फ्याक्टचेकः अमिशा पराजुलीलाई बुबाले गाली गरेको भन्दै रतन कार्की लगायतले फैलाए भ्रामक भिडिओ
चैत २०, २०८२ १९:४
काठमाडौँ । केही दिनयता सामाजिक सञ्जालमा अमिशा पराजुलीलाई उनका बुबाले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा प्रदर्शनमा सहभागी भएको भन्दै गाली गरेको दाबीसहितको भिडिओ भाइरल भइरहेको छ । कल रेकर्ड जस्तो देखिने उक्त भिडिओमा अमिशालाई उनका बुबाले थर्काएको दाबी गरिएको छ ।
टेकपाना फ्याक्टचेक डेस्कले गरेको तथ्यजाँचबाट उक्त भिडिओ पूर्ण रूपमा भ्रामक रहेको पुष्टि भएको छ । वास्तवमा, ओलीको पक्षमा प्रदर्शनमा सहभागी भएकी अमिशालाई उनको परिवारको पूर्ण समर्थन रहेको छ । उनीमाथि भइरहेको साइबर हिंसा विरुद्ध लड्न पनि उनको परिवारले सहयोग गरिरहेको छ । भाइरल भिडिओमा सुनिएको अडियो अमिशाको नभई फरक सन्दर्भको र अर्कै व्यक्तिको रहेको पाइएको छ ।
दाबी
सामाजिक सञ्जालमा कन्टेन्ट क्रियटर रतन कार्कीले ‘ratan_karki18’ ले “भाइरल एमाले कार्यकर्ता बहिनीको यस्तो खबर फैलेछ त 🥺” क्याप्सन सहित भिडिओ सामग्री पोस्ट गरेका छन् । ३ अप्रिल २०२६ दिउँसो १२:४२ मा सार्वजनिक उक्त भिडिओमा पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोध गरेका कारण चर्चामा आएकी युवती अमिशा पराजुलीको तस्बिर प्रयोग गरिएको छ ।
उक्त सामग्रीमा एक पुरुषको आवाज सुन्न सकिन्छ । जहाँ उनले भनिरहेका छन्, “तँ ज्यामारा छस हगी । अस्तिको चल्लो तैँले काठमाडौँमा पढ्न भनेर तँलाई कोठा भाडा, खर्च गरि गरि मैले राखेको, ती घुसखोरी ती यत्रो वर्ष देश लुट्ने ज्यामाराहरूलाई प्रहरीले समातेर लैजाने बित्तिकै उनीहरूलाई बचाउन आन्दोलन गर्न गएको? अनि तँलाई प्रहरीले के माला लगाएर फूलपाती गरेर पठाउनु पर्थ्यो ? धन्न तेरो हात मात्रै भाँचिएछन्, म भएको भए तेरो ढाड खुस्काइदिन्थेँ । अब तिनै तेरा घुसखोरी ती हजुरबाबुहरूलाई बोला, उनीहरूबाटै पैसा माग, उनीहरूबाटै उपचार गर । म बाट तँलाई चानचुन पैसा फुटेको कौडी आउँदैन । मेरो कुरा यही हो, फाइनल कुरा ।”
उक्त भिडिओलाई यो सामग्री तयार पार्दासम्म तीन लाख ३७ हजार पटक हेरिएको छ । १३ हजार ७०० भन्दा धेरैले रियाक्सन तथा ३४८ पटक कमेन्ट गरिएको छ । हेर्नुहोस् भिडिओ, रेकर्डेड भिडिओ र स्क्रिनशट ।

‘Lokendra Singh Saud’ नामका फेसबुक प्रयोगकर्ताले त्यही भिडिओको आधारमा आफ्नो धारणा राखेका छन् । उनले लेखेका छन्, “छोरी एमाले को जुलुस मा ग्एसी बा ले फोन मै थर्कायो ।” हेर्नुहोस् ओरिजिनल पोस्ट र स्क्रिनशट ।

‘Krishna Budhathoki’ नामका फेसबुक प्रयोगकर्ताले पनि त्यही भिडिओ राख्दै अमिशालाई उनका बुबाले गाली गरेको दाबी गरेका छन् । हेर्नुहोस् ओरिजिनल भिडिओ र स्क्रिनशट ।

‘Raja Don Hero’ नामको फेसबुक पेजले पनि अमिशालाई प्रदर्शनमा सहभागी भएकै कारण उनका बुबाले थर्काएको दाबी गर्दै भिडिओ राखेको छ । हेर्नुहोस् ओरिजिनल भिडिओ र स्क्रिनशट ।
‘Paudel Prakash’ नामका फेसबुक प्रयोगकर्ताले पनि ‘बहिनीको स्कूल फी कसले तिर्छ अब’ लेख्दै सोही भिडिओ पोस्ट गरेका छन् । हेर्नुहोस् ओरिजिनल भिडिओ र स्क्रिनशट ।

‘Nepalese Revolution’ नामको फेसबुक पेजले पनि अमिशालाई उनका बुबाले फोनमार्फत गाली गरेको दाबीसहित भिडिओ राखेको छ । हेर्नुहोस् ओरिजिनल भिडिओ र स्क्रिनशट ।

