close

पुल्चोक इञ्जिनियरिङका विद्यार्थीलाई एनसेलले दियो २४ लाख रुपैयाँ छात्रवृत्ति

टेकपाना टेकपाना

साउन १३, २०७७ ९:८

पुल्चोक इञ्जिनियरिङका विद्यार्थीलाई एनसेलले दियो २४ लाख रुपैयाँ छात्रवृत्ति

काठमाडौं । निजी मोबाइल सेवा प्रदायक कम्पनी एनसेल प्रालिले इञ्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसलाई ‘एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान २०७७’ अन्तर्गतको नगद रकम हस्तान्तरण गरेको छ । आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत एनसेलले पुल्चोक क्याम्पसका पाँच संकायका उत्कृष्ट विद्यार्थीलाई प्रत्येक वर्ष छात्रवृत्ति तथा उत्कृष्टता सम्मान गर्दै आएको छ ।

कोरोनाभाइरस रोगको महामारीका कारण शैक्षिक संस्थाहरु हाल बन्द रहेका र औपचारिक कार्यक्रम गर्न सम्भव नभएको अवस्थामा एनसेलले यो वर्षको छात्रवृत्ति तथा उत्कृष्टता सम्मान अन्तर्गतको नगद पुरस्कार रकम वापत २४ लाख रुपैयाँको चेक पुल्चोक क्याम्पसलाई हस्तान्तरण गरेको हो । उक्त चेक एनसेलका प्रतिनिधिले पुल्चोक क्याम्पसका क्याम्पस प्रमुख प्राडा लक्ष्मण पौडेललाई हस्तान्तरण गरेका थिए ।

‘‘एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान हाम्रा विद्यार्थीहरुका लागि एउटा ठूलो प्रेरणा र प्रोत्साहन बन्दै आएको छ । मेहनती र जेहनदार विद्यार्थीहरुलाई दिइने यो सम्मान कार्यक्रमका लागि हामी एनसेल प्रति सधैं आभारी छौं, ” क्याम्पस प्रमुख प्राडा पौडेलले भने, “कोभिड–१९ ले सिर्जना गरेको परिस्थितीले गर्दा औपचारिक कार्यक्रम सम्भव नभएपनि छात्रवृत्ति र उत्कृष्टता सम्मानको पुरस्कार रकम सबै सम्बन्धित उत्कृष्ट विद्यार्थीहरुलाई चाँडै उपलब्ध गराउने छौं ।”

पुल्चोक क्याम्पसले ईलेक्ट्रिकल, ईलेक्ट्रोनिक्स्, कम्प्युटर, सिभिल र मेकानिकल ईन्जिनियरिङ्ग संकायका १८ जना विद्यार्थीलाई छात्रवृत्ति र ६ जनालाई उत्कृष्टता सम्मानको जनही १ लाख रुपैयाँ नगद हस्तान्तरण गर्ने गर्नेछ । प्राविधिक शिक्षालाई प्रोत्साहन गर्दै युवा प्रतिभाहरुको पहिचान र उनीहरुको शैक्षिक उत्कृष्टताको कदर गर्ने उद्देश्यका साथ यो कार्यक्रम राखिएको हो ।

गतवर्ष एनसेलले २०८० सालसम्म यी पाँच संकायमा अध्ययन गर्ने ९० जना विद्यार्थीलाई छात्रवृत्ति र ३० जना उत्कृष्ट विद्यार्थीहरु उत्कृष्टता सम्मान स्वरुप कूल १ करोड ३० लाख रुपैयाँको छात्रवृत्ति तथा उत्कृष्टता पुरस्कार प्रदान गर्र्न ईन्जिनियरिङ्ग अध्ययन संस्थान, पुल्चोक क्याम्पससँग सम्झौतामा हस्ताक्षर गरेको थियो ।

यस अघि एनसेलले २०७१ देखि २०७५ सम्म ६० जना विद्यार्थीलाई छात्रवृत्ति र २० जना विद्यार्थीलाई उत्कृष्टता सम्मान स्वरुप ८० लाख रुपैयाँको छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गरेको थियो ।
एनसेल छात्रवृत्ति विभिन्न पाँच संकायमा स्नातक तहको प्रथम, द्घितीय र तृतीय वर्षको वार्षिक परीक्षामा प्राप्त गरेको उत्कृष्ट नतिजाको आधारमा क्रमशः द्घितीय, तृतीय र चौथो वर्षमा अध्ययनरत विद्यार्थीले प्राप्त गर्दछन् ।

पाँचवटै संकायका छात्रा मध्येबाट उत्कृष्ट नतिजा ल्याएका द्घितीय, तृतीय र चौथो वर्षमा अध्ययनरत एक÷एक जना गरी तीन छात्राले समेत यो छात्रवृति पाउने गर्दछन् ।

यसैगरी उत्कृष्टता सम्मान अन्तर्गत ईलेक्ट्रिकल, ईलेक्ट्रोनिक्स्, कम्प्युटर, सिभिल र मेकानिकल ईन्जिनियरिङ्ग संकायमा सर्वोत्कृष्ट नतिजा सहित स्नातक तहकोे पढाइ सकाएका प्रत्येक संकायका १/१ जना र यी पाँचै संकायका छात्राहरु मध्यबाट सर्वोत्कृष्ट ठहरिएकी एक छात्रालाई उत्कृष्टता सम्मान प्रदान गर्ने गरिन्छ । हरेक छात्रवृत्ति तथा उत्कृष्टता सम्मान पुरस्कारको राशि समान एक लाख रुपैयाँ रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०