close

ब्लगः अनलाइनको जागिर

सुदन दुलाल सुदन दुलाल

बैशाख ३०, २०७७ १६:५३

ब्लगः अनलाइनको जागिर

पेसाको हिसाबले म विगत दश वर्षदेखि सूचना प्रविधिको क्षेत्रमा कार्यरत छु । सामान्य आर्थिक पृष्ठभूमिबाट आएको मैले पनि सुरुवाती समयमा अरु समान्य विद्यार्थीले जस्तै कमाउनुपर्छ भन्ने सोचाईं राख्थें ।

अहिलेका विद्यार्थीहरुकै जस्तो मेरा लागि पनि त्यतिखेर पकेट खर्च मात्रै भएपनि आफै कमाउने चाह हुन्थ्यो । पत्रिकामा आउने वर्गीकृत विज्ञापन नै हामी धेरैका लागि जागिर खोज्ने सहारा थिए । यस्तै विज्ञापनले नै मलाई अनलाइन रोजगारीसँग परिचय गरायो । 

त्यतिखेर एसएलसी पछिको फुर्सदको समय कम्प्युटर तालिम लिने चलन थियो । मैले पनि त्यसै अनुसार बेसिक कम्प्युटर ट्रेनिङ, माइक्रोसफ्ट अफिस सर्टिफिकेसन ट्रेनिङ लिएँ । अनलाइन रोजगारीबाट मासिक १५/२० हजार कमाउने मौका, छिटो सम्पर्क गर्नुहोस्, यस्तै विज्ञापनले मेरो ध्यान तान्यो ।

सोचेँ, अब मेरो कमाउने सपना छिट्टै पुरा हुने भयो । बिहान प्लस टुको पढाई, अनि दिउँसोको अनलाइनको जागिर । अनि मैले अनलाइन जागिरको ट्रेनिङ लिन सुरु गरें ।

क्याप्चा सोल्भिङ एण्ड सेल्फ क्लिकिङ एड सेन्स, सफ्टवेयर, अकाउण्ट, मास्टर कार्ड, रजिष्ट्रेसन फी जस्ता शिर्षकहरुमा करिब १० हजार जति खर्च गरें । ट्रेनिङ एक हप्ताको थियो । तालिम सकिने बित्तिकै लाग्यो महिनामा १०/१५ हजार त कहीँ जाँदैन । अब मज्जाले कमाइन्छ ।

सेल्फ क्लिक, विभिन्न सफ्टवेयरहरुको प्रयोग गरी आफैले आफ्नो ब्लगमा एडहरु क्लिक गर्ने, ग्रुपहरु बनाएर एक्सचेञ्ज मेथड प्रयोग गर्ने जस्ता तरिका हामीलाई सिकाईको थियो । त्यहीअनुसार काम गर्दा एड सेन्स अकाउन्टमा डलर कमाइ हुन थालेको संकेत पनि देखियो ।

पछि बुझियो । जुन तरिका हामीलाई सिकाएको थियो, त्यो त ब्ल्याक ह्याट मेथड पो रहेछ । जसले गर्दा एड सेन्स अकाउन्ट नै निलम्बनमा पर्‍यो ।

अनि महिनामा १५/२० हजार अनलाइनबाटै कमाउने कुरा भ्रम रहेछ भन्ने बुझियो । त्यति कमाउन त धेरै मेहनत, सीप, सही ज्ञान, तौर तरिका, लगाव अनि यस्तै धेरै चिज खाँचो पर्ने रहेछ । 

सन् २००८-०१० तिर ब्ल्याक ह्याट एड सेन्स मेथडबाट कमाउनेहरू पनि थिए । तर यसको लागि तरिका जान्नु पर्ने रहेछ । जुन हामीलाई सिकाइएकै थिएन ।

यो त सोझा-सिधा बेरोजगारहरुलाई जालमा पारेर पैसा कमाउन जान्नेहरुको एक प्रकारको जुक्तिसहितको ठगी थियो । यसमा लागेर कमाउने एकदमै थोरै, अनि गुमाउने धेरै भए ।

