close

काठमाडौँस्थित काव्या स्कुलका ३५ भन्दा बढी शिक्षक बने ‘गुगल सर्टिफाइड एजुकेटर’

टेकपाना टेकपाना

चैत २५, २०८२ ९:४६

काठमाडौँस्थित काव्या स्कुलका ३५ भन्दा बढी शिक्षक बने ‘गुगल सर्टिफाइड एजुकेटर’

काठमाडौँ । काठमाडौँको नयाँ बानेश्वरस्थित काव्या स्कुलका ३५ भन्दा बढी शिक्षकहरू ‘गुगल सर्टिफाइड एजुकेटर’ बनेका छन् । हालै सम्पन्न प्रशिक्षण र परीक्षापछि उक्त विद्यालयका शिक्षकहरू गुगलबाट प्रमाणित भएका हुन् ।

बिहीबार (२२ चैत) विद्यालय परिसरमा आयोजित एक कार्यक्रमका बीच नवनियुक्त प्रशिक्षित शिक्षकहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो । उनीहरूलाई ‘डिजिटल एन्ड वियोन्ड’ का सह-संस्थापक एवं प्रशिक्षक सगुन ढुङ्गानाले प्रशिक्षण दिएका थिए ।

प्रशिक्षक ढुङ्गानाका अनुसार शिक्षकहरूले गुगलको ‘लेभल १’ (प्रारम्भिक) र ‘लेभल २’ (एड्भान्स) स्तरको तालिम पुरा गरेका छन् । यो प्रमाणपत्र प्राप्त गरेसँगै अब शिक्षकहरू गुगलका विभिन्न डिजिटल टुलहरू प्रयोग गरेर शिक्षण र सिकाइ प्रक्रियालाई अझ बढी व्यवस्थित, अन्तरक्रियात्मक र प्रविधिमैत्री बनाउन सक्षम भएका छन् । यो तह पूरा गरेपछि इच्छुक शिक्षकहरू भविष्यमा ‘सर्टिफाइड ट्रेनर’ वा ‘इनोभेटर’ समेत बन्न सक्ने बाटो खुल्ने ढुङ्गानाले बताए ।

“अहिलेका विद्यार्थीहरूको हात-हातमा स्मार्ट डिभाइसहरू छन् र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग पनि तीव्र गतिमा बढिरहेको छ,” प्रशिक्षक ढुङ्गानाले भने, “यस्तो अवस्थामा यो तालिमले शिक्षकहरूलाई आधुनिक प्रविधिसँग अभ्यस्त गराउँदै कक्षा-कोठाको सिकाइलाई थप प्रभावकारी बनाउन ठुलो सहयोग पुर्‍याउँछ ।” उनले नेपालमा अहिलेसम्म जनकपुरको मोनास्टिक स्कुल, क्रियटिभ एकेडमी कीर्तिपुर र भक्तपुरको निओ एकेडमी र काव्य स्कुल गरेर चारवटा  विद्यालयले मात्र यो अन्तर्राष्ट्रिय स्तरको अभ्यासलाई अवलम्बन गरेको जानकारी समेत दिए ।

कार्यक्रममा बोल्दै काव्या स्कुलका प्रिन्सिपल नवराज बाँस्कोटाले यो उपलब्धि विद्यालयका लागि गौरवको विषय भएको बताए । उनले भने, “विदेशमा निकै महँगो शुल्क पर्ने यो कोर्सले हाम्रा शिक्षकहरूलाई प्रविधिमा दक्ष बनाएको छ । यसले कक्षा-कोठालाई प्रविधिमैत्री बनाउने मात्र नभई विद्यार्थीहरूको सिकाइ उपलब्धिमा समेत प्रत्यक्ष सकारात्मक प्रभाव पार्नेछ ।”

तालिममा सहभागी शिक्षकहरूले अबदेखि डिजिटल माध्यमबाट असाइनमेन्ट दिने, मूल्याङ्कन गर्ने र कक्षा व्यवस्थापन गर्न सहज हुने बताएका छन् । काव्या स्कुलले आफ्नो शिक्षण पद्धतिलाई समय सापेक्ष परिमार्जन गर्दै लैजाने क्रममा उक्त तालिम प्रदान गरेको जनाएको छ ।

पछिल्लो अध्यावधिक: चैत २५, २०८२ ९:४६