close

कोरोनाले बढायो इन्टरनेट ट्राफिक, बढ्न थाल्यो स्लो हुने समस्या

टेकपाना टेकपाना

चैत ७, २०७६ ११:१

कोरोनाले बढायो इन्टरनेट ट्राफिक, बढ्न थाल्यो स्लो हुने समस्या

काठमाडौं । अहिले कोरोनाभाइरस (कोभिड-१९) ले विश्वव्यापी महामारीको रुप लिइसकेको छ । भाइरसको उच्च जोखिममा रहेको नेपालमा समेत त्यसको त्रास व्यापक बनेको छ ।

नेपाल सरकारले कोभिड-१९ संक्रमण फैलिन नदिन सतर्कताको रुपमा शैक्षिक संस्था, पठनपाठन, खेलस्थल, लगायतका गतिविधिमा रोक लगाउने निर्णय गरिसकेको छ । मानिसहरु समेत संक्रमणको भयका कारण सकेसम्म घर बाहिर निस्किन चाहिरहेका छैनन् ।

पछिल्लो केही दिन यता इन्टरनेटको प्रयोग एकदमै बढ्न गएको सेवाप्रदायकहरुले बताएका छन् । इन्टरनेट सेवाप्रदायकहरुको संस्था आईस्पानका अध्यक्ष भोजराज भट्टका अनुसार अहिले इन्टरनेट स्लो हुने गुनासो आउने क्रम बढेको बताए ।

सरकारले शैक्षिक संस्था समेत बन्द गरेर सकेसम्म घर बाहिर ननिस्किन आग्रह गरेको छ । संभवभएसम्म इन्टरनेटमार्फत घरबाटै काम गर्ने क्रम सुरु भएको छ । फुर्सदको समय व्यतित गर्ने तथा मनोरञ्जनको माध्यम पनि इन्टरनेट नै बनिरहेको छ ।

नेटवर्कको क्षमता सीमित हुने भएकाले अनपेक्षित रुपमा बढेको इन्टरनेट ट्राफिकका कारण स्लो हुने समस्या देखिन सुरु भएको भट्टको भनाई छ । ‘डिभाइस तथा उपकरणहरु सबै बाहिरैबाट आयात गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘जसले गर्दा तत्कालै इन्टरनेटको क्षमता बढाउन सम्भव हुँदैन । यसका लागि कम्तिमा दुईदेखि तीन महिनासम्म लाग्ने हुन्छ ।’

आईस्पानले अत्यावश्यक सेवाको रुपमा रहेको इन्टरनेट नियमित रुपमा सञ्चालन हुने वातावरण बनाउन प्रयोगकर्ताहरुलाई जिम्मेवारपूर्ण तरिकाले प्रयोग गर्न आग्रह गर्ने तयारी समेत गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६