केही सीमित ब्लगरहरु, एड सेन्समा काम गर्न जानेकाहरु, अनि यस्तै विभिन्न प्लेटफर्महरुमा लागेर कमाउने नेपालीहरु पनि थिए । तर सिकाउने वा अहिले जस्तो खुला रुपमा प्रायः यसैगरी कमाउन सकिन्छ भनेर सही जानकारी दिनेहरु भेट्न मुस्किल नै थियो ।

अनलाइन जब: मेरो बुझाई

जब यस प्रकारको ट्रेनिङबाट पैसा कमाउन खोज्दा उल्टै पैसा फसेपछि मैले आफ्नै तरिकाले गूगल-याहूको सहारामा केही बुझ्ने कोसिस गरें । अनलाइन जब/फ्रील्यान्सिङ भनेको इन्टरनेटको प्रयोग गरी आफूले जानेको सीपको आधारमा विभिन्न प्लेटफर्ममा काम गर्ने विषय रहेछ ।

त्यो समयमा मैले सरल भाषामा बुझेको अनलाइन जब तथा फ्रील्यान्सिङ यही थियो । यसैबीच मैले कम्प्युटर ट्रेनिङ लिएको ठाउँमा आधारभूत कम्प्युटर तालिम दिने तथा मन लागेको कोर्ष सिक्ने मौका पाएँ ।

त्यसपछि एड्भान्स एप्लिकेसन प्रोग्रामिङ सिक्ने क्रममा मैले पूर्ण रुपमा कम्प्युटर प्रविधिमा जम्ने निधो गरें। आफूले सिक्ने अनि सिकाउने क्रममा मैले गूगल एड सेन्सबाट आम्दानी गर्न ब्लग लेख्नुपर्ने अनि गूगलका नियमहरुमा रहेर काम गर्नुपर्ने रहेछ भन्ने बुझ्न थालें ।

थोरै जान्ने भएपछि ब्लगहरु लेख्न सुरु गरें । समयको रफ्तारसँगै मैले सफ्टवेयर कम्पनीमा सफ्टवेयर ट्रेनिङ अफिसरबाट आफ्नो जागिर सुरु गर्ने मौका पाएँ ।

हो त्यहिँबाट मैले इल्यान्स ओ डेस्क, अहिलेको अपवर्क, फ्रील्यान्सर, एसईओ, सीपीए एण्ड एफिलियट मार्केटिङजस्ता अनलाइन जब गर्न सकिने प्लेटफर्महरुका बारेमा जानें । त्यसक्रममा केही काम पनि गरें । साथसाथै केही नयाँ काम गर्नलाई अरु सीपहरु पनि सिक्ने जमर्को गरें ।

अनि मैले बुझें, नेपालबाट यस्तो प्लेटफर्ममा काम गर्न त धेरै नै मेहनत अनि सीपमा पोख्तता चाहिने रहेछ । हामीलाई सिकाउने, बाटो देखाउने कोही पनि थिएनन् ।

न त व्यक्ति, न त अहिले जस्तो युट्युव, प्रविधिका ट्युटोरियल ब्लगहरु, अनलाइन भिडियो लर्निङ प्लेटफर्महरु नै थिए । जे जति गरियो, गूगलकै भरमा गरियो ।

मैले खासगरी डेटा इन्ट्रीका काम गरें । तर त्यो काम पाउन पनि सजिलो थिएन । प्रपोजलहरु बिड गर्न जान्नु पर्ने हुन्थ्यो । यसमा नेपालीभन्दा भारतीय र पाकिस्तानीहरु अगाडि हुन्थे ।

त्यो समय हाम्रा लागि ल्याण्डलाइन फोन र डायलअप इन्टरनेट कनेक्सन हुनु प्रतिष्ठाकै विषय थियो । मैले साइबर अनि डायलअप इन्टरनेट भएका आफ्ना नजिकका मित्रकोमा गएर भएपनि सिक्ने, काम गर्ने मेसो मिलाएँ ।

वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यतामा मेरो परिवारमा पनि थियो । अनि यही वैदेशिक रोजगारी मेरो लागि कम्प्युटर, ल्याण्डलाइन फोन र डायलअप इन्टरनेट कनेक्सनको सहज व्यवस्था बन्यो ।

