close

रु. २१ हजारमा ७००० एमएएच ब्याट्री भएको ओप्पो फोन बजारमा, २ महिनाको रिप्लेसमेन्ट ग्यारेन्टी

टेकपाना टेकपाना

जेठ १, २०८३ १४:५६

रु. २१ हजारमा ७००० एमएएच ब्याट्री भएको ओप्पो फोन बजारमा, २ महिनाको रिप्लेसमेन्ट ग्यारेन्टी

काठमाडौँ । ओप्पोले नेपाली बजारमा आफ्नो नयाँ बजेट स्मार्टफोन ‘ओप्पो ए६सी’ (Oppo A6C) सार्वजनिक गरेको छ । सुलभ मूल्यमा बलियो ब्याट्री र आधुनिक फिचर चाहने प्रयोगकर्तालाई लक्षित गर्दै यो फोन उपलब्ध गराएको कम्पनीले जनाएको छ ।

फोनको मुख्य आकर्षण ७,००० एमएएच क्षमताको ब्याट्री हो । १५ वाटको फास्ट चार्जिङ सपोर्ट गर्ने यो ब्याट्रीको हेल्थ (आयु) ६ वर्षसम्म टिक्ने कम्पनीको विशेष दाबी छ । साथै, यसमा रहेको रिभर्स वायर्ड चार्जिङ सुविधाका माध्यमबाट प्रयोगकर्ताले अन्य डिभाइसहरू समेत चार्ज गर्न सक्नेछन् ।

फोनमा १२० हर्ज रिफ्रेस रेटयुक्त ६.७५ इन्चको एचडी प्लस एलसीडी डिस्प्ले दिइएको छ । ९०० निट्सको पिक ब्राइटनेस रहेका कारण चर्को घाममा पनि स्क्रिनका कन्टेन्ट स्पष्ट देख्न सकिने कम्पनीले जनाएको छ ।

एन्ड्रोइड १५ मा आधारित कलर ओएस सफ्टवेयर रहेको फोनमा टी–७२५० अक्टाकोर चिपसेट प्रयोग गरिएको छ । ४ जीबी र्‍याम र ६४ जीबी इन्टर्नल स्टोरेज क्षमता रहेको यो फोनमा ४८ महिनासम्म कार्यसम्पादन सुस्त नहुने 'फ्लुएन्सी प्रोटेक्सन' सुविधा समेत छ । 

फोनमा पोर्ट्रेट, नाइट मोड, एआई रिटच, गुगल लेन्स जस्ता सुविधा पाउन सकिन्छ । साथै, ‘हाई-रेज’ मोड प्रयोग गरी ५० मेगापिक्सेलसम्मको गुणस्तरमा फोटो खिच्न सकिने दाबी गरिएको छ ।

सुरक्षाका लागि यसमा साइड-माउन्टेड फिंगरप्रिन्ट सेन्सर र फेस अनलक सुविधा छन् । धुलो र पानीबाट जोगाउन यसलाई आईपी६४ रेटिङ दिइएको छ । कनेक्टिभिटीका लागि वाई-फाई ५, ब्लुटुथ ५.२, यूएसबी टाइप-सी पोर्ट र ३.५ एमएम हेडफोन ज्याक उपलब्ध छ ।

फोन सार्वजनिक भएको अवसरमा कम्पनीले दुई महिनाको रिप्लेसमेन्ट ग्यारेन्टी योजना ल्याएको छ । यो अफर आज (१ जेठ) देखि १ असारसम्म फोन खरिद गर्ने ग्राहकका लागि मात्र लागु हुनेछ । योजनाअन्तर्गत योग्य ग्राहकले फोनमा हार्डवेयरसम्बन्धी समस्या देखिएमा ३१ असारभित्र सिधै नयाँ 'रिप्लेसमेन्ट डिभाइस' (नयाँ फोन) प्राप्त गर्ने जनाइएको छ । सामान्य मर्मतको सट्टा कम्पनीले नयाँ फोन नै उपलब्ध गराउने यो योजनाले ग्राहकलाई थप सुरक्षा दिने कम्पनीको विश्वास छ ।

नेपाली बजारमा ओप्पो ए६सी ‘फेदर ह्वाइट’ र ‘स्टोन ब्राउन’ गरी दुई रङमा उपलब्ध छ । ४ जीबी र्‍याम र ६४ जीबी स्टोरेज भेरियन्टको यो फोनको बजार मूल्य २० हजार ९९९ रुपैयाँ तोकिएको छ ।

पछिल्लो अध्यावधिक: जेठ १, २०८३ १५:१२