अत्यधिक ट्राफिक आएपछि सरकारी ठेक्का प्रणाली डाउन, के होला आज अन्तिम म्याद भएका ठेक्काको ?
जेठ १८, २०८३ १३:५७
काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले सञ्चालनमा ल्याएको विद्युतीय खरिद प्रणाली (ई-जीपी सिस्टम) को वेबसाइट डाउन भएको छ । सोमबार बिहान ९ बजेदेखि प्रणालीमा अत्यधिक चाप (ट्राफिक) बढ्दा वेबसाइटमा समस्या आएको हो ।
यसरी सिस्टममा प्रयोगकर्ताको पहुँच पुग्न नसकेपछि कार्यालयले बाध्य भएर म्याद थप गर्ने निर्णय गरेको छ । वेबसाइटमा पहुँच अवरुद्ध हुँदा अनलाइनमार्फत बोलपत्र, आशयपत्र र शिलबन्दी दरभाउपत्र दाखिला गर्नुपर्ने निर्माण व्यवसायी तथा आपूर्तिकर्ता मारमा परेका थिए ।
सोही समस्यालाई सम्बोधन गर्दै कार्यालयले एक सूचना जारी गर्दै ‘विद्युतीय खरिद प्रणाली सञ्चालन निर्देशिका, २०८०’ को दफा ११ को उपदफा १ को खण्ड ‘ग’ बमोजिम १८ र १९ जेठमा अन्तिम म्याद रहेका सम्पूर्ण बोलपत्रको समयसीमा परिवर्तन गरेको जनाएको छ ।
कार्यालयले प्रकाशन गरेको सूचना अनुसार १८ जेठ अन्तिम म्याद रहेका ठेक्काको समय एक दिन पर सारिएको छ । अब ती ठेक्का १९ जेठ मङ्गलबार दिउँसो १२ बजेसम्म दाखिला गर्न सकिनेछ भने सोही दिन दिउँसो १ बजे बोलपत्र खोलिनेछ ।
यसैगरी १९ जेठ अन्तिम म्याद तोकिएका ठेक्काको हकमा पनि म्याद थप गरी जेठ २० गते बुधबार दिउँसो १२ बजेसम्मको समय दिइएको छ । यी बोलपत्र पनि सोही दिन बुधबार दिउँसो १ बजे खोलिने व्यवस्था मिलाइएको कार्यालयले जनाएको छ ।

पछिल्लो अध्यावधिक: जेठ १८, २०८३ १४:८
