फ्याक्टचेक: केपी ओलीले पैसा दिएकाले पक्राउको विरोधमा आएको भन्दै युवतीको भाइरल भिडिओ एआई निर्मित
चैत १७, २०८२ १३:३८
काठमाडौँ । केही दिनदेखि सामाजिक सञ्जालमा एक युवतीको भिडिओ भाइरल भइरहेको छ । उक्त भिडिओमा देखिने युवतीले नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई पहिले पनि ६०/७० हजार रुपैयाँ दिएको र अहिले पनि पैसा दिने आश्वासन दिएकाले पक्राउको विरोधमा आन्दोलन गर्न सडकमा आएको बताएकी छिन् ।
तर टेकपाना फ्याक्टचेकको अनुसन्धानका क्रममा उक्त भिडिओ एआईबाट बनाइएको र भ्रामक हुने गरी फैलाइएको देखिएको छ । वास्तवमा भिडिओमा देखिएकी युवतीले विभिन्न सञ्चारकर्मीसँग ओलीलाई शनिबार बिहानै कसरी पक्राउ पुर्जी जारी भयो र पक्राउ गरियो भन्दै प्रश्न गरेकी थिइन् । सोही भिडिओलाई एआईबाट तोडमोड गरेर पैसा लिएर आन्दोलन गरेको भन्दै भ्रम फैलाइएको फ्याक्टचेकबाट पुष्टि भएको हो ।
दाबी
‘Ganesh Saud’ नामक भेरिफाइड फेसबुक अकाउन्टबाट १८ सेकेन्ड लामो भिडिओ शेयर भएको छ । ३० मार्च ५:२४ मा “कुरा के हो” क्याप्सन सहित शेयर गरिएको उक्त भिडिओमा एक युवतीले पैसा पाएकाले विरोधमा आएको भन्दै बोलिरहेको सुन्न सकिन्छ ।
भिडिओमा युवतीले भनिरहेकी छिन्, “हामीलाई त केही थाहा छैन । केपी बाले पैसा दिन्छु भनेको छ । पैला पनि पैसा दिएको थियो, ६०/७० हजार । त्यहि भएर हामी उहाँको विरोधी गर्दै छौँ । तर यो भिडिओ भाइरल नगरिदिनु होला प्लिज ।”
त्यसपछि एक पुरुषले भनेका छन्, “आमाको दुध खाने बेलामा रोडमा किन उत्रेको सोचेको त यो बहिनी पैसा दिएर पो रहेछ । देख्नु भयो त, सत्य त अहिले पो निस्किँदै छ । साथीहरू यो बहिनीलाई के भन्नुहुन्छ?”
उक्त भिडिओमा यो सामग्री तयार पार्दासम्ममा एक लाख एक हजार भन्दा धेरै रियाक्ट आइसकेका छन् । भिडिओमा चार हजार भन्दा धेरै कमेन्ट गरिनुका साथै १४ हजारभन्दा धेरै पटक शेयर भएको छ । भिडिओलाई २३ लाख भन्दा धेरै पटक हेरिएको छ । हेर्नुहोस् ओरिजिनल भिडिओ, रेकर्डेड भिडिओ र स्क्रिनशट ।

अनुसन्धान
‘Prakash Raza’ नामक फेसबुक अकाउन्टबाट पनि सोही भिडिओ शेयर भएको छ । ३० मार्च साँझ ७:४८ मा शेयर गरिएको उक्त पोस्टको क्याप्सनमा लेखिएको छ, “केपी बाले ६०-७० हजार पहिले दिनुभएको थियो। @highlight #viralreelsシ #nepal” ।
भिडिओलाई यो सामग्री तयार पार्दासम्ममा १५ लाख भन्दा धेरैले हेरेका छन् भने ५२ हजार भन्दा धेरैले रियाक्ट गरेका छन् । यस्तै भिडिओमा १३०० वटा कमेन्ट र ३१ सय भन्दा धेरै पटक शेयर गरिएको छ । हेर्नुहोस् ओरिजिनल भिडिओ र स्क्रिनशट ।

अर्को फेसबुक प्रयोगकर्ता ‘Kalpana’ ले पनि ३० मार्च २:३८ मा सोही भिडिओ सामग्री शेयर गरेको फेला पर्यो । ‘खास कुराे केहाे’ क्याप्सनसहित सार्वजनिक भिडिओलाई यो सामग्री तयार पार्दासम्ममा १० लाख भन्दा धेरैले हेरिसकेका छन् भने ४९ सय भन्दा धेरैले रियाक्ट र ४३ सय भन्दा धेरैले शेयर गरेका छन् । हेर्नुहोस् ओरिजिनल भिडिओ र स्क्रिनशट ।

