close

दुई हप्तामा घट्नुपर्ने कल शूल्कमा आनाकानी गर्दै टेलिकम कम्पनी

रन्जन कोइराला रन्जन कोइराला

चैत ६, २०७६ १८:३७

दुई हप्तामा घट्नुपर्ने कल शूल्कमा आनाकानी गर्दै टेलिकम कम्पनी

काठमाडौं । अन्यथा निर्णय नभएको अवस्थामा अबको दुई सातामा मोबाइल तथा टेलिफोन कलको शूल्क घट्ने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले जारी गरेको नयाँ ‘अन्तरआवद्धता निर्देशिका २०७६’ चैत २० देखि कार्यान्वयनमा आउने भएपछि कल शूल्क घट्ने भएको हो ।

यसअघि सेवा प्रदायकले आफ्नो नेटवर्कबाट अर्को नेटवर्कमा कल गर्दा नेटवर्क भित्र लिँदै आएको शूल्कमा बढीमा ५४ पैसा थप्न पाउने व्यवस्था थियो । त्यसमा परिवर्तन गरि नयाँ निर्देशिकाले बढीमा थप १० पैसा मात्रै लिन मिल्ने व्यवस्था गरेको छ ।

यो व्यवस्था लागु भएसँगै हाल नेपाल टेलिकम, एनसेल र स्मार्टसेल मध्ये एउटा सेवाप्रदायक कम्पनीको नम्बरबाट अर्को कम्पनीको नम्बरमा कल गर्दा लाग्ने शूल्कमा ४४ पैसा घट्नेछ ।

गत पुसमै निर्देशिका जारी गरेको भए पनि सेवाप्रदायकको माग अनुसार प्राधिकरणले चार महिना ढिलो गरी कार्यान्वयनमा ल्याउँदै छ । तर, सेवाप्रदायक कम्पनीले भने राजश्वमा असर पर्ने भन्दै तत्काल कल शूल्क घटाउने निर्देशिका कार्यान्वयन गर्ने विषयमा आनाकानी गरिरहेका छन् ।

प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालका अनुसार हालसम्मको अवस्थामा निर्धारित मितिदेखि नै कल शूल्क घट्नेछ । उनले भने, ‘सेवाप्रदायकहरुले पत्रमार्फत तत्काल शूल्क घटाउने निर्णय कार्यान्वयनको मिति सार्न आग्रह गरिरहेका छन् ।’

हाल नेपाल टेलिकमको प्रिपेड सिमबाट अन्य नेटवर्कमा कल गर्दा प्रतिमिनेट १ रुपैयाँ ५० पैसा लाग्दै आएको छ भने पोस्टपेडबाट गर्दा १ रुपैयाँ लाग्छ । अब भने उक्त शुल्क घटेर प्रिपेडबाट प्रतिमिनेट १ रुपैयाँ ६ पैसा र पोस्टपेडबाट ६६ पैसा मात्रै लाग्नेछ ।

त्यस्तै एनसेलबाट अन्य सेवा प्रदायकमा कल गर्दा हाल प्रतिमिनेट दुई रुपैयाँ ५४ पैसा लाग्छ । नयाँ निर्देशिका अनुसार अब एनसेलबाट नेपाल टेलिकम र स्मार्टसेलमा दुई रुपैंया १० पैसा प्रतिमिनेटमै कल गर्न पाइने छ ।

यस्तै स्मार्टसेलबाट एनसेल र नेपाल टेलिकममा कल गर्दा प्रतिमिनेट १ रुपैयाँ ४८ पैसामात्रै लाग्नेछ । हाल स्मार्टबाट अन्य सेवा प्रदायकमा कल गर्दा प्रतिमिनेट १ रुपैयाँ ९२ पैसा लाग्दै आएको छ ।

सामान्यतया सेवाप्रदायकले अन्य नेटवर्कको तुलनामा नेटवर्कभीत्र हुने कलको दर सस्तो तथा समान हुनेगर्छ । महंगो भने हुँदैन । यस आधारमा अन्तरआवद्धता कलको दर घट्दा कम्पनीकै नेटवर्क भित्रको कल समेत सस्तिनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१