close

नेटफ्लिक्सको नाममा गैह्रकानूनी धन्दा, फेसबुकमा विज्ञापन गर्दै रकम अशुल्दै

टेकपाना टेकपाना

बैशाख १७, २०७७ १२:५३

नेटफ्लिक्सको नाममा गैह्रकानूनी धन्दा, फेसबुकमा विज्ञापन गर्दै रकम अशुल्दै

काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलिन नदिन मुलुकमा लकडाउन लागु भएको एक महिनाभन्दा बढी भइसकेको छ । लामो समय घरमै बस्नुपर्दा कतिपयलाई समय व्यतित गर्न असहज समेत भइरहेको हुन्छ ।

यस्तै मनस्थितिको फाइदा उठाउन पछिल्लो केही समयदेखि फेसबुकमा अनौठो विज्ञापनहरुको बाढी आइरहेको छ । दर्जनौं नक्कली पेज बनाएर भिडियो स्ट्रिमिङका लागि विश्व चर्चित नेटफ्लिक्सका आकर्षक अफर सहितका विज्ञापन तपाईंले पनि केही दिन यता आफ्नो फेसबुक वालमा देखिरहनुभएको हुनसक्छ ।

नेटफ्लिक्स प्रयोग गर्नु गैरकानूनी नभएपनि नेपालबाट कानूनी तवरमा त्यसको भुक्तानी गर्ने व्यवस्था भने छैन । जसका कारण मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र डिजिटल वालेट कुनै पनि माध्यमले त्यसका लागि भुक्तानी खुल्ला गरेको र प्रचार गरेको पाइँदैन ।

तर तिनै डिजिटल वालेट प्रयोग गरी नेटफ्लिक्सको नाममा रकम उठाउने क्रम भने बढ्दै गएको छ । ईसेवा, खल्ती, आईएमई पे लगायतका भुक्तानी सेवाप्रदायकमा व्यक्तिगत खाता बनाई नेटफ्लिक्सको भुक्तानी लिने गरेको पाइएको छ ।

नेटफ्लिक्स नेपाल नामक फेसबुक पेजमा राखिएको विज्ञापनमा १९९ रुपैयाँ सेवाशूल्कका अतिरीक्त ४९९ रुपैयाँदेखि १४९७ रुपैयाँ नेटफ्लिक्स सब्सक्रिप्सनको अफर छ ।

यसैगरी नेटफ्लिक्स नेपाल नामकै फेसबुक पेजमा ९ सय रुपैयाँमा अल्ट्रा एचडी प्रिमियम प्याकेज उपलब्ध गराउने भन्दै विज्ञापन गरिएको छ । यो पेज सञ्चालकले ईसेवा र आईएमई पेमा खोलिएको खातामा भुक्तानी लिने गरेको छ ।

प्रिमियम अकाउण्ट सोलुसन्स नामक अर्को फेसबुक पेजमा त झन् पेपाल देखि नेटफ्लिक्सको भेरिफाइड अकाउन्ट नै अफर गरिएको छ ।

जसमा नेटफ्लिक्स बाहेकको पेपाल अकाउण्टका लागि दुई हजार रुपैयाँ र नेटफ्लिक्स सहितको अकाउन्टका लागि २५ सय रुपैयाँ लाग्ने उल्लेख गरिएको छ । यो पेज सञ्चालकले भने ईसेवा, खल्ती, आईएमई पेसँगै बैंक ट्रान्सफर मार्फत समेत रकम प्राप्त गर्ने गरेको थाहा हुन आएको छ ।

ए२जेड अनलाइन नामक अर्को पेज समेत बूस्ट गरिएको छ । लक डाउन अवधिका लागि विशेष अफर भन्दै विज्ञापन गरिरहेको यो पेजमा मासिक सात सय रुपैयाँदेखि २१ सय रुपैयाँसम्मका प्याकेज रहेको उल्लेख छ । यो पेज बनाउने व्यक्तिले खल्ती र ईसेवामा खोलिएको खातामा रकम बुझ्ने गरेको देखिन्छ ।

तर ईसेवाका प्रमुख सञ्चालन अधिकृत (सीओओ) रोशन लामिछाने भने आफूहरुले नेटफ्लिक्सका लागि भुक्तानी लिने कुनै व्यवस्था नगरेको बताउँछन् । ‘वालेटमा व्यक्तिगत खाता खोलेर कसैले नेटफ्लिक्स बापतको भुक्तानी भने लिएका हुनसक्छन्,’ उनी भन्छन्, ‘तर नेटफ्लिक्समा नेपालबाट भुक्तानी गर्न मिल्ने व्यवस्था तयार भइसकेको छैन । त्यसरी नेटफ्लिक्सको नाममा भुक्तानी लिनु बदमासी हो । जानकारीमा आएसम्म तथा आशंका लागेपछि त्यस्ता खाताहरुमा हामी स्वयम् पनि निगरानी बढाउँछौँ ।’

नेपाल राष्ट्र बैंकको विदेशी विनिमय विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रले यसरी रकम अशुल्ने कार्य गैरकानूनी भएको बताए । ‘फेसबुक, गूगल लगायतको विज्ञापनका लागि यहाँबाट भुक्तानी गर्ने कार्यमा समेत रोक लगाइएको छ,’ उनले भने, ‘यस्तो अवस्थामा नेटफ्लिक्सका लागि रकम उठाउने र भुक्तानी गर्ने गतिविधिमा संलग्न उपर समेत कारबाही अगाडि बढाउछौँ ।’

नेपाल प्रहरीको साइबर ब्युरोका एसएसपी नविन्द अर्यालले यस्तो कार्यमा प्रतिव्यक्ति दुई सय देखि तीन हजारसम्म अशुल्दै ठगी गर्ने कार्य भइरहेको जानकारी आफूहरुले प्राप्त गरेको बताए । ‘यो सानो रकमको ठगी भएकाले अपराध महाशाखाले नै कार्बाही अगाडि बढाइरहेको छ,’ यस्तै माध्यमबाट अलि जटील र ठूला किसिमका केसहरु आएको खण्डमा भने हामी आफै अग्रसर हुन्छौँ ।’

महानगरीय अपराध महाशाखा अन्तर्गतको साइबर पिलर प्रमुख लिलाराज डाँगीले लकडाउन यता त्यस किसिमको उजुरी प्राप्त नभएको बताए । ‘कुनै उजुरी आएको खण्डमा तथा जानकारी प्राप्त भएको अवस्थामा निश्चित रुपमा हामी कारबाही प्रक्रिया अगाडि बढाउँछौँ,’ उनले भने ।

नोटः व्यक्तिगत गोपनीयताको सम्मान गर्दै डिजिटल वालेटमा रकम प्राप्त गर्न प्रयोग भएका मोबाइल नम्बरहरु र नाम समाचारबाट हटाइएको छ । यसबाट पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौँ । स.

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३