close

‘SheLovesFlowersThanMe’ भन्दै टिकटकमा गुराँस चुँड्ने होडबाजी, भाइरल मोहले प्रकृतिको दोहन

हिक्मत आचार्य हिक्मत आचार्य

चैत ४, २०८२ १९:१२

‘SheLovesFlowersThanMe’ भन्दै टिकटकमा गुराँस चुँड्ने होडबाजी, भाइरल मोहले प्रकृतिको दोहन

काठमाडौँ । वसन्त ऋतुको आगमनसँगै नेपालका डाँडापाखा मगमगाइरहेका छन् । हिउँदको उराठलाग्दो समय पार गरेर प्रकृतिले नयाँ पालुवा फेर्दै गर्दा पहाडी अनि हिमाली भेगका वन ढकमक्क फुलेका रङ्गीचङ्गी लालीगुराँसले सजिएका छन् । पृष्ठभूमिमा टलक्क टल्किएका सेता हिमाल र त्यसको ठीक तल रातो रङ लतपतिएर सजिएका गुराँसका वनले जोकोहीको पनि मन लोभ्याउँछ।

तर, प्रकृतिको यो अनुपम सुन्दरतालाई धूमिल पारी यसको अस्तित्वमै प्रहार गर्न पछिल्लो समय सामाजिक सञ्जालमा भद्दा ट्रेन्डले चर्चा पाएको छ । टिकटकमा भाइरल हुने मोहमा परेर युवापुस्ताले गुराँसका हाँगा नै भाँच्ने र फूल नष्ट गर्ने होडबाजी चलाएका छन् ।

अहिले टिकटकमा चलेको त्यो भद्दा ट्रेन्ड हो- ‘पीओभीः शि लभ्स् फ्लावर्स द्यान मि’ (POV: She loves flowers than me) अर्थात् ‘मभन्दा बढी उनलाई फूल मनपरेपछि ।’ आफ्नो मायालुलाई फूल मनपर्छ भन्दैमा लटरम्म फुलेका गुराँसका हाँगा नै अङ्गालोभरि भाँचेर ल्याउने र त्यही बोकेर भिडिओ बनाउने विकृतिले नेपाली टिकटक प्रयोगकर्तालाई छोएको छ । भिडिओ अपलोड गरेपछि आउने लाइक र भ्युजको लोभमा प्रयोगकर्ताले प्रकृतिको विनाश गरिरहेका छन् ।

भाइरल हुने नाममा रुख नै रित्याउने विकृति

टिकटकमा यस्ता भिडिओको बाढी नै आएको छ । ‘She loves flowers than me’ कीवर्ड सर्च गर्ने हो भने यस्ता सयौं भिडिओ भेटिन्छन् । त्यहीमध्येका एक हुन् टिकटकमा ‘Neesal.21’ नाम भएका प्रयोगकर्ता । उनले २ फेब्रुअरीमा एउटा भिडिओ पोस्ट गरे । भिडिओको क्याप्सनमा ‘Pov: she love flowers, then me’ लेखिएको छ । भिडिओमा उनको हातभरि चुँडालेका गुराँसका थुङ्गा छन् । केही फूल कानमा सजाएका छन् भने केही पकेटमा राखेका छन् । प्रकृतिको दोहन गरिएको यो भिडिओमा ३५ हजारभन्दा बढी लाइक आएको छ ।

त्यस्तै आयुष लामा योञ्जन नामका प्रयोगकर्ताले ६ मार्चमा अर्को भिडिओ राखेका छन् । भिडिओमा उनी गुराँसको रुखमै चढेर ठुलो हाँगा भाँच्छन् । ठुलै जित हात पारेको स्वाग पार्दै उनी त्यही हाँगा काँधमा राखेर लैजाँदै गरेको दृश्य कैद गरी भिडिओ अपलोड गरेका छन् । उक्त भिडिओमा नकारात्मक कमेन्ट आउन थालेपछि उनले ती कमेन्ट नै हटाएर अरूलाई कमेन्ट गर्नै नमिल्ने बनाए । उक्त भिडिओमा पनि ३५ हजारभन्दा बढी लाइक छ ।

