close

आत्महत्याका भिडियो शेयर नगर्न साइबर ब्यूरोको अनुरोध, अन्यथा कारबाही

टेकपाना टेकपाना

असार २६, २०७७ १७:३९

आत्महत्याका भिडियो शेयर नगर्न साइबर ब्यूरोको अनुरोध, अन्यथा कारबाही

काठमाडौं । पछिल्लो समय फेसबुक लाइभमा आएर आत्महत्या गर्ने प्रवृत्ति देखिएको छ । यस किसिमका घटानप्रति ध्यानाकर्षण जनाउँदै नेपाल प्रहरीको साइबर ब्यूरोले त्यस्ता भिडियो शेयर गर्ने कार्य दण्डनीय हुने भन्दै कारबाहीको चेतावनी दिएको छ । 

कोरोनाभाइरसका कारण नेपाल समेत आक्रान्त भइरहेको अहिलेको समयमा मानसिक तनावका कारण आत्महत्याका घटनाहरु बढिरहेका छन् । यसै सन्दर्भमा फेसबुक लगायतका सामाजिक सञ्जालमा लाइभ आएर आत्महत्या हुने घटना समेत सार्वजनिक भइरहेका छन् ।

यसरी लाइभस्ट्रिमिङ गरी आत्महत्या गरेका घटनाका भिडियो सामाजिक सञ्जाल तथा अनलाइन पोर्टलमा अपलोड गर्ने, शेयर गर्ने र कमेन्ट गर्ने कार्य समेत हुने गरेको देखिएको छ । 

ब्यूरोले त्यस किसिमको कार्य सार्वजनिक नैतिकता एवम् शिष्टाचार विरुद्ध हुने, समाजमा घृणा तथा द्वेष फैलाउनुका साथै मानसिक पिडामा रहेका व्यक्तिहरुलाई आत्महत्या गर्न दुरुत्साहन पुर्‍याउने भन्दै ब्यूरोले त्यसप्रति गम्भीर चाँसो व्यक्त गरेको छ । ‘नेपालको प्रचलित कानून बमोजिम दण्डनिय भएकोले यस किसिमका कार्यहरु नगर्न नगराउनु हुन अनुरोध छ,’ ब्यूरोले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

साथै आत्महत्या गर्ने उद्देश्यले सामाजिक सञ्जालमा लाइभ स्ट्रिमिङ गर्न लागेको बारेमा कुनै जानकारी वा सूचना भएमा तत्काल प्रहरी कण्ट्रोल रुमको आकस्मिक नम्बर १००, नजिकैको प्रहरी कार्यालय वा ब्यूरोको टेलिफोन नम्बर ०१-४२१९०४४ तथा मोबाइल नम्बरहरु ९८५१२८६७७० र ९८५१२८६७७१ मा खबर गर्न आग्रह गरिएको छ ।

समयमै सूचना प्राप्त भएको अवस्थामा यस प्रकृतिका घटनामा सम्बन्धित सामाजिक सञ्जाल लगायत अन्य निकायको समन्वय तथा सहयोगमा त्यस्ता व्यक्तिको उद्धार गरेर जीवन रक्षा गर्न सम्भव हुने ब्यूरोले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३