फ्याक्टचेकः नझुक्किनुस् ! शिक्षामन्त्री पोखरेलले बोर्डिङ स्कुल खारेज गर्ने भनेका छैनन्, भाइरल पोस्ट फेक हुन्
चैत १४, २०८२ १०:४६
काठमाडौँ । सामाजिक सञ्जाल फेसबुकमा नवनियुक्त शिक्षामन्त्री सस्मित पोखरेलले बोर्डिङ स्कुल (निजी विद्यालय) खारेज गर्ने बताएको दाबीसहितका पोस्ट भाइरल भइरहेका छन् । शुक्रबार बालेन्द्र शाह (बालेन) नेतृत्वमा बनेको सरकारका शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री पोखरेलले पदबहाली गरेलगत्तै प्राइभेट बोर्डिङ स्कुल खारेज गर्ने बताएको दाबी त्यसमा गरिएको छ ।
तर, टेकपाना फ्याक्टचेक डेस्कले गरेको तथ्यजाँचबाट उक्त दाबी भ्रामक पुष्टि भएको छ । शिक्षामन्त्री पोखरेलले बोर्डिङ स्कुल खारेज गर्ने भनेका होइनन् । उनले निजी विद्यालयलाई थप व्यवस्थित गर्ने बताएका थिए । उनको भनाइ तोडमोड गर्दै बोर्डिङ स्कुल नै खारेज गर्न लागेको भन्दै भ्रामक सूचना फैलाइएको हो ।
दाबी
‘Sachet Khabar सचेत खबर’ नामको फेसबुक पेजले २७ मार्च २०२६ दिउसो ४ः०९ बजे एक पोस्ट राख्यो । पोस्टको क्याप्सनमा लेखिएको छ, “शिक्षामन्त्री सस्मित पोखरेलले शपथ खाए लगत्तै प्राइभेट बोर्डिङ स्कूलहरुले गरिब जनता लुटिरहेकोले त्यस्ता बोर्डिङहरुलाई तत्काल खारेज गरी सरकारी स्कुलनै राम्रो बनाउने नीति ल्याउने भएका छन।” त्यसमा प्रयोग गरिएको पोस्टरमा शिक्षामन्त्री पोखेरेलको फोटो राखिएको छ भने तलपट्टि लेखिएको छ, “प्राइभेट बोर्डिङ खारेज गर्दै शिक्षामन्त्री ।”
यो सामग्री तयार पार्दासम्म उक्त पोस्टमा १४ हजार बढी रियाक्सन र दुई हजार बढी कमेन्ट आएका छन् भने उक्त पोस्टलाई ४९२ पटक शेयर गरिएको छ । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।

अनुसन्धान
टेकपाना फ्याक्टचेक डेस्कले यसबारे थप विवरण खोज्न गुगलमा रिभर्स इमेज सर्च गर्दा ‘Khabar Bulletin Tv’ नामको फेसबुक पेजले सोही प्रकृतिको पोस्ट राखेको फेला पर्यो । यस पेजले त्यही फोटोलाई जेमनाई एआईमा राखेर थप परिमार्जन गरेको देखिन्छ । पोस्टरको तलपट्टि अङ्ग्रेजीमा लेखिएको छ, “Education Minister Announcing Abolition of Private boarding schools.” उक्त पोस्टको क्याप्सनमा लेखिएको छ, “शिक्षामन्त्री सस्मित पोखरेलले शपथ खाए लगत्तै- प्राइभेट बोर्डिङ स्कूलले गरिब जनता लुटिरहेकोले बोर्डिङलाई तत्काल खारेज गरी सरकारी स्कुलनै राम्रो बनाउने भएका छन।”
यो सामग्री तयार पार्दासम्म सो पोस्टलाई ८३१ पटक शेयर गरिएको छ भने २१ हजार बढी रियाक्सन र २८०० भढी कमेन्ट आएका छन् । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।

‘Sachet Khabar सचेत खबर’ नामक पेजले त्यही पोस्टमा भिडिओ बनाएर फैलाएको पाइयो । ४१७ पटक शेयर भएको सो भिडिओमा ५७०० बढी रियाक्सन र ३६७ कमेन्ट छन् । हेर्नुहोस् ओरिजिनल भिडिओ र स्क्रिनशट ।
‘Janata Times’ नामक फेसबुक पेजले शिक्षामन्त्री पोखरेलले निजी विद्यालय बन्द गर्ने बताएको दाबी गरेको छ । उक्त पेजले लेखेको छ, “शिक्षामन्त्री सस्मित पोखरेलले शपथ खाए लगत्तै निजी विद्यालय ( बोर्डिङ स्कूल) बन्द गराउने योजना सुनाएका छन् । निजी विद्यालय सञ्चालकहरूले गरिब जनता लुटिरहेकोले बोर्डिङलाई तत्काल खारेज गरी सरकारी स्कुलनै राम्रो बनाउने योजना सुनाएका हुन” । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।

