चाहिँ कुनै छलफल या त्यसमा त्यसको बारेमा कुनै ठोस निर्णय गर्नुपर्ने त्यस्तो केही देखिएन क्या । नयाँ भएपछि पुग्यो । नयाँ भएपछि पुग्यो । नयाँ भएपछि नयाँ नै भएपछि । त्यसकारणले यो निर्वाचनले अब पछिल्लो दिनमा केही न केही समस्या निम्त्याउँछ भन्ने मलाई लाग्छ ।

यद्यपि उहाँ(रास्वपा)हरूको दुई तिहाइ बहुमत आउन सक्ने देखिन्छ, तर त्यो नै हाम्रो मुलुकका लागि समस्या हुन सक्छ भोलि । त्यसमा उहाँहरूले चाहिँ सुझबुझपूर्ण ढङ्गले संविधान कार्यान्वयनको चाहिँ पक्षमा, राष्ट्रियताको पक्षमा र यो संविधान संशोधन गरेर यो सहित उहाँको चाहिँ प्रतिबद्धता अब आउन जरुरी छ । सङ्घीयता उहाँले खारेज गर्न खोजेको हो कि होइन ? या समावेशी निर्वाचन प्रणाली, समानुपातिक निर्वाचन प्रणालीको बारेमा उहाँहरूको धारणा के हो ? त्यो सबैलाई त्यो राष्ट्रिय सहमतिको आधारमा बाहेक त्यो कुराहरूमा बलजफती गर्न खोजियो भने मुलुकमा फेरि अर्को द्वन्द्व सुरु हुन्छ । त्यसकारणले यसमा चाहिँ सबै दलहरूको सहमतिका आधारमा मात्रै निर्णय गर्दा खेरि उपयुक्त हुन्छ ।"

सोही भिडिओलाई TV Annapurna फेसबुक पेजले ‘राष्ट्रिय सहमतिबिना बलजफ्ती गर्न खोजियो भने मुलुकमा फेरि अर्को द्वन्द्व सुरु हुन्छ : पृथ्वीसुब्बा गुरुङ’ भन्दै ७ मार्चको मितिमा राखेको छ । त्यस्तै Janata Times नामक अर्को पेजले ‘चुनावी परिणामबारे एमाले उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङको कठोर टिप्पणी : रास्वपा तीन कुरामा स्पष्ट हुनुपर्छ, बलजफ्ती गरे प्रतिकार हुन्छ’ शीर्षकमा सो भिडिओ पोस्ट गरेको छ । 

दाबी

नेकपा एमालेका उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले ‘एमालेलाई नसोधी रास्वपाले सरकारमा कुनै निर्णय लिए हामी आन्दोलनमा जान्छौँ’ भने । 

दाबीकर्ता 

‘nayapusta.com’, ‘Uttam Dai’ जस्ता फेसबुक पेजहरू तथा ‘Som Nath Adhikari’, ‘Tokuch Keto’, ‘Sita Poudel’ लगायतका सामाजिक सञ्जाल प्रयोगकर्ता । 

 तथ्य 

पृथ्वीसुब्बा गुरुङले दाबी गरिएजस्तो अभिव्यक्ति दिएको कुरा कुनै पनि मूलधारका सञ्चारमाध्यमले समाचार बनाएका छैनन् । साथै उनको आधिकारिक सामाजिक सञ्जालमा पनि यस्तो कुनै भनाइ भेटिँदैन । यद्यपि ७ मार्चमा सार्वजनिक भिडिओ अन्तर्वार्तामा गुरुङले रास्वपाको दुई तिहाइ बहुमत आउने सम्भावना रहेको र त्यसले देशमा समस्या ल्याउन सक्ने अभिव्यक्ति भने दिएका छन् ।  

भिडिओमा उनले संविधान संशोधन, सङ्घीयता र समावेशी/समानुपातिक निर्वाचन प्रणाली जस्ता गम्भीर विषयहरूमा निर्णय गर्दा  राष्ट्रिय सहमति आवश्यक पर्ने बताएका छन् । उनले सहमतिको आधारमा बाहेक बलजफती गर्न खोजियो भने ‘मुलुकमा फेरि अर्को द्वन्द्व सुरु हुन्छ’ भनेर चेतावनी दिएका छन् । तर, उनले कतै पनि ‘एमालेलाई नसोधी निर्णय गरे आन्दोलनमा जान्छौँ’ भन्ने अभिव्यक्ति भने दिएका छैनन् ।

निष्कर्ष  

सामाजिक सञ्जालमा भाइरल भइरहेको दाबी भ्रामक हो । पृथ्वीसुब्बा गुरुङले संविधान संशोधन र सङ्घीयता जस्ता राष्ट्रिय मुद्दाहरूमा  राष्ट्रिय सहमति हुनुपर्ने धारणा राखेका हुन् । उनको सोही भनाइलाई तोडमोड गरेर 'एमालेलाई नसोधी निर्णय गरे आन्दोलन गर्ने' भनी भ्रामक क्याप्सनका साथ प्रचार गरिएको हो ।

 

प्रतिक्रिया

तपाईँले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, ​युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु सक्नुहुनेछ ।

 

पछिल्लो अध्यावधिक: चैत १, २०८२ १७:८