close

नेपाली विद्यार्थीले बनाए डिस्लेक्सीया भएकालाई पढ्न सजिलो हुने प्रविधि

युजु खालिङ युजु खालिङ

पुस १०, २०७६ १७:३३

नेपाली विद्यार्थीले बनाए डिस्लेक्सीया भएकालाई पढ्न सजिलो हुने प्रविधि

अविनाश ज्ञवाली र उत्सव चौधरी कक्षा १२ मा पढिरहेका छन् । माध्यामिक तहसम्मसँगै पढेका १७ वर्षिया यी दुबै किशोरको अहिलेको कलेज भने भिन्न छ । कलेज फरक भए पनि साथ र सोँच भने टुटेको छैन । त्यसैको परिणाम दुबै जनाले मिलेर नेपालकै पहिलो ‘भर्चुअल रियालिटी’ (वास्तविक यथार्थ जस्तै लाग्ने सफ्टवेयर तथा इन्टरनेटभित्रको संसार) सफ्टवेयर एप्लिकेसन बनाउन सफल भएका छन् ।

यही एप्लिकेसन लिएर यी दुबै किशोर अहिले माइक्रोसफ्टले आयोजना गर्ने विश्व विख्यात अन्तर्राष्ट्रिय प्रतियोगीतामा सहभागी बन्ने दाउमा छन् । कम्प्युटरको अपरेटिङ सिस्टम विण्डो लगायतका सफ्टवेयर निर्माता कम्पनी माईक्रोसफ्टले करिब दुई दशकदेखि ‘इम्याजिन कप’ नामक अन्तर्राष्ट्रिय प्रतियोगीता आयोजना गर्दै आएको छ ।

अविनाश जेम्स कलेजका विद्यार्थी हुन् भने उत्सव युनाइटेड कलेजका । दुबैलाई अनलाइन गेमहरुमा सानैदेखि गहीरो चाख थियो । स्कुलमा पढ्दादेखि नै गेमिङको क्षेत्रमा केही नयाँ गरेर देखाउने हुटहुटीले उनीहरुलाई सताइरहन्थ्यो । यस्तैमा दुबै जना मिलेर कम्प्युटर गेम बनाउन तिर लागे । विस्तारै भर्चुअल रियालिटीतिर पनि रुची बढ्दै गयो ।

यसैक्रममा डिस्लेक्सिया नामक रोगको समस्या भएका विद्यार्थीको पढाईमा सहयोग पुर्‍याउने सफ्टवेयर तथा एप्लिकेशन ईडीभीआर जस्तो नवीनतम् सफ्टवेयर सोलुसन बनाउन उनीहरु सफल भएका छन्। अविनाश र उत्सवको यो टेक सोलुसनको नाम नै ‘ईडीभीआर’ हो । एजुकेशन (शिक्षा) र भिआर (भर्चुअल रियालिटी) दुई फरक शब्दलाई मिलाएर यसको नाम जुराइएको छ ।

यो सफ्टवेयर एप्लिकेसनले भर्चुअल रियालिटीको माध्यमबाट सिकाईमा सघाउँछ । उनीहरुले अक्षर चिन्न नसक्ने तथा मिलाएर बुझ्न नसक्ने ‘डिस्लेक्सीया’ रोग भएका विद्यार्थीहरुलाई लक्षित गरी यो सफ्टवेयर बनाएका हुन् । यसमा ‘मोटर न्युरोलोजिकल डिसअर्डर’ का रोगीलाई अभ्यास र अध्ययन गर्न सघाउ पुर्‍याउने फिचर पनि समावेश गरिएको अविनाश बताउँछन् । त्यस्ता विद्यार्थीहरुले किताब नै नहेरी भीआरको प्रयोग गरेर मनोरञ्जन लिँदै नजिकबाट वास्तविकताको अनुभव गरेर अध्ययन गर्न सक्छन् ।

उत्सव कक्षा आठदेखि नै कम्प्युटर प्रोग्रामिङमा रुची राख्थे । अविनाशले उत्सवलाई गेम बनाउने प्रस्ताव गरे । अनि दुबै जना मिलेर कक्षा ९ मा पढ्दादेखि गेम बनाउन सिक्न थाले । यसैक्रममा उनीहरुले केही गेम बनाएर गुगलको प्लेस्टोरमा पनि राखे ।

‘हामीले बनाएका ट्यापिसूट, कर्ड रिफ्ल्याक्टो, पिक्स्लोड नामक गेमहरु अहिले पनि प्लेस्टोरमा छन्,’ अविनाश भन्छन्, ‘ती गेमहरुको डाउनलोड हजारदेखि २ हजारसम्म पुगिसकेको छ ।’ उनीहरुले भर्चुअल रियालिटीमा काम गर्न थालेको अहिले एक वर्ष पुरा भइसकेको छ । गेम बनाउन थालेदेखि नै दुबैले विभिन्न प्रतियोगीताहरुमा भाग लिन पनि सुरु गरे । यस्तैमा लोकश नामक इन्जिनियरिङ प्रतियोगीतामा भाग लिएर प्रथम भए ।

गेमिङ एपहरु बनाउँदै विभिन्न प्रतियोगीतामा भाग लिँदैजाँदा उनीहरुलाई भर्चुअल रियालिटीमा केही नयाँ गर्न रहर जाग्यो । तर त्यसका लागि एकदमै महंगा उपकरणहरुको आवश्यकता पर्थ्यो । ‘सुरुमा हामीसँग अहिलेजस्तो महंगा सामानहरु चलाउने मौका नै थिएन । सानो ल्यापटपमा काम गर्थ्यौँ,’ उत्सव सझिन्छन्, ‘अहिले त हाम्रो परिवारले पनि हामीलाई धेरै सहयोग गरेको छ । नेपालमा नपाइने यस्तो महंगा हार्डवेयरहरु मगाएर चलाउन पाएका छौँ । त्यसैबाट नै हामीले यो सुरुवात गरेका हौं ।’