यही किसिमका दाबी अन्य फेसबुक पेज र ग्रुपमा पनि फैलिएको पाइयो ।
यस विषयमा अनुसन्धान गर्न डेस्कले गुगल एड्भान्स सर्चमा शिक्षामन्त्री सस्मित पोखरेलले सुनाएका योजना र निर्णयबारे समाचार खोज्यौं । १३ चैत २०८२ मा टेकपानामा ‘काठमाडौँ महानगरको शिक्षा विज्ञदेखि शिक्षा र खेलकुद मन्त्रालयको बागडोर, को हुन् सस्मित पोखरेल ?’ शीर्षकको समाचार फेला पर्यो । उनले शपथ ग्रहण गरिसकेपछि सुनाएका योजना र गरेका निर्णयबारे खोज्यौं । त्यस क्रममा सामाजिक सञ्जालमा विभिन्न सञ्चार माध्यमले राखेका भिडिओ फेला परे ।
त्यसमध्ये ‘Sidhakura’ ले ७ मिनेट २५ सेकेन्डको भिडिओ राखेको फेला पर्यो । उक्त भिडिओमा शिक्षामन्त्री पोखरेलले आगामी योजना सुनाएको उल्लेख छ । उक्त भिडिओको १ मिनेट २० सेकेन्डमा उनले भनेका छन्, “...हामीले महानगरमा गरेकै विभिन्न कार्यक्रमहरू, नतिजा सुधारका कार्यक्रमहरू, शिक्षकको क्षमता अभिवृद्धि गर्ने कार्यक्रमहरू, विद्यालयको पूर्वाधार सुधार गर्ने कार्यक्रमहरू, निजी विद्यालयहरूलाई पनि अझ व्यवस्थित बनाउने, छात्रवृत्तिलाई जसरी व्यवस्थित बनायौँ काठमाडौँ महानगरपालिकामा, जसरी पारदर्शी बनायौँ, त्यसरी नै पारदर्शी व्यवस्थित बनाउने र विश्वविद्यालयहरूलाई पनि त्यसमा विभिन्न सुधारका कार्यक्रमहरू जुन गर्नुपर्नेछ, त्यो विश्वविद्यालयको पनि सुधारको कार्यक्रमहरू गर्ने र विशेषगरी हामीले नतिजामा, शिक्षकको क्षमतामा र पूर्वाधारमा सुधार गर्ने गरी हामी एक दुई तीनभन्दा त्यसरी काम गर्नेछौँ र अलिकति हामीले एआईतिर, आईटीतिर अलिकति सानो उमेरबाट नै अलिकति हेल्थमा अनि त्यसपछि यो क्षेत्रहरूमा चाहिँ अलि सानो उमेरबाट नै लगानी सुरु गर्ने पनि हाम्रो योजना छ र हामीले खेलकुदमा पनि अलि सानो उमेरबाट नै करिकुलमसँग जोडेर नै खेलकुद तथा विभिन्न रचनात्मक नयाँ युगसँग मेल खाने खालका जति पनि क्रियाकलापहरू अहिले विश्वव्यापी रूपमा आइरहेका छन्, सबैलाई चाहिँ करिकुलममा जोडेर अगाडि लाने चाहिँ हाम्रो योजना छ ।” यहाँ मन्त्री पोखरेलले निजी विद्यालयलाई थप व्यवस्थित गर्ने भनेका छन् । भिडिओमा कतै पनि निजी विद्यालय खारेज वा बन्द गर्ने भन्ने उल्लेख छैन । हेर्नुहोस् भिडिओ ।
हामीले थप खोज्न ‘निजी विद्यालय खारेज गर्ने’ कीवर्ड राखेर समाचार खोज्यौं । तर, कुनै पनि व्यावसायिक सञ्चारमाध्यममा यस विषयमा सामग्री सम्प्रेषण भएको पाइएन ।
दाबी
नवनियुक्त शिक्षामन्त्री सस्मित पोखरेलले पदबहाली गरेलगत्तै निजी बोर्डिङ स्कुलहरूले गरिब जनता लुटिरहेको भन्दै त्यस्ता स्कुलहरूलाई तत्काल खारेज गर्ने र सरकारी स्कुललाई मात्र राम्रो बनाउने नीति ल्याउने घोषणा गरेका छन् ।
दाबीकर्ता
‘Sachet Khabar सचेत खबर’ ले सबैभन्दा पहिले यो दाबी फैलाएको हो । त्यसैलाई पछ्याउँदै ‘Khabar Bulletin Tv’, ‘Janata Times’ लगायत अन्य फेसबुक पेज तथा प्रयोगकर्ताले सोही पोस्ट आफ्नो तरिकाले परिमार्जन गरी फैलाएका छन् ।
तथ्य
शिक्षामन्त्री सस्मित पोखरेलले शपथ ग्रहणपछि दिएको अन्तर्वार्ता र सार्वजनिक गरेका योजनाहरूमा 'निजी विद्यालय खारेज गर्ने' कुरा कतै पनि उल्लेख छैन । ‘सिधाकुरा’ लगायतका सञ्चार माध्यममा आएको उनको भिडिओमा उनले निजी विद्यालयलाई खारेज गर्ने नभई थप व्यवस्थित र पारदर्शी बनाउने बताएका छन् । उनले काठमाडौँ महानगरपालिकामा जस्तै निजी विद्यालयको छात्रवृत्ति प्रणालीलाई पारदर्शी बनाउने, शिक्षकको क्षमता अभिवृद्धि गर्ने र विद्यालयको पूर्वाधार सुधार गर्ने योजना सुनाएका थिए । कुनै पनि आधिकारिक वा मूलधारका सञ्चार माध्यममा निजी विद्यालय बन्द गर्ने सम्बन्धी समाचार प्रकाशित भएका छैनन् ।
निष्कर्ष
शिक्षामन्त्री सस्मित पोखरेलले बोर्डिङ स्कुल खारेज गर्न लागेको भनी सामाजिक सञ्जालमा भाइरल भएका पोस्ट भ्रामक हुन् ।

प्रतिक्रिया
तपाईँले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु सक्नुहुनेछ ।
पछिल्लो अध्यावधिक: चैत १४, २०८२ ११:८
