close

मोबाइल र इन्टरनेटको गुणस्तर नाप्ने कार्य ठेक्कामा दिंदै नियामक !

टेकपाना टेकपाना

असार १, २०७७ १७:१३

मोबाइल र इन्टरनेटको गुणस्तर नाप्ने कार्य ठेक्कामा दिंदै नियामक !

काठमाडौं । दूरसञ्चार क्षेत्रको नियामक नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल तथा इन्टरनेट सेवाको गुणस्तर मापन गर्ने कार्य समेत ठेक्कामा दिने भएको छ । आगामी आर्थिक वर्षको वार्षिक कार्यक्रम मार्फत नियामकले दूरसञ्चार सेवाको गुणस्तर मापन जाँच गरी अध्ययन तथा विश्लेषण गर्ने कार्य परामर्शदातालाई दिने तयारी गरेको हो ।

प्राधिकरण सञ्चालक समिति बोर्डले भर्खरै पारित गरेको नियामकको वार्षिक कार्यक्रममा दूरसञ्चार सेवाको गुणस्तर मापनका लागि ७० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । योजनाअनुसार आगामी कात्तिक मसान्तसम्ममा कार्य विवरण सहित आसयपत्र तयार गरि परामर्शदाता छनौटको प्रकृया अगाडि बढाइनेछ ।

फागुन मसान्तसम्ममा परामर्शदाता नियुक्त गरी दूरसञ्चार सेवाको गुणस्तरको मापत तथा विश्लेषण सहितको प्रतिवेदन प्राप्त हुने बताइएको छ । सोही प्रतिवेदन अध्ययन गरी सेवाप्रदायकलाई आवश्यक निर्देशन दिने नियामकको योजना छ ।

यसरी विभिन्न मोबाइल तथा इन्टरनेट सेवा प्रदायक कम्पनीले दिने सेवाको गुणस्तरको अवस्था पहिचान गर्न सकिने नियमनकारी निकायको बुझाई छ । जसबाट सेवाको गुणस्तर सुधारका लागि आवश्यक क्षेत्र समेत यकिन हुने र सेवा प्रवाहमा सुधार आउने प्राधिकरणले जनाएको छ ।

नियमिततर्फको नयाँ कार्यक्रमको रुपमा प्राधिकरणले आफ्नो जिम्मेवारी परामर्शदातामार्फत पुरा गर्ने योजना बनाएको हो । यद्यपी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले स्वीकृत गरेपछि मात्र यो वार्षिक कार्यक्रम कार्यान्वयनमा आउनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०