close

लकडाउनमा १५ करोडसम्म लगानी भएका आईटी उद्योग खोल्न पाइने

टेकपाना टेकपाना

बैशाख २७, २०७७ १५:७

लकडाउनमा १५ करोडसम्म लगानी भएका आईटी उद्योग खोल्न पाइने

काठमाडौं । १५ करोड रुपैयाँसम्म लगानी भएका आईटी उद्योगहरुलाई लकडाउन लागु नहुने भएको छ । सरकारले शुक्रबारदेखि अत्यावश्यक उत्पादन गर्ने उद्योगसँगै घरेलु तथा साना उद्योग सञ्चालन गर्न अनुमति दिएको हो ।

उद्योग सचिव चन्द्रकुमार घिमिरेले मन्त्रिपरिषदको निर्णयअनुसार घरेलु तथा साना उद्योगको दायरामा पर्ने सबै उद्योगहरु सञ्चालन गर्न मिल्ने बताए । ‘यसको अर्थ घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भएका उद्योग मात्र सञ्चालन गर्न पाउने भन्ने होइन,’ टेकपानासँग कुराकानी गर्दै उनले भने, ‘जहाँ दर्ता भए पनि १५ करोड रुपैयाँसम्मको लगानी भएका आईटी लगायतका सबै उद्योग सञ्चालन गर्न दिने भनिएको हो ।’

उद्योग व्यवसाय ऐन २०७६ ले लगानीको आधारमा लघु, घरेलु तथा साना, मझौला र ठूला उद्योगको रुपमा वर्गीकरण गरेको छ । जसमा लघु तथा घरेलु उद्योग बाहेकका १५ करोड रुपैयाँसम्म स्थिर पूँजी भएका उद्योगहरु साना उद्योगको रुपमा समेटिएको छ ।

गएको बुधबार बसेको मन्त्रिपरीषदको बैठकले गरेका नं ४ (छ) को दुईमा ग्याँस बोटलिङ, घरेलु र साना उद्योग, निर्यातजन्य र विशेष आर्थिक क्षेत्रमा सञ्चालित उद्योगहरु र सिमेन्ट तथा डण्डी जस्ता निर्माणजन्य लगायतका उद्योग सञ्चालन गर्न दिने निर्णय गरेको थियो । मन्त्रीपरिषदले गरेको निर्णय हेर्न यहाँ क्लिक गर्नुहोस् ।

तर, १५ करोड रुपैयाँभन्दा बढी लगानी भएका आईटी उद्योगहरु भने लकडाउनको समयमा सञ्चालन हुन नपाउने उद्योग सचिव घिमिरेले बताए । दूरसञ्चार तथा इन्टरनेट सेवाप्रदायक कम्पनीका लागि भने यस अघि नै सञ्चालनको बाटो खुलिसकेको छ ।

तर उत्पादन प्रक्रियामा संलग्न श्रमिक तथा कामदारलाई उद्योग प्रतिष्ठानले छुट्टै स्थानमा राख्ने बन्दोबस्त मिलाई काममा लगाउनुपर्नेछ । आफ्नो प्रतिष्ठानभित्र पर्याप्त स्थान नभएमा सम्बन्धित स्थानीय निकायको समन्वयमा सम्बन्धित वडाभित्र सार्वजनिक सामुदायिक भवन वा सरकारी तथा निजी विद्यालय वा खाली स्थानमा स्थानीय व्यक्तिहरुसँग सम्पर्क नहुने गरी उद्योग व्यवसायहरु सञ्चालन गर्ने व्यवस्था मिलाउनुपर्ने छ ।

#अपडेट सहित

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१