close

लकडाउनले रोकियो नेपालमै कोरोना टेस्ट किट बनाउने योजना

टेकपाना टेकपाना

चैत १६, २०७६ १८:५६

लकडाउनले रोकियो नेपालमै कोरोना टेस्ट किट बनाउने योजना

काठमाडौं । कोरानाभाइरस (कोभिड-१९) यति बेला सबैको चासोको विषय हो । विश्वभर महामारीको रुपमा फैलिएको कोरानाभाइरसका कारण हजारौं मानिसले ज्यान गुमाइसकेका छन् ।

यसबाट उन्मुक्ती पाउन विश्वभरका स्वास्थ्य संस्था तथा वैज्ञानिकहरु लागिपरेको अवस्था छ ।कतिपय देश यसको नियन्त्रणमा केही हदसम्म सफल भइरहेको भएतापनि धेरैजसो देशहरु भने यसको चपेटामा फसेका छन् ।

नेपालमा हालसम्म पाँच जनामा कोरोना प्रमाणीत भइसकेको छ । थप फैलिन नदिन देशभर लकडाउन गरिएको छ ।

कोरोनाभाइरसको रोकथामका लागि लकडाउन सबैभन्दा प्रभावकारी उपाय भएकै कारण सरकाले गएको ६ दिनदेखि देशलाई लकडाउनमा राखेको हो । तर, लकडाउनले गर्दा कोरोना भाइरस नियन्त्रण, रोकथाम र उपचारका लागि अतिआवश्यक वस्तुहरु समेत देश भित्रिन सकेका छैनन् ।

नेपालमै कोरोना भाइरस परीक्षणका लागि आवश्यक टेस्ट किट बनाउने प्रयासमा जुटेको मुलुककै पहिलो एन्टिबडी कम्पनी शिखर वायोटेकले लकडाउनकै कारण समस्या झेल्नु परेको छ ।

चीनमा कोरानाभाइरस फैलिएसँगै कम्पनीले नेपालमै त्यसका लागि आवश्यक टेस्ट किट बनाउने कार्यमा अग्रसरता देखाएको थियो । अन्तिम चरणमा पुगेसँगै कम्पनीको टेस्ट किट बनाउने योजना लकडाउनका कारण रोकिएको हो ।

लकडाउन भएसँगै त्यसका लागि आफूहरुले काम गर्न नपाएको कम्पनीका अध्यक्ष तथा डाक्टर रवीन्द्र सापकोटाको भनाई छ । सबैभन्दा महत्वपुर्ण कुरा त कम्पनीले सिंगापुरबाट ल्याउन लागेको सामान उतै रोकिएको छ ।

उनी भन्छन्, ‘कोरोना भाइरसको टेस्टिङ दुई किसिमको हुन्छ । एउटा जीवाणू छ की छैन भनेर टेष्ट गर्ने अनि अर्को जीवाणू लागिसकेपछि मानिसको शरिरमा तयार हुने एन्टीबडीको परीक्षण । हामी दोस्रोमा काम गरिहेका थियौं । जिन्सक्रिप्ट बायोटेक कम्पनी, सिंगापुरबाट सामान ल्याउन आवश्यक सबै प्रक्रिया सकिएको थियो । लकडाउनले गर्दा सामान उतै रोकिएको छ । यदि सिंगापुरबाट उक्त सामान आउने हो भने १० दिनभित्रै हामीले नेपालमै त्यस्ता किट तयार पारेर सरकारलाई उपलब्ध गराउन सक्ने थियौं । जुन अन्य मुलुकबाट सरकारले किनेर ल्याउनेभन्दा आधा सस्तो हुनेछ ।’

परियोजना रोकिएको भएतापनि आफूहरुसँग कोरोनाको परीक्षणका लागि आवश्यक ‘बायो सेफ्टी लेभल टु’ ल्याब समेत रहेको सापकोटा बताउँछन् । उनका अनुसार कोरोनाभाइरसको परीक्षणका लागि आवश्यक ल्याब यहि नै हो ।

‘हामी यही नयाँ परीक्षण केन्द्र बनाउनको लागि सरकारलाई दिन पनि तयार छौं । सरकारले आवश्यक ठाने प्रयोग गर्न सक्छ । नेपालमा यो स्तरको एकदमै थोरै संख्यामा छन् । त्यसैले पनि यो अहिलेको अवस्थामा प्रयोग हुन सक्छ भन्ने मेरो बुझाई हो,’ उनी भन्छन्, ‘सरकारले ल्याब बनाउने कुरा गरिरहेको सुनिन्छ । बनाउन समय लाग्ने भएकाले यसलाई तत्काल प्रयोग गर्न सकिन्छ ।’

ल्याब स्थापना भएको २० वर्ष पुरा भइसकेको छ । यस सापकोटाकै एभरेस्ट बायोटेक कम्पनी रहेको थियो । उक्त कम्पनी एक अमेरिकी कम्पनीले खरीद गरेसँगै उनले नयाँ कम्पनीको रुपमा शिखर बायोटक खोलेका हुन् । सापकोटा भन्छन्, ‘कम्पनीबाट हामीले एन्टीबडी बनाउने र विदेशी कम्पनीहरुलाई एन्टीबडी जाँच गरेर पठाउने लगायतको काम गर्दै आएको छौं ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६