close

किताब जात्रा अब सातै प्रदेशमा

टेकपाना टेकपाना

माघ २४, २०७६ १७:१३

किताब जात्रा अब सातै प्रदेशमा

पुस्तकको अनलाइन सपिङ साइट किताब यात्राको आयोजना हुँदै आएको किताब जात्रा अब सातै प्रदेशमा समेत हुने भएको छ । नयाँ वर्षको सुरुवातसँगै सबै प्रदेशमा पुस्तक प्रदर्शनी सहितको साहित्यिक बहश हुने भएको हो ।

जात्राको आयोजक किताब यात्रा प्रालिका संस्थापक तथा सीईओ ऋषिराम अधिकारीले नयाँ वर्ष २०७७ को वैशाख अन्तिम सातादेखि प्रदेशस्तरीय किताबजात्रा आयोजना गरिने जानकारी दिए । ‘हामीले पठन संस्कृतिको विकासका लागि यस किसिमका कार्यक्रमको थालनी गरेका हौँ,’ उनले भने, ‘आउँदै वैशाखको अन्तिमसातादेखि हामी पहिलो पटक प्रदेश स्तरमा यो कार्यक्रमलाई लैजाँदै छौँ ।’

किताब यात्रामा एक लाखको संख्यामा किताबहरु लैजाने योजना कम्पनीले बनाएको छ । जात्रामा सहभागिहरुले ४० प्रतिशतको छूटमा पुस्तकहरु खरीद समेत गर्नसक्नेछन् । अधिकारीका अनुसार कार्यक्रममा स्थानीय लेखक, समालोचक, पत्रकार लगायतलाई सहभागि गराइनेछ ।

भर्खरै सम्पन्न राष्ट्रिय स्तरको किताब जात्रामा करीब तीन हजारको संख्यामा सहभागिता रहेकोमा प्रदेश स्तरीय कार्यक्रममा २० देखि २५ हजारलाई समेट्ने लक्ष आयोजकले लिएको छ । मोफसलको कार्यक्रम पश्चात नेपाली भाषाभाषी रहेका देश बाहिरका ठाउँमा समेत यो कार्यक्रमलाई लैजाने योजना रहेको अधिकारीले सुनाए ।

करिब अढाई वर्ष अघि सुरु भएको किताबयात्राले अनलाइनबाटै हालसम्म एक लाख पुस्तक बिक्री गरिसकेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०