अस्मिता मगर नामकी प्रयोगकर्ताले पनि सोही क्याप्सन लेख्दै गुराँसको रुखका डाँली काट्दै गरेको भिडिओ राखेकी छिन् । झण्डै चार हजार लाइक आएको सो भिडिओमा उनी ती गुराँसका हाँगा बोकेर भिडिओ सुट गरिरहेकी देखिन्छिन् र अन्तिममा पोज दिँदै भिडिओ टुङ्ग्याउँछिन् । टिकटक प्रयोगकर्ता ‘Mr. Chhettri’ पनि यस ट्रेन्डमा अछुतो रहेनन् । रुखमा चढी ठुलो डाँली नै भाँचेर उनले भिडिओ बनाएका छन् । १६ हजारभन्दा बढी लाइक भएको उक्त भिडिओमा अधिकांशले यो काम गलत भएको भन्दै चर्को त्यस कार्यको विरोध जनाएका छन् । तर, यी प्रयोगकर्ताले गुराँसका डाँली चुँडालेर अन्य टिकटक भिडिओ पनि बनाउन छाडेका भने छैनन् ।

प्रमिला मगर नामकी टिकटकरले पनि उही शैली दोहोर्‍याइन् । अधिकांश नकारात्मक कमेन्ट आउन थालेपछि उनले पनि सबै डिलिट गर्दै कमेन्ट नै गर्न नमिल्ने बनाएकी छिन् । उनको भिडिओले १८ हजार बढी लाइक पाएको छ । यसैगरी, दीपेन्द्र बुढा मगरले झन्डै ६ हजार लाइक बटुल्न गुराँस चुँडालेका छन् भने टिकटकर सचिन खड्काले मनोरञ्जनका लागि हाँगा चुँडालेर १९ हजार बढी लाइक पाएका छन् । रोशन रेग्मी नामका प्रयोगकर्ताले त्यसरी नै गुराँस चुँडालेर ज्याकेटभित्र राखी त्यही ट्रेन्ड पछ्याएका छन् । अहिले यो ट्रेन्ड पछ्याउने नाममा यसरी गुराँसका हाँगा चुँडालेर भिडिओ बनाउने अन्य सयौँ नेपाली प्रयोगकर्ता सक्रिय छन् ।

विनाशकारी ट्रेन्डका विषयमा सामाजिक सञ्जालमा चर्को आक्रोश

टिकटकमा यस्ता भिडिओ भाइरल भए पनि अधिकांश भ्युअर्सले यसको निन्दा गरेका छन् । भिडिओको कमेन्ट बक्समा मानिसले प्रकृतिको दोहन गरेको भन्दै आक्रोशित भावमा चिन्ता व्यक्त गरेका छन् ।

प्रयोगकर्ताले प्रकृतिको सौन्दर्यलाई त्यहीँ छाडिदिन अपिल गर्दै लेखेका छन्, "प्रकृतिको सुन्दरतालाई त्यस्तै छाडिदिनुस्, ऊ प्रकृतिमै सुन्दर देखिन्छ नि ।” अर्का प्रयोगकर्ताले महाकवी लक्ष्मीप्रसाद देवकोटको कविताका पङ्क्ति “नटिप्नु हेर कोपिला, नचुँड्नु पाप लाग्दछ । नच्यात्नु फूल नानी हो, दया र धर्म भाग्दछ’ लेख्दै स्मरण गराएका छन् । 

धेरैले फूल बोटमै राम्रो देखिने भन्दै हाँगा भाँचेर ल्याउनुको औचित्यमाथि प्रश्न उठाएका छन् । एक जनाले वनविज्ञानको विद्यार्थीले त्यहीमध्येका एक भिडिओमा लेखेका छन्, “फरेस्ट्री पढेको भएर होला, यस्तो देख्दा कस्तो मनै कटक्क खाने । फूल मन पर्छ भन्दैमा यसरी पूरै हाँगा नकाटिदिनुहोला ।” अर्का प्रयोगकर्ताले राष्ट्रिय फूलको संरक्षण गर्नुपर्नेमा जोड दिँदै भनेका छन्, “यो राम्रो होइन, हामीले हाम्रो राष्ट्रिय फूलको संरक्षण गर्नुपर्छ, यसलाई नष्ट गर्ने होइन ।”

देशको पर्यटन र अर्थतन्त्रसँग जोडेर एक प्रयोगकर्ताले आक्रोश पोखेका छन्, “अहिले नेपालको बेरोजगारी केही युवाहरूलाई गुराँस भाँचेर नाश गर्ने ट्रेन्ड चलेको रहेछ । देश विदेशबाट कति पैसा खर्च गरेर पर्यटक गुराँस हेरेर रमाउन आउँछन् । राष्ट्रिय जनावर गाई मारे सजाय हुन्छ भने राष्ट्रिय फूल गुराँस नाश गर्नेलाई कारबाही गर्नु पर्‍यो । यो सन्देश ती अशिक्षित अराजकका लागि हो ।”