जसले गर्दा मैले मेरो अनलाइन जागिरलाई अझ अगाडि लैजान सकें । समयको गतिसँगै नेपाल पनि विस्तारै सूचना प्रविधिको क्षेत्रमा अगाडि बढ्यो ।

एडीएसएल इन्टरनेटको पहुँचसँगसँगै अनलाइन रोजगारीको चर्चा दिनप्रतिदिन बढ्दै गयो । त्यही गूगल एड सेन्स, ब्ल्याक ह्याट मेथड, क्याप्चा सोल्भर, डेटा इन्ट्रीहुँदै ट्रान्स्क्रिप्सन अनि अन्य कामहरु बजारमा विस्तार भए ।

तर यसमा लागेर कमाउने एकदमै थोरै अनि गुमाउने धेरै भए । मैले मेरो आफ्नो नियमित रोजगारी अनि अनलाइन जब सँगसँगै लगिरहेको थिएँ । बीचमा अफिसमा कामको व्यस्तता बढेपछि मैले केही समय अनलाइनका कामहरुबाट बिश्राम लिएँ । यो त्यस्तै २०१३ तिरको कुरा हो ।

फेरी मैले अनलाइनमा आफ्नो सक्रियता बढाउने सोच बनाएँ । नयाँपन के आयो, के गर्न सकिन्छ भन्ने बुझ्दै जाँदा त्यतिखेर पनि गूगल एडसेन्स नै अगाडि थियो । अनि मैले २०१३/०१४ तिर फेरी अनलाइनमा सक्रियता बढाएँ ।

त्यो समयमा पनि अनलाइन जबका लागि नामी कम्पनीले त्यही ब्ल्याक ह्याट मेथड नै सिकाई रहेका थिए । यो विधिबाट केहीले कमाएका पनि होलान् । तर प्रायः ब्ल्याक ह्याट मेथडले गर्दा गूगल एड सेन्स अकाउन्ट ब्लक हुन्थ्यो ।

महिनाभरको मेहनत, विभिन्न शिर्षकमा बुझाएको रकम फेरी पनि ठगीमा पर्दथ्यो । ठगी हुने काम रोकिएको थिएन । त्यस्तो ठगी अहिले झन् परिष्कृत रुपमा मौलाएको छ ।

२०१५ सम्म एसईओ (सर्च इन्जिन अप्टिमाइजेसन), सीपीए, एफिलियट मार्केटिङजस्ता विषयमा सिक्दै, फ्रिल्यान्सिङ प्लेटफर्ममा सक्रिय भएर काम गर्न थालें । तर सोचेको जस्तो सजिलो भने भएन । प्रतिस्पर्धा एकदमै बढेको थियो ।

प्राविधिक कुराहरु दिन प्रति दिन नयाँ नयाँ रुपमा आउन थाले । सँगैसँगै अध्ययन बढाउनुपर्ने भयो । युट्युव,  युडेमी, अनलाइन ट्युटोरियल ब्लगहरुको सहयोग लिँदै अनेक प्लेटफर्ममा काम गर्न थालें ।

बीचमा सीपीए, एफिलियट मार्केटिङ प्लेटफर्महरुमा आम्दानी गर्न सकिन्छ भनेर ट्रेनिङ लिने, भिडियोहरु हेर्ने, फोरम, ब्लगहरुबाट सिक्ने क्रममा सुरुवातमा प्रयोग गरिएको मेथड पनि ब्ल्याक ह्याट नै रहेछन् ।

यस्तो मेथडबाट काम गर्दा अकाउण्ट ब्लक, आम्दानी हातपार्न नसक्ने जस्ता समस्या आउँछन् । यस्तो मेथड प्रयोग गर्नु भनेको त्यस्ता प्लेटफर्महरुको नियम अनि पोलिसीको विपरीत हुन जान्छ ।

यही चिज हामीले बुझेका हुँदैनौं । अनि यस्ता मेथडहरु सिकाउने अनि सिक्न लाग्दा आम्दानीभन्दा लगानी फस्ने जोखिम बढी हुन्छ । यो क्रम अझैसम्म जारी छ ।

