close

नेपालमा हुने तेस्रो ह्याकर सम्मेलन स्थगित, २० जुनमा भर्चुअल सीटीएफ हुने

टेकपाना टेकपाना

जेठ २४, २०७७ २१:४२

नेपालमा हुने तेस्रो ह्याकर सम्मेलन स्थगित, २० जुनमा भर्चुअल सीटीएफ हुने

काठमाडौं । आगामी सेप्टेम्बर २३–२५ मा हुने भनिएको ह्याकरहरुको सम्मेलन स्थगित भएको छ । कोरोनाभाइरसको महामारी र जारी लकडाउनका कारण सम्मेलन स्थगित गरिएको हो ।

दुई संस्करण सफलतापूर्वक सम्पन्न गरिसकेको थ्रेटकनको तेस्रो संस्करणको रुपमा आयोजना हुने भनिएको सम्मेलन तीन महिनाभन्दा धेरै समय बाँकी छँदै स्थगित हुन पुगेको छ ।

लकडाउन खुल्ने अनिश्चितता कायमै रहेका बेला पर्याप्त तयारी गर्न समेत समय अभाव हुने भएकाले यस पटकको सम्मेलन रद्द गर्नुपरेको आयोजक थ्रेटनिक्सका संस्थापक सचिन ठकुरीले जानकारी दिए । ‘यस पटकको इभेन्ट स्थगित भए पनि आशा गरौं २०२१ मा हामी फेरी भेट्नेछौं,’ उनले भने ।

सन् २०१८ को नोभेम्बर २१ देखि २३ मा पहिलो पटक आयोजना भएको सम्मेलनमा चार सयभन्दा बढीको सहभागिता रहेको थियो भने गत वर्षको सम्मेलनमा तीन सय हाराहारीको सहभागिता जुटेको थियो । यस पटक भने थप भव्यताका साथ सम्मेलन आयोजना गर्ने योजना रहेको थियो ।

सम्मेलन स्थगित भए पनि साइबर सेक्युरिटी सम्बन्धी भर्चुअल प्रतियोगीता सीटीएफ आयोजना गरिनेछ । ठकुरीका अनुसार सेक्युरिटी इनोभेसन इन्कसँगको सहकार्यमा आगामी २० जुनमा तीन घण्टाका लागि हुने सीटीएफको रजिस्ट्रेसन समेत खुला भइसकेको छ ।

यहाँ क्लिक गरी इच्छुक व्यक्तिहरुले कार्यक्रमका लागि आफ्नो रजिस्ट्रेसन गराउन सक्नेछन् ।साइबर सुरक्षा सम्बन्धी प्रतिस्पर्धाको रुपमा आयोजना हुने यो कार्यक्रममा विजेतालाई पुरस्कारको समेत व्यवस्था गरिएको छ ।

ठकुरीका अनुसार सीटीएफमा प्रथमलाई १५ हजार रुपैयाँ, द्वितीयलाई १० हजार रुपैयाँ र तृतीयलाई पाँच हजार रुपैयाँ पुरस्कार उपलब्ध गराइनेछ । यस्तै टप टेनलाई समेत सम्मान स्वरुप उपहार प्याकेजको व्यवस्था गरिएको छ ।

थ्रेटनिक्सले नेपालमा साइबर सुरक्षा अभिवृद्धि गर्न तथा एथिकल ह्याकर संस्कृति विकास गर्ने उद्देश्यका साथ यस किसिमका गतिविधि गर्न थालेको हो ।

अन्तर्राष्ट्रिय रुपमा आयोजना हुँदै आएका ब्ल्याक ह्याट र डेफ कन जस्ता प्रशिद्ध ह्याकर सम्मेलनकै स्वरुपमा नेपालमा थ्रेटकनको वार्षिक सिरिजको सुरु भएको थियो ।

जसबाट डेभलपर, साइबर सुरक्षा क्षेत्रमा करिअर बनाउन चाहने युवा पुस्ता र प्रशासनिक क्षेत्रले लाभ उठाउँदै आएको छ ।

सम्मेलनको आयोजकको रुपमा रहेको थ्रेट निक्स नेपालमा आधारित साइबर सेक्युरिटी फर्म हो । जसले साइबर सुरक्षाको क्षेत्रमा अनुसन्धानसँगै विभिन्न सोलुसन्सहरु समेत उपलब्ध गराउँदै आएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०