यसैगरी गुराँसको पारिस्थितिक महत्त्व दर्शाउँदै केही अडियन्सले कमेन्ट गरेका छन्, “गुराँस टिप्दा अर्को वर्ष राम्रोसँग फुल्न सक्दैन र आगामी वर्षमा फूल कम हुँदै जान सक्छ ।” एक प्रयोगकर्ताले आक्रोशित भावमा लेखेका छन्, “के हो भाइ यसरी गुराँस टिप्न पाइन्छ ? अब बर्खामा आएर जति गुराँस टिपेको छौ, त्यति गुराँसको बोट रोप्नु ल !”

अरू थुप्रै कमेन्टमा प्रयोगकर्ताहरूले भनेका छन्, “यसरी फूलको अधिकार हनन गर्न त भएन नि ?”, “हजुर त अगाडि जानुभयो सबै टिप्नुभयो, भोलि जानेले के हेर्ने ? त्यो फूल रुखमा भएको भए २५/३० दिन रहन्थ्यो ।” कसैले व्यंग्य गर्दै लेखेका छन्, “आफूले देश सजाउन नसक्ने, अनि प्रकृतिले सजाएको फूल चुँडेर फाल्ने दरिद्र नबने पनि हुने । जसको लागि यो फूल टिपेर एउटा रुखलाई खाली बनाएका छौ नि, त्यसले पनि कुनै दिन तिमीलाई छोडेर खाली बनाउँछ ।”

“माया मोह सब भ्रम हो, फूल मन पराउने मान्छेले यसरी हाँगा नै भाँचेर लगिदियो भने झन् रिसाउँछिन् । बरु फूलको बिरुवा दिएको भए सय गुणा खुसी हुन्थिन्,” एक प्रयोगकर्ताले सुझाव दिएका छन् । त्यस्तै अर्काले भनेका छन्, “लाइक र भ्युजको लागि प्राकृतिक सौन्दर्यता नाश नगरौँ । यदि तिम्री प्रेमिकालाई फूल मनपर्छ भने उसका लागि बगैँचा बनाइदेऊ । एक वर्षमा एकचोटि फुल्ने फूललाई यसरी वेस्ट नगरौँ ।”

धेरैले यो कार्यलाई विनाश प्रवृत्तिको संज्ञा दिँदै भनेका छन्, “राम्रो गरेछौ, त्यो रुख नै काटेर अर्को वर्ष रुखको बोक्रा दिनु, फूल त फुल्दैन होला ।” संरक्षणप्रेमी सामाजिक सञ्जाल प्रयोगकर्ताले बीउ उत्पादन र पुनरुत्पादनको कुरा उठाउँदै हाँगा नभाँच्न र अरूलाई पनि निरुत्साहित गर्न अपिल गरेका छन् । एक जनाले व्यंग्य गर्दै लेखेका छन्, “हेर हेर विश्वयुद्ध जितेर आको जस्तो, अब अर्को वर्ष त चाहिँदैन हो साथी फूल ? कि भुइँमै फुल्छ, बोट त भाँचेरै सक्यो क्यारे !”

‘हाँगा भाँच्दा रुख नै सुक्छ, यो पारिस्थितिक प्रणालीमाथिको प्रहार हो’

यस विषयमा त्रिभुवन विश्वविद्यालयका वनस्पति विज्ञान, जैविक विविधता, एथ्नोबोटानी तथा हिमाली पारिस्थितिकीका विज्ञ डा. रामप्रसाद चौधरी चिन्ता व्यक्त गर्छन् । उनी भन्छन्, “गुराँस हिमाली भेगको प्रजाति हो । नेपालमा झन्डै ३० भन्दा बढी प्रजातिका गुराँसहरू भेटिन्छन् । कुनै पनि प्रजाति हिमाली क्षेत्रमा हुर्कन र सप्लिन निकै लामो समय लाग्छ किनभने त्यहाँको हावापानी एकदमै कठोर हुन्छ ।”

