close

ह्याकरले बिल गेट्स सहित ८ जनाको ट्वीटर डेटा डाउनलोड गरेको पुष्टि

टेकपाना टेकपाना

साउन ४, २०७७ १२:४८

ह्याकरले बिल गेट्स सहित ८ जनाको  ट्वीटर डेटा डाउनलोड गरेको पुष्टि

एजेन्सी । गत बिहीबार क्रिप्टोकरेन्सी (बिटक्वाइन) का लागि विश्व चर्चित व्यक्ति तथा कम्पनीको ट्वीटर अकाउण्ट ह्याक भयो । जसमा अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामा, भावी राष्ट्रपतिका डेमोक्रेटिक उम्मेदवार जो बाइडन, अर्बपतिहरू जेफ बेजोस, एलन मस्क, बिल गेट्स, र्‍यापर कानिय वेस्ट, माइकल ब्लुमबर्ग लगायतका ट्वीटर ह्याण्डल थिए ।

यस्तै एप्पल र उबर जस्ता कम्पनीका ट्वीटर ह्याण्डल समेत ह्याकरको निशानामा परेको थिए । ट्वीटरका अनुसार ह्याकरले त्यस दिन १३० अकाउण्टलाई टार्गेट गरेका थिए । जसमध्ये ४५ वटा अकाउण्ट ह्याक गर्न सफल भएको बताइएको छ ।

उक्त घटनमा आठ जनाको डेटा ह्याकरले डाउनलोड गर्न सफल भएको बताइएको छ । ट्वीटरकै कर्मचारीको सिस्टममा एक्सेस लिएर ह्याकरले ती अकाउण्टहरु ह्याक गरेको जानकारी ट्विटरले प्रारम्भिक अध्ययन कै क्रममा सार्वजनिक गरेको थियो । त्यस घटनामा ट्वीटरले निरन्तर अध्ययन गरिरहेको छ ।

ट्वीटरका अनुसार ह्याकरले ‘योर ट्वीटर डेटा’ नामक फिचरमार्फत ती आठ जना प्रयोगकर्ताको जानकारी डाउनलोड गरेको हो । कम्पनीले ती डेटामा डाइरेक्ट म्यासेज (डीएम) समावेश छन् कि छैनन् भन्ने विषयमा भने कुनै जानकारी दिएको छैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४