close

अब नबिलको अनलाइन बैंकिङबाटै थोक भुक्तानी गर्न सकिने

टेकपाना टेकपाना

बैशाख १७, २०७७ २०:५७

अब नबिलको अनलाइन बैंकिङबाटै थोक भुक्तानी गर्न सकिने

काठमाडौं । नबिल बैंकले आफ्ना व्यवसायीक ग्राहकका लागि ई एट नबिल कर्पोरेट इन्टरनेट बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ अर्थात कोरोना भाइरसको महामारीको समयमा सुरक्षित कारोबारको सुविधा प्रदान गर्ने उद्देश्यले यस्तो सेवा सुरु गरेको हो ।

ई एट नबिल सेवा एसएमई, मीड कर्पोरेट तथा ठूला कर्पोरेटहरुलाई प्रदान गरिने इन्टरनेट बैंकिङ्ग सेवा हो । जसमार्फत नबिल बैंकमा खाता भएका ग्राहक स्वयमले नै चाहेको पक्षलाई रकम भुक्तानी गर्न सक्नेछन् ।

साथै ग्राहकले देशका अन्य बैंक तथा वित्तीय संस्थाहरुमा रहेका खातामा पनि सजिलै भुक्तानी गर्नुका साथैे बैंक शाखामा नगएर आफ्नै कार्यालयबाट थोक भुक्तानीहरु समेत गर्न सक्छन् ।

नबिल बैंकका प्रमुख कार्यकारी अध्यक्ष अनिल केशरी शाहले व्यावसायीक ग्राहकलाई सरल, सहज र छिटो वित्तीय सेवा प्रदान गर्ने उत्कृष्ट प्रणालीको रुपमा यो सेवा सञ्चालनमा ल्याइएको बताए ।

उनले भने, ‘यस प्रणालीमार्फत हाम्रा ग्राहकवर्गले सजिलै छोटो समयमा स्वयम् रकमान्तरण गर्न सक्छन् । अब वित्तीय कारोबार गर्न नियमित बैंकमा आइरहनु पर्दैन ।’

देशभर ११८ शाखा र १७५ एटीएम काउण्टर रहेको नबिल बैंक नेपाली बैंकिङ क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्ने कार्यमा अग्रणी भूमिका खेल्दै आएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३