लालीगुराँस नेपालको राष्ट्रिय फूल मात्र नभई, विश्वमै एक सुन्दर वनस्पतिका रूपमा चिनिन्छ । डा. चौधरीका अनुसार १८औँ/१९औँ शताब्दीमा जब ब्रिटिस इस्ट इन्डिया कम्पनीका मानिस यस क्षेत्रमा आए उनीहरूले यहाँका सुन्दर फूलको चित्र बनाएका थिए जसमा गुराँस प्रमुख थियो । “यति धेरै समय लगाएर हुर्कने रुखलाई काटिहाल्नु वा हाँगा भाँच्नु एकदमै अनुचित हो,” उनी भन्छन् ।

गुराँसको महत्त्व सुन्दरतामा मात्र सीमित छैन । यसको परम्परागत र औषधीय महत्त्व पनि उत्तिकै छ । डा. चौधरीका अनुसार चेपाङ र राउटे समुदायले गुराँसको फूललाई नुन र खुर्सानीसँग मिसाएर खाने गरेका छन् । त्यस्तै औषधीय गुणको कुरा गर्दा गुराँसको बोक्राको जुसले झाडापखला र आउँ निको हुने उनी बताउँछन् । पश्चिम हिमाल विशेषगरी नेपालको दार्चुला र भारतको उत्तराखण्डतिर गुराँसको जुस निकालेर ‘बुराँस’ वा ‘बुरा’ भनी पिउने चलन छ । यसले वाकवाकी (भोमिट) रोक्न मद्दत गर्ने र घाँटीमा माछाको काँडा अड्किएको बेला जुस खाँदा काँडा निस्कने जनविश्वास र अभ्यास रहेको डा. चौधरी सुनाउँछन् । 

पारिस्थितिक प्रणालीमा गुराँसको भूमिका निकै महत्त्वपूर्ण छ । “गुराँसको जङ्गलले जमिनमा पानी होल्ड गर्ने क्षमता बढाउँछ । तर अहिले जलवायु परिवर्तनका कारण गुराँस आफ्नो समयभन्दा पहिल्यै फुल्न थालेको छ । अप्रिलमा फुल्नुपर्ने फूल अहिल्यै (फेब्रुअरी/मार्च) फुलिरहेको छ,” डा. चौधरी भन्छन्, “यसले गर्दा फूललाई परागसेचन गर्न आउने माहुरी र अन्य किराहरूको समयतालिका मिल्दैन । किराहरू आफ्नो निश्चित महिनामा आउँछन् । तर फूल पहिल्यै फुलेर झरिसकेको हुन्छ । यसले गर्दा बीउ उत्पादन र फूलको मात्रा कम हुँदै गएको छ ।”

एकातिर जलवायु परिवर्तनको असर अर्कोतिर दाउराको अभावमा मानिसहरूले यसलाई काट्ने प्रवृत्ति र त्यसमाथि अहिले टिकटकमा भाइरल हुन हाँगा नै भाँच्ने होडबाजीले गुराँस सङ्कटमा परेको छ । डा. चौधरी अगाडि भन्छन्, “यसरी हाँगा भाँच्दा रुखको बोक्रा ताछिएर रुख नै सुक्ने जोखिम एकदमै धेरै हुन्छ । फूल बोटमै राम्रो देखिन्छ । वाहवाही कमाउने यो कल्चर गलत छ । यसलाई रोक्न परिवार र समाजबाटै नैतिक शिक्षा दिनु जरुरी छ । मानिसहरूले यसलाई गम्भीर रूपमा लिएर बचाउनैपर्छ ।”

‘निकुञ्ज र संरक्षित क्षेत्रभित्र यस्तो गरे कानुनबमोजिम कारबाही हुन्छ’

गुराँस चुँड्ने यो भाइरल ट्रेन्डको विषयमा सगरमाथा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत एवम् सूचना अधिकारी विवेक बैजुले यस्तो कार्य गैरकानुनी भएको बताएका छन् । “कुनै पनि निकुञ्ज वा संरक्षित क्षेत्रभित्र वनस्पति र वन्यजन्तुलाई हानि पुर्‍याउने, टिप्ने वा चलाउने कार्य गर्न पाइँदैन । यो निकुञ्जको नियमविपरीतको काम हो,” उनले भने ।

