नगर प्रहरीले दुर्व्यवहार गरेको भिडिओ भाइरल भएपछि पीडित महिलालाई १० हजार रुपैयाँ क्षतिपूर्ति
जेठ ६, २०८३ २०:१५
काठमाडौँ । वीरेन्द्रनगरमा काफल बेचिरहेकी एक महिलामाथि नगर प्रहरीले दुर्व्यवहार गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि नगरपालिकाले पीडितलाई क्षतिपूर्ति दिएको छ । वीरेन्द्रनगर नगरपालिकाकी मेयर मोहनमाया ढकाल भण्डारीले बुधबार ती महिलालाई कार्यालयमा बोलाएर १० हजार रुपैयाँ नगद, नयाँ डालो र काफलसहित क्षतिपूर्ति दिएकी हुन् ।
मेयर ढकालले टेकपानासँग भनिन्, “कालिकोट घर भई हाल वीरेन्द्रनगर-३ मा बस्दै आउनुभएकी ती महिलामाथि घटना भएको जानकारी पाएपछि हामीले उहाँलाई नगरपालिकामा बोलाएका हौँ ।” नगरपालिकाले अत्यधिक भिडभाड हुने स्थानका सडक पेटीमा व्यापार गर्न निषेध गरेको र सोही क्रममा फुटपाथ व्यवस्थापन गर्दा उक्त घटना भएको उनले सुनाइन्।
उनले थपिन्, “नगरपालिकाले केही निश्चित स्थानमा सडक पेटीमै व्यापार गर्न छुट दिएको छ । तर, उहाँले व्यापार गरिरहनुभएको बसपार्क क्षेत्र निकै भिडभाड हुने भएकाले नगर प्रहरीले त्यहाँबाट हटाउन खोजेका थिए । नगर प्रहरीले जानाजान दुर्व्यवहार गर्न नखोजेको दाबी गरे तापनि महिला पीडित देखिएकाले उहाँको इच्छाअनुसार हामीले क्षतिपूर्ति प्रदान गरेका हौँ ।”
यसैगरी, महिलामाथि अभद्र व्यवहार गर्ने नगर प्रहरीलाई विभागीय कारबाही गरिने समेत मेयर ढकालले जानकारी दिइन् ।
मंगलबार वीरेन्द्रनगर-६ स्थित सिटी बसपार्क क्षेत्रमा सडक नजिकै डालोमा काफल बेचिरहेकी महिलामाथि दुर्व्यवहार भएको थियो । सामाजिक सञ्जालमा सार्वजनिक भिडिओमा नगर प्रहरीले महिलाले बेच्न राखेको काफल भुइँमा फ्याँकेर गाडीमा चढेर हिँडेको देखिन्छ । काफल सडकभरि छरिएपछि ती महिला निरीह र भावुक देखिएकी थिइन् । उक्त भिडिओ सार्वजनिक भएपछि सामाजिक सञ्जालमा नगर प्रहरीको व्यवहारको आलोचना भइरहेको छ ।
पछिल्लो अध्यावधिक: जेठ ६, २०८३ २०:१५