फेसबुक प्रयोगकर्ता ‘Kalpana’ ले शेयर गरेको भिडिओमा ‘Veo’ को लोगो देखिएको छ । भिओ गुगलको जेनेरेटिभ एआई भिडिओ मोडेल हो । जसको सहयोगमा प्रयोगकर्ताले आफूले चाहेको जस्तो भिडिओ तयार पार्न सक्छन् ।
भिडिओमा उक्त लोगो देखेपछि हामीले सिन्थ आईडी डिटेक्सन टुलको प्रयोग गरेर एआई निर्मित भएको वा नभएको पत्ता लगाउने प्रयास गर्यौँ । सिन्थआईडी डिटेक्सन टुलले भिडिओको दृश्य गुगल एआईको प्रयोग गरेर परिमार्जन गरेको वा बनाएको हुन सक्ने निष्कर्ष निकाल्यो ।

त्यसपछि हामीले एआई डिटेक्सन टुल हाइभ मोडरेसनमा उक्त भिडिओ राखेर हेर्यौँ । हाइभ मोडरेसनले भिडिओ ९९.९ प्रतिशत एआई निर्मित रहेको देखायो ।

यस्तै एआई भोइस डिटेक्सन टुल ‘ट्रुथ स्क्यान’ मा उक्त भिडिओ राखेर जाँच गर्दा भिडिओमा प्रयोग भएको आवाज ९९% एआई निर्मित भएको निष्कर्ष निकाल्यो ।

उक्त भिडिओमा प्रयोग भएको श्रव्य र दृश्य एआईबाट बनेको निष्कर्ष निस्किएपछि हामीले सोही भिडिओको स्क्रिनशट लिएर गुगल रिभर्स इमेज सर्च गरेर खोज्यौँ ।
खोज्ने क्रममा फेसबुक पेज ‘Call24 News’ ले २८ मार्च दिउँसो (जुन दिन केपी शर्मा ओली पक्राउ परेका थिए) ४:२५ मा सार्वजनिक गरेको “ओली प'क्राउको वि'रोध गर्दै हामी चुप लागेर बस्नेवाला छैनौँ।” शीर्षकमा सार्वजनिक भिडिओ फेला पर्यो । ५१ सेकेन्ड लामो उक्त भिडिओमा युवतीले केपी शर्मा ओलीलाई पक्राउको सन्दर्भलाई लिएर “शनिबार बिहानै पक्राउ पुर्जी कसरी जारी भयो ?” भन्दै प्रश्न गरेकी छिन् । जनताले दिएको जनमतको सम्मान गर्दै हालको सरकारलाई मानेको भएपनि कानुनभन्दा माथि कोही नरहने अन्तर्वार्ताका क्रममा उनले बताएकी छिन् । तर उक्त भिडिओमा उनले केपी ओलीबाट ‘पैसा’ पाएका कारण आन्दोलनमा आएको कुरा भने बोलेकी छैनन् ।
दाबी
भाइरल युवतीले पैसा पाएका कारण पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउको विरोधमा उत्रिएको बताइन् ।
दाबीकर्ता
फेसबुक प्रयोगकर्ताहरू ‘Ganesh Saud’,‘Prakash Raza’, ‘Kalpana’ लगायतका सामाजिक सञ्जाल प्रयोगकर्ता ।
तथ्य
भाइरल भिडिओमा गुगल एआई भिडिओ मोडेल 'Veo' को लोगो देखिएको छ । सिन्थ आईडी, हाइभ मोडरेसन र ट्रुथ स्क्यान जस्ता एआई डिटेक्सन टुलहरूले यो भिडिओको दृश्य र आवाज दुवै एआई निर्मित रहेको पुष्टि गरेका छन् । ती युवतीले शनिबार (२८ मार्च) मा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पूर्व प्रधानमन्त्री ओलीलाई शनिबार बिहानै कसरी पक्राउ गरियो भन्दै प्रश्न गरेकी थिइन् । वास्तविक भिडिओको दृश्यमा एआई प्रयोग गरेर युवतीको ओठको चाल र आवाज परिवर्तन गरेर भ्रम फैलाइएको हो ।
निष्कर्ष
पैसा पाएको कारण पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेको बारेमा विरोध गरेको भन्दै युवतीले अन्तर्वार्ता दिएको देखिने भिडिओ भ्रामक हो । युवतीले ओलीको पक्राउको विरोध गर्दै दिएको अन्तर्वार्तालाई एआईद्वारा परिमार्जन गरेर भ्रम फैलाइएको हो ।

प्रतिक्रिया
तपाईँले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु सक्नुहुनेछ ।
पछिल्लो अध्यावधिक: चैत १७, २०८२ १३:४७