भिडिओमा ठ्याक्कै कुन ठाउँ हो भनेर नखुले पनि हिमाली र पहाडी ट्रेकिङ रुटमा यस्तो विकृति देखिएको हुन सक्ने उनको भनाइ छ ।
“हाम्रा गस्ती (पेट्रोलिङ) टोली बिहानदेखि बेलुकासम्म, विशेषगरी ट्रेकिङको हाइ-पिक समयमा हरेक पोस्टमा खटिएका हुन्छन् । मध्यवर्ती क्षेत्रदेखि निकुञ्ज भित्रसम्म यदि कसैले अनधिकृत रूपमा यस्तो कार्य गरेको भेटियो भने हामी समातेर निकुञ्जको जिम्मा लगाउँछौँ र कारबाही गर्छौँ,” अधिकृत बैजुले भने ।

वनस्पति विभागले यसको अनुसन्धान र संरक्षणको पाटो हेर्ने भए तापनि प्राकृतिक स्रोतसाधनको जथाभाबी दोहन गर्न कसैलाई पनि छुट नभएको उनले बताए । “अनुमतिविना रिसर्च बेसमा पनि बिरुवा चलाउन पाइँदैन । यो विषयमा जानकारी पाएपछि हामी हाम्रा सबै पोस्टमा यसबारे सर्कुलर जारी गर्छौँ र निगरानी अझ कडा बनाउँछौँ,” उनले भने ।

संकटमा लालीगुराँसः संरक्षण किन जरुरी छ ?

भाइरल हुने मोहले लालीगुराँस चुड्ने ट्रेन्ड नै चलेपछि यो विरुवा पाइने क्षेत्रका विभिन्न निकायले सचेतना अभियान नै चलाएका छन् । म्याग्दी जिल्लामा रहेको ‘घोरेपानी होटल व्यवस्थापन समिति’ले बोर्ड राख्दै जरिवाना तिराउने चेतावनी दिएको छ । लालीगुराँस नटिप्न सुझाव दिंदै टिपेको पाइएमा पाँच हजार रुपैयाँ जरिवाना लाग्ने बोर्डमा उल्लेख छ । 

नेपाल सरकार, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, राष्ट्रिय प्रकृति संरक्षण कोष, वन्यजन्तु सप्ताह २०८१ अभियान लगायतले सहकार्य गरी सचेतना सन्देश उल्लेख भएको बोर्ड नै राखेका छन् । बोर्डमा लेखिएको छ, “लालीगुराँस नेपालको राष्ट्रिय फूल मात्र होइन, यो हाम्रो गौरव र पहिचान पनि हो । समुन्द्री सतहभन्दा १२०० देखि ३६०० मिटरसम्मको उचाइमा पाइने यो पतझड वनस्पति सामान्यतया माघ र फागुन महिनामा फुल्ने गर्छ। तर पछिल्लो समय यो गम्भीर संकटमा पर्दै गएको छ ।”

बोर्डमा अगाडि लेखिएको छ, “लालीगुराँस छिटो हुर्कन नसक्ने प्रजाति हो । हिमाली भेगमा दाउराका रूपमा यसको अत्यधिक प्रयोग, वर्षेनी लाग्ने वन डढेलो, जलवायु परिवर्तन र त्यसमाथि मानिसले जथाभाबी फूल र हाँगा टिप्ने गरेका कारण यसको अस्तित्व नै लोप हुने अवस्थामा पुगेको छ ।”

“मध्य पहाडी तथा हिमाली पारिस्थितिकीय प्रणालीलाई सन्तुलनमा राख्न लालीगुराँसको ठूलो भूमिका हुन्छ । यसले माटोको चिस्यान जोगाउनुका साथै विभिन्न प्रजातिका चराचुरुङ्गीहरूको मुख्य आहारका रूपमा काम गर्छ । त्यति मात्र नभई गुराँस फुल्ने मौसममा स्वदेशी तथा विदेशी पर्यटकहरू आकर्षित हुने भएकाले यसले स्थानीय पर्यटन व्यवसाय र अर्थतन्त्रलाई समेत ठूलो टेवा पुर्‍याइरहेको छ ।”

क्षणिक मनोरञ्जन, केही हजार लाइक र टिकटकमा भाइरल हुने नाममा वर्षौँ लगाएर हुर्किएको र वर्षमा एकपटक मात्र फुल्ने गुराँसको हाँगा भाँच्नु प्रकृतिको चीरहरण गर्नु सरह भन्दै विभिन्न निकायले आवाज उठाएका छन् ।

पछिल्लो अध्यावधिक: चैत ४, २०८२ १९:१२