अविनाशलाई सानैदेखि पढ्न गाह्रो लाग्थ्यो । उनी अंग्रेजी अक्षर ‘बी’ र ‘डी’मा सधैं झुक्किन्थे । पढ्नका लागि किताबमै भर पर्नुको विकल्प उनीसँग थिएन । त्यस किसिमको समस्या समाधानको उपायको रुपमा उनमा ईडीभीआरको सोँच पलाएको हो । ‘पढाईलाई अर्को तहसम्म पुर्‍याउनका लागि हामीले यसको डिजाइन गरेका हौं,’ अविनाश ईडीभीआरलाई बुझाउँदै अगाडि भन्छन्, ‘यसमा तपाईले पढ्नु पर्दैन, मात्र अनुभव गर्ने हो । जस्तै सौर्यमण्डल र ब्रह्माण्डको बारेमा हामीले सानैबाट सुन्दै आएका छौं । अब भीआरमार्फत तपाईले किताब नपढेरै अन्तरीक्ष यात्रीले जस्तै गरी यो भर्चुअल प्रविधिको सहयोगमा नजिकबाट नियालेको अनुभव लिनसक्नुहुन्छ ।’

विद्यालय तहमै सौर्यमण्डल तथा आकाशगंगा इत्यादीको बारेमा पढाइन्छ । तर, ती ठाउँहरु कस्ता होलान् भन्ने जिज्ञाशा धेरै विद्यार्थीमा हुन्छ । त्यही जिज्ञाशा र उत्सुकतालाई ख्याल गरेरै ईडीभीआर सफ्टवेयर बनाइएको छ ।

यो भीआर चस्माजस्तै गरी आँखामा लगाईसकेपछि अर्कै संसारमा पुगेको अनुभुति हुन्छ । सौर्यमण्डलमै पुगेर ग्रहहरु नजिकबाट हेरेको जस्तो अनुभव यसले दिन्छ । किताबमा शब्द घोकेर याद गर्नुपर्ने ठाउँमा प्रत्यक्षरुपमा अनुभुत गरेर सिक्ने सुविधा यसमा छ । जसले गर्दा पढाईको विषय अझ बढी स्मरणीयरुपमा विद्यार्थीहरुको मस्तिष्कमा बस्छ । सूर्य पृथ्वीभन्दा कति ठूलो छ ?, बृहस्पती कस्तो छ ?, ग्रहहरु कसरी घुम्छन् ? भन्ने जज्ञासाको समाधान नजिकबाट अनुभव गर्न सकिन्छ ।

यसरी रमाईलो पढाईको विकल्प अविनाश र उत्सवले पहिल्याएका छन् । ‘सौर्यमण्डल र अन्तरीक्षको कुरा मात्र होइन, स्वास्थ्य क्षेत्रका विद्यार्थीलाई पनि यसैगरी चाखलाग्दो गरी पढाउन सकिन्छ । जसमा तपाईंले मानव शरीरका अंगप्रत्यङ्ग जस्ताको त्यस्तै रुपमा देख्नसक्नुहुन्छ । जुन कुरा किताबमा हेर्न असम्भव नै छ,’ अविनास भन्छन् ।

अध्ययनका लागि यी दुई विद्यार्थीले विभिन्न अन्य फिचरहरु पनि बनाएका छन् । ‘मोटर न्युरोलोजिकल डिसअर्डर’ भएका बिरामीकाे दिमाग र हातहरु एकसाथ चल्न सक्दैन । उनीहरुमा दिमाग भन्दा हात ढिलो चल्ने समस्या हुन्छ । यस किसिमको शारिरीक समस्या समाधानका लागि ‘ट्रेनिङ सिमुलेशन’ फिचर समावेश गरिएको छ ।

अविनाश र उत्सवले बनाएको एप्लिकेशनमा माइक्रोसफ्टका केही टुलको प्रयोग गरेर भीआरमा आवाजलाई समेत मिसाइएको छ । आफ्नो प्रडक्टको प्रभावकारिता उनीहरुले केही कलेज तथा स्कुलहरुमा लगेर जाँचेका पनि छन् । त्यसबाट प्राप्त प्रतिक्रियाले दुबै किशोर हौसिएका छन् ।

‘हाम्रो शैक्षिक प्रणाली विगत एक दशकदेखि जस्ताको त्यस्तै छ । नवीन प्रविधिलाई शिक्षामा समावेश गरिएको छैन,’ अविनाश भन्छन्, ‘डिजिटलाईजेसन र इनोभेसनको नाममा त्यही प्रोजेक्टर देखाइन्छ । त्यसभन्दा अगाडि नयाँ प्रयोग केही छैन । जहिले ह्वाइट र ब्ल्याक बोर्डमा मात्र पढ्नुपर्ने बाध्यता छ ।’

यी दुबै नवप्रतिभाको चाहना ईडीभीआरलाई सबै विद्यालय र कलेजहरुले लागु गरुन् भन्ने छ । ‘हाम्रो सपना भनेको प्रत्येक स्कुलले एउटा भीआर ल्याब खोलुन्, जसमा हामीले बनाएको कन्टेन्टहरु राखियोस् र सबै विद्यार्थीहरुलाई दिनको एउटा भीआर कक्षा दिईयोस्,’ उत्सव भन्छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१