close

अन्ततः माइक्रोसफ्टले किन्ने भयो टिकटक

टेकपाना टेकपाना

साउन १८, २०७७ ६:५६

अन्ततः माइक्रोसफ्टले किन्ने भयो टिकटक

काठमाडौं । प्रयोगकर्ताको डेटा सेक्युरिटीको विषयमा लामो समयदेखि विवाद झेल्दै आएको टिकटक अमेरिकी स्वामित्वमा जान राजी भएको छ । गएको एक महिना लामो छलफलपछि टिकटकको प्यारेन्ट कम्पनी बाइटड्यान्स यस किसिमको निश्कर्षमा पुगेको हो ।

टिकटकले यसअघि नै संभावित प्रतिबन्ध रोक्नका लागि अमेरिकी कम्पनीलाई आफ्नो निश्चित हिस्सेदारी बेच्न सक्ने बताएको थियो । तर उक्त विषयमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प भने तयार थिएनन् । आजदेखि टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाउन उनी लागेका थिए ।

तर अन्तिम समयमा आएर टिकटक आफ्नो सम्पूर्ण हिस्सा अमेरिकालाई दिन तयार भएको हो । यसका लागि माइक्रोसफ्ट र बाइटड्यान्सबीच पाँच अर्ब अमेरिकी डलरमा सम्झौता भएको हुन सक्ने बताइएको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार अब टिकटकका प्रयोगकर्ताहरूको डेटाका लागि माइक्रोसफ्ट जिम्मेवार हुनेछ । प्रयोगकर्ताको डेटा माइक्रोसफ्टको सर्भरमा स्टोर हुनेछ । अर्को शब्दमा भन्नुपर्दा, नयाँ सम्झौतासँगै बाइटड्यान्सले आफ्नो चिनियाँ चोला फ्याँकेको छ ।

यद्यपि सम्झौताको विषयमा अहिलेसम्म टिकटक वा माइक्रोसफ्ट कुनै पनि पक्षबाट आधिकारिक जानकारी बाहिर आएको छैन । भारतपछि, अमेरिका टिकटकका लागि दोस्रो ठूलो बजार हो ।

अमेरिकामा टिकटककका मासिक सक्रिय प्रयोगकर्ताको संख्या आठ करोड रहेको छ । लगातार दुई ठूला बजार गुमाउने अवस्थामा पुगेको टिकटकका लागि माइक्रोसफ्टसँगको सम्झौताले ठूलो संरक्षण प्रदान गर्नेछ ।

तर यससँगै एउटा गम्भीर प्रश्न भने खडा भएको छ । आफ्नