close

सूचना प्रविधि क्षेत्रबाट प्रा डा शशिधरराम जोशी बने इञ्जिनियरिङ संस्थानको पहिलो डीन

टेकपाना टेकपाना

साउन १०, २०७७ १३:४५

सूचना प्रविधि क्षेत्रबाट प्रा डा शशिधरराम जोशी बने इञ्जिनियरिङ संस्थानको पहिलो डीन

काठमाडौं । प्रा डा शशिधरराम जोशी त्रिभुवन विश्वविद्यालय इञ्जिनियरिङ अध्ययन संस्थानको डीनमा नियुक्त भएका छन् । यससँगै उनी इञ्जिनियरिङ संस्थानमा सूचना प्रविधि पृष्ठभूमिबाट डीनमा नियुक्त हुने पहिलो पदाधिकारी बनेका हुन् ।  

त्रिविको प्राविधिक संस्थानमा दुई महिनायता डीन पद रीक्त रहेको थियो । सर्च समितिले एक महिना अघि गरेको सिफारिसका आधारमा त्रिविले नयाँ डीन नियुक्त गरेको हो । ल्याबोरेटरी फर आईसीटी रिसर्च एण्ड डेभलपमेन्टका संस्थापक अध्यक्ष रहेका प्राध्यापक जोशीले ३५ वर्षदेखि संस्थापनमा अध्यापन गराउँदै आएका छन् । 

जोशीको नियुक्तिलाई राजनीतिक हस्तक्षेपभन्दा बाहिर रहेर निष्पक्ष रुपमा गरिएको नियुक्तीको रुपमा लिइएको छ । अध्ययन, अध्यापन र अनुसन्धानमा जोड दिँदै आएका प्राध्यापक जोशीको नियुक्तीले संस्थानमा थप सुधारको संकेत देखिएको छ। 

राजनीतिक रुपमा बामपन्थी धारका मानिएका उनको नियुक्तीलाई पूर्ववर्ती डीनहरु प्रा डा रामकृष्ण पौडेल, प्रा डा जीवराज पोख्रेल, वावुराम भट्टराई, प्रा डा भरतराज पहारी, प्राडा त्रिरत्न बज्राचार्य, प्रा रामचन्द्र सापकोटा आदिको नियुक्तिभन्दा फरक रुपमा हेरिएको छ । 

प्रा रामचन्द्र सापकोटा, प्रा डा भद्र पोखरेल र प्रा डा रामकृष्ण महर्जनको सर्च समितिले प्राज्ञिक विशिष्टतालाई आधार बनाएर तीन जनाको नाम डीनका लागि शिफारिस गरेको थियो । जसमा क्रमशः प्रा डा शशिधरराम जोशी, प्रा डा शुशिलबहादुर बज्रचार्य र प्रा डा नवराज कार्की प्रतिस्पर्धामा रहेका थिए । प्रा बज्राचार्य योजनाका सहायक डीन हुन भने प्रा कार्की इलेक्ट्रिकल विषयमा स्नातकोत्तर प्रोग्राम कोअर्डिनेटर छन् ।

रिजनल कलेज अफ इन्जिनियरिङ, साउथ गुजरात युनिभर्सिटीबाट इलेक्ट्रिकल ईन्जिनियरिङ बिषयमा टप पोजिसन, युनिभर्सिटी अफ क्यालगरी क्यानडाबाट स्नातकोत्तर र त्रिवि-जापान-नर्वेको स्याण्डविच कार्यक्रमबाट विध्याबारिधी गरेका प्रा जोशीको एकेडेमिक ट्र्याक रेकर्ड राम्रो छ । उच्च मनोबल सहितको अध्यापन शैलीका कारण उनी सबै विद्यार्थीका प्रिय शिक्षकको रुपमा परिचित छन् ।

आर्टिफिसियल इन्टेलिजेन्स, डेटा साइन्स, नेटवर्किङ लगायत थुप्रै विषयमा दख्खल राख्ने प्रा जोशीले संस्थानमा इलेक्ट्रोनिक्स र कम्प्युटर साइन्सका सबै विषय अध्यापन गराइसकेका छन् । २०५० को दशकमा प्रा डा राजेन्द्रधोज जोशी डीन हुँदा सहायक डीन रहेका उनीले पछिल्ला दिनहरुमा विभागिय प्रमुख, रिसर्च समिति अध्यक्ष, विषयगत विद्यापरीषद अध्यक्ष, सञ्चार प्रविधि केन्द्रको निर्देशक लगायत थुप्रै पदहरु सम्हालिसकेका छन् । 

साउथ एसियन युनिभर्सिटी लगायत थुप्रै अन्य देशका विश्वविध्यालयहरुमा गेस्ट लेक्चररको रुपमा समेत काम गरिसकेका प्रा डा जोशी २०४२ सालदेखि नै पुल्चोक इञ्जिनियरिङ संस्थानमा अध्यापन गराउँदै आएका छन् ।

२०४१ सालमा खानी विभागको सिस्मोलोजी ल्यावमा जागिर गरिरहेका उनी त्यहाँ नियुक्तभएको ९ महिनापछि पुल्चोक इञ्जिनियरिङ छिरेका थिए । प्रा डा जोशीले नै सन् १९९५ मा त्रिविका लागि पहिलो पटक कम्प्युटर साइन्सको पाठ्यक्रम समेत तयार पारेका थिए । 

कोभिड-१९ ले अनेकौं समस्या सिर्जना गरेको अहिलेको समयमा संस्थानको एक सेमेस्टर कक्षा नै सिफ्ट भएको छ । हाल संस्थानअन्तरगत पाँचवटा आङ्गिक क्याम्पस र दशवटा सम्बन्धनप्राप्त कलेजहरु रहेका छन् । 

कोभिड १९ कै कारण बीईको नयाँ भर्ना प्रक्रिया सुरु हुन सकेको छैन भने अर्कोतर्फ हजारौं विद्यार्थीको सेमेस्टर परीक्षा रोकिएको छ । देशकै प्रविधि क्षेत्रलाई नेतृत्व दिन सक्ने संस्थाको रुपमा भएपनि संस्थानले राजनीतिक नियुक्ति र भागवण्डाका कारण अपेक्षित लक्ष हाँसिल गर्न सकेको थिएन । 

सूचना प्रविधि विषयका विज्ञ नै डीन नियुक्त भएपछि संस्थान र मुलुककै सूचना प्रविधि क्षेत्रले नयाँ उचाई लिनसक्ने अपेक्षा गरिएको छ । टेकपानासँगको कुराकानीमा नवनियुक्त डीन प्रा डा जोशीले आफ्नो कार्यकालमा सूचना प्रविधिको अनुसन्धानमा विशेष जोड दिने बताए ।

‘क्वान्टम कम्प्युटर प्रविधिको विकासले समग्र सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा ठूलो परिवर्तन ल्याउँदैछ,’ उनले भने, ‘त्यतातर्फ थुप्रै कामहरु गर्नुपर्नेछ । सूचना प्रविधिको प्रयोग अपेक्षित रुपमा अगाडि बढ्न नसकेको अहिलेको अवस्थामा यसको प्रयोगलाई अझ बढी र व्यापक स्तरमा कसरी विस्तार गर्न सकिन्छ भन्नेमा मेरो ध्यान रहनेछ । सूचना प्रविधि क्षेत्रमा विश्वविद्यालय र विद्यार्थीहरुका लागि अन्तर्राष्ट्रियस्तरमा एक्सपोजरका लागि पनि काम गर्नुपर्ने थुप्रै ठाउँहरु छन् ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०