टेकपाना फ्याक्टचेक डेस्कले यस विषयमा अनुसन्धान गर्न सबैभन्दा पहिले उक्त अडियोलाई विश्लेषण गर्यो । कलमा एउटै व्यक्ति बोलेको सुनिन्छ । त्यसमा झट्ट हेर्दा केही अस्वाभाविक महसुस हुन्छ ।
उक्त भिडिओमा सुनिनै शब्द ‘ज्यानमारा’, ‘अस्तिको चल्लो’, ‘हात मात्रै भाँचिएछ’, ‘तँलाई कोठा भाडा खर्च गरी राखेको’ ले नै यो युवतीलाई भन्दा पनि युवकलाई भनेको सङ्केत गर्छ । टेकपानाको सम्पर्कमा आएकी अमिशाकी आमा बिनिता पराजुलीका अनुसार उनीहरूको घर भक्तपुरमा छ । अर्थात् भक्तपुरमै घर भएको मान्छेले छोरीलाई काठमाडौँमा भाडामा राखेर पढाउने भन्ने अस्वाभाविक हुन्छ । त्यस्तै ‘हात भाँचियो’ भनिएको छ । तर अमिशालाई प्रहरीले केही गरेको छैन, उनी सकुशल छिन् । प्रदर्शनमा सहभागी भएर केपी ओलीको रिहाइको माग गर्दा अमिशालाई सामाजिक सञ्जालमा साइबर बुलिङ गर्दै भाइरल गराइएको हो । यी विभिन्न वाक्यांशले यो अडियो अमिशासँग सम्बन्धित होइन भन्ने पुष्टि हुन्छ ।
टेकपाना फ्याक्टचेक डेस्कसँग कुरा गर्दै अमिशाकी आमा बिनिता पराजुलीले भनिन्, “अमिशालाई परिवारबाट पूर्ण रूपमा समर्थन छ । लोकतान्त्रिक मुलुकमा सबैलाई आफ्नो धारणा राख्ने अधिकार छ । अमिशाले पनि त्यही गरेकी हुन् । उनलाई बुबाले प्रदर्शनमा सहभागी भएकैले थर्काएको भन्ने भिडिओमा कुनै सत्यता छैन ।”
१८ चैतमा अमिशाले आफूविरुद्ध अभद्र कमेन्ट गर्ने तथा भ्रामक सामग्री बनाउनेविरुद्ध उजुरी दिएकी थिइन् । त्यसबेला उनीसँगै आमा बिमला पनि साइबर ब्युरोमा पुगेकी थिइन् ।
यी विभिन्न तथ्यलाई विश्लेषण गर्दा अमिशालाई उनका बुबाले एमाले प्रदर्शनमा गएका कारण थर्काएको कल रेकर्ड भन्दै बाहिरिएको भिडिओ उनीसँग सम्बन्धित नै नरहेको पुष्टि हुन्छ । त्यस्तै अडियो अपूर्ण हुनु, विश्वसनीय स्रोतबाट नआउनु, असम्बन्धित कुरा हुनुले पनि यो अमिशासँग सम्बन्धित छ भन्ने कुरालाई बल दिंदैन । त्यसैले अमिशाका बुबाले उनी एमाले अध्यक्ष केपी शर्मा ओलीको रिहाइका लागि प्रदर्शनमा सहभागी हुँदा ‘थर्काएको’, ‘फी, भाडा नतिर्ने चेतावनी दिएको’ भन्ने भिडिओ भ्रामक पुष्टि हुन्छ ।
दाबी
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा प्रदर्शनमा सहभागी भएको भन्दै अमिशा पराजुलीलाई उनका बुबाले फोनबाट थर्काए ।
दाबीकर्ता
कन्टेन्ट क्रियटर रतन कार्की, लोकेन्द्र सिंह साउद, कृष्ण बुढाथोकी, नेपलिज रिभोलुसन, ‘राजा डन हिरो’, पौडेल प्रकाश लगायत अन्य सामाजिक सञ्जाल प्रयोगकर्ता
तथ्य
भाइरल भिडिओमा प्रयोग भएको अडियो अमिशासँग सम्बन्धित छैन । अडियोमा ‘काठमाडौँमा कोठा भाडामा राखेको’ र ‘हात भाँचिएको’ जस्ता कुरा छन्, जबकि अमिशाको घर भक्तपुरमै रहेको छ र उनलाई प्रहरीबाट कुनै शारीरिक चोट लागेको छैन । साथै, अमिशाकी आमा बिनिता पराजुलीले अमिशालाई परिवारको पूर्ण समर्थन रहेको र बुबाले गाली गरेको भन्ने कुरामा कुनै सत्यता नभएको पुष्टि गरेकी छन् । उक्त अडियो अर्कै व्यक्तिको र फरक सन्दर्भको हो ।
निष्कर्ष
अमिशा पराजुलीलाई एमालेको प्रदर्शनमा गएका कारण उनका बुबाले गाली गरेको र खर्च रोकिदिने चेतावनी दिएको भन्दै सामाजिक सञ्जालमा फैलाइएको भिडिओ पूर्ण रूपमा भ्रामक हो । फरक व्यक्तिको अडियो प्रयोग गरेर अमिशाको तस्बिरका साथ भ्रम फैलाइएको पुष्टि हुन्छ ।

प्रतिक्रिया
तपाईँले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु सक्नुहुनेछ ।
पछिल्लो अध्यावधिक: चैत २६, २०८२ १६:४४
