close

चितवनदेखि प्युठानसम्म ९ जिल्लामा ब्रोडब्याण्ड इन्टरनेट नेटवर्क विच्छ्याउने कार्य सुरु

टेकपाना टेकपाना

असार २५, २०७७ १२:२५

चितवनदेखि प्युठानसम्म ९ जिल्लामा ब्रोडब्याण्ड इन्टरनेट नेटवर्क विच्छ्याउने कार्य सुरु

काठमाडौं । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले चितवन, नवलपुर, नवलपरासी, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, प्युठान, पाल्पा र गुल्मीगरी नौं जिल्लामा ब्रोडब्याण्ड इन्टरनेट नेटवर्क विस्तारको काम अघि बढाएको छ ।

ती जिल्लाहरुमा ब्रोडब्याण्ड इन्टरनेट नेटवर्क विस्तारका लागि दुई वटा प्याकेजमा परियोजना अघि बढाइएको छ । जसमध्ये चितवन, नवलपुर, नवलपरासी, रुपन्देही र कपिलवस्तुमा इन्टरनेट पूर्वाधार तथा सेवा विस्तारको जिम्मा सुबिसु केबल नेटवर्क प्रालीले पाएको छ ।

यसअघि प्राधिकरणले यी जिल्लामा ब्रोडब्यण्ड इन्टरनेट नेटवर्क विस्तारका लागि पहिलो पटक कात्तिकमा टेण्डर आह्वान गरेको थियो । जसमा आवेदन दिएका कुनै पनि कम्पनी योग्य नरहेको भन्दै बीचैमा टेण्डर प्रक्रिया नै रद्द गरिएको थियो । पुनः माघ महिनामा यसका लागि दोस्रो पटक टेण्डर आह्वान गरिएको थियो ।

उक्त टेण्डरमा प्राप्त आवेदक मध्ये सबैभन्दा कम कबोल गर्ने कम्पनीको रुपमा सुबिसु केबल नेटवर्क छनौट भएको प्राधिकरणले जनाएको छ । त्यसका लागि सुबीसु केबल नेटवर्कलाई ७८ करोड ४१ लाख ६० हजार रुपैयाँ अनुदान रकम उपलब्ध गराइने छ ।

त्यस्तै अर्घाखाँची, प्युठान, पाल्पा र गुल्मीमा अप्टिकल फाइबर विस्तारका लागि टेकमाइण्ड नेटवर्क प्रालि छनौट भएको छ । फागुन महिनामा भएको टेण्डर आह्वान परेका प्रस्तामध्ये सबैभन्दा कम प्रस्ताव पेस गर्ने कम्पनीको रुपमा यो कम्पनी छनौट भएको हो । टेकमाइण्डले ती चार जिल्लामा फाइबर नेटवर्क विस्तारका लागि ४० करोड ४९ लाख २१ हजार रुपैयाँमा अनुदान पाउने छ ।

प्राधिकरणका अनुसार यी दुवै परियोजना अन्तर्गत नौ जिल्लाका सबै स्थानीय तहका कार्यालय, वडा कार्यालय, स्वास्थ्य चौकी, र सामुदायिक तथा सरकारी विद्यालयहरुमा सम्झौता भएको मितिले एक वर्षभित्र उच्च गतिको इन्टरनेट पुर्‍याइ सक्नुपर्नेछ । परियोजना अन्तर्गत तयार हुने अप्टिलक फाइबर नेटवर्कबाट ती जिल्लामा सबै क्षेत्रमा ब्रोडब्याण्ड इन्टरनेटको पहुँच विस्तार हुने बताइएको छ ।

प्राधिकरणले दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायकबाट कुल वार्षिक आम्दानीको दुई प्रतिशत रकम संकलन गर्ने गरी ग्रामीण दूरसञ्चार विकास कोष बनाएको छ । सोही कोषमा जम्मा भएको रकम अनुदानमा उपलब्ध गराएर हाल विभिन्न प्याकेजमा देशभर ब्रोडब्याण्ड इन्टरनेट विस्तार गर्ने परियोजनाहरु अगाडि बढाइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३