२०१७ बाट फाइभर फ्रिल्यान्सिङ मार्केट प्लेसमा आवद्ध भएर काम गर्न थालें । सुरु सुरुमा त्यसमा पनि टर्म्स एण्ड कन्डिसन मिचेर कमाउने ध्यानमा लाग्दा फेरी पनि अकाउण्ट बन्दको सिकार हुनुपर्‍यो । २०१८ देखि फाइभर एण्ड एफिलिएट पब्लिसरको रुपमा कामहरु गर्दै आएको छु ।

मेरो अनुभव अनलाइन जब होस् वा फ्रिल्यान्सिङ जब, या त अरु कुनै पनि क्षेत्र होस्, जब जब हामी छोटो समयमै टन्न पैसा कमाउने लालसा बोकेर अगाडि बढ्छौं, प्रवेश गर्दाकै बखत ठगहरुको सिकार बनिसकेका हुन्छौं ।

कुनै पनि अनलाइन प्लेटफर्म वा अनलाइन जबमा पैसा फल्ने कुनै जादुमयी विधि हुँदैन । लगाव, सीप, धैर्यता अनि दिन प्रति दिन बदलिँदो प्रविधिको बारेमा जानकार भएर काम गर्न सके मात्र आम्दानी गर्न सकिन्छ ।

के हो अनलाइन तथा फ्रिल्यान्सिङ जब ?

विभिन्न तरिका अनि सीप अनुसारका अनलाइन जब वा फ्रिल्यान्सिङ प्लेटफर्महरुमा लागेर आम्दानी गर्न सकिन्छ । अहिले पनि गूगल पब्लिसर भएर ब्लग, वेबसाइटहरुमा गूगल एड सेन्सको प्रकिय्रा पुर्‍याएर कमाउन सकिन्छ ।

ब्लग लेख्न जान्नेहरुलाई यो पहिलो बाटो हो । एड्स पब्लिसर बनेर कमाउन अरु थुप्रै प्लेटफर्महरु पनि आएका छन् । फेसबुक इन्स्ट्यान्ट आर्टिकल अर्को चलनचल्तीको अनलाइन आम्दानीको विकल्प हो ।

युट्युव, डेली मोसन जस्ता भिडियो कन्टेन्ट राखेर एड पब्लिसरको रुपमा समेत आम्दानी गर्न सकिन्छ । तपाईंसँग डेटा इन्ट्री, वेबसाइट डिजाइन, लोगो डिजाइन, सफ्टवेयरको काम, जनरल सफ्टवेयर इस्यु फिक्सिङ, ईमेल राइटिङ, कन्टेन्ट राइटिङ लगायतका सीपहरु छन् भने अपवर्क, फ्रिल्यान्सर, फाइभर, पिपुल पर आवर, ९९ डिजाइनजस्ता थुप्रै प्लेटफर्महरुमा लागेर आफ्नो सीप प्रयोग गरेर अनलाइनबाटै आयआर्जन गर्न सक्नुहुन्छ ।

सोसल मिडिया मार्केटिङ, ड्रप शिपिङ, ड्रप सर्भिस जस्ता भखरै सुरु भएका क्षेत्रमा आवश्यक सीप सिकेर काम सुरु गर्न पनि मिल्छ । 

अनलाइन जबको भ्रम

अनलाइन जब गरेर सामान्य ज्ञानकै आधारमा रातारात मासिक २५-३० हजारदेखि लाखौँँ रुपैयाँ कमाउन सकिन्छ भनेर आउने विज्ञापन वास्तवमा मीठा सुनिने भ्रम मात्र हुन् ।

आफू मेम्बर बन्ने अनि अरुलाई मेम्बर बनाउने । पिरामिड शैली (नेटवर्किङ व्यवसायको शैली) तथा समूहरु बनाएर त्यस बापत कमिसन आउने । 

वास्तवमा यो चाहिँ अनलाइन जब होइन । यो त केवल सामाजिक सञ्जाल तथा इन्टरनेटमा विज्ञापन गरेर बेरोजगारीको हल खोजिरहेकासम्म पुगेर डिजिटल मार्केटिङ, अनलाइन मार्केटिङको नाममा हुने ठगी मात्र हो ।

फेक स्क्रीनसट इडिट गरेर आफूले एक महिनामा यति हजार डलर आम्दानी गरेको भन्दै प्रदर्शन गर्ने, लोभ तथा प्रलोभनमा पारेर मेम्बरशिप बिक्री गर्ने, अनि मेम्बरशिप बेच्न सिकाउने काममा अथवा  विभिन्न आर्थिकस्तर बढाउने खाले स्किम सहितको अनलाइनबाट गरिने सजिलो काम भन्ने कुराहरुमा झुक्किएर पनि नलाग्नुहोस् ।

त्यस प्रकारको काममा नफस्नु हुनु मेरो अनुरोध छ । डिजिटल प्रडक्ट तथा ट्रेनिङहरु बिक्री गर्नु राम्रो हो । तर डिजिटल प्रडक्ट तथा ट्रेनिङहरुबाट अनलाइनमा काम गर्न सिकाउने नाममा फेरी त्यही चिजको लागि अरु मेम्बर बनाउन लगाउने र त्यही प्रडक्ट बिक्री गर्न लगाउने तरिकालाई चाहिँ राम्रो मान्न सकिन्न ।

मेम्बर बनाउने, मेम्बरशिप बेच्ने तरिकामा लगाउने खर्चले  बरु कुनै सीप सिक्न सिक्नुहोस् । अहिले युट्युव, भिडियो लर्निङ प्लेटफर्म, ट्युटोरियल, ई-बूक, फ्री अनलाइन ट्रेनिङ जस्ता सीप सिक्ने अनेक माध्यम सहजै उपलब्ध छन् ।

यस्ता प्लेटफर्ममा समय दिनुभयो भने आवश्यक ज्ञान प्राप्त गर्न सक्नुहुन्छ । अनि त्यही ज्ञानलाई प्रयोग गर्नेतर्फ लाग्नु नै बुद्धिमानी हुन्छ । हामी धेरैजसो सिक्न अनि धैर्यतामा बसेर काम गर्न चाहँदैनौं । बरु यस्तै मीठ‍ा अनि लोभलाग्दा भ्रममा  पर्छौं र ठगिन पुग्छौं ।

सामाजिक सञ्जाल, इन्टरनेट तथा अन्य माध्यमबाट प्रसारित यस्ता विज्ञापनहरुको आधिकारिता तथा कमाईको आधिकारिकतालाई केलाउनु र त्यस्ता प्लेटफर्मका बारेमा सम्पूर्ण जानकारी लिन जरुरी छ । साथै अहिले फेसबुक तथा अन्य सामाजिक सञ्जालहरुमा विभिन्न पेज, ग्रुपहरुमा अनलाइन जब तथा फ्रिल्यान्सिङ प्लेटफर्महरुबाट घरमै बसेर काम गर्ने तथा कमाउने सूचना तथा जानकारीहरु लिनेदिने आधिकारिक माध्यम पनि छन् ।

त्यस्ता पेज तथा ग्रुपहरुमा आफूलाई लागेको कुरा सोध्ने, अनि आफूले गर्न लागेको अनलाइन जबको बारेमा जानकारी लिन सकिन्छ । 

छोटो समयमा धेरै पैसा कमाउन हतार गरेर फुर्सदमा पछुताउनु भन्दा समय लगाएर राम्रोसँग बुझेर काम गर्न थाल्नुभयो भने अनलाइन जब तथा फ्रिल्यान्सिङको माध्यमबाट घरमै बसेर आफ्नो सीप अनुसारको कमाई गर्न सक्नुहुन्छ ।

नेपालमै बसेर विभिन्न प्लेटफर्ममा लागेर राम्रो आम्दानी गर्नेहरु धेरै छन् । तर छोटो समय अनि सामान्य ज्ञानले महिनादिनमै हजारौं डलर कमाउने कुरा भने दिवास्वप्न मात्र हो । यो त केवल प्रलोभन देखाएर ठगी गर्न पल्केकाहरुले बाँड्ने मीठो भ्रम मात्र हो ।

अनलाइन जबका नाममा हुने ठगीबाट आफू बचौं अनि अरुलाई पनि बचाऔं । सीप सिकौं । ज्ञान बढाऔं । अनलाइनमा आम्दानी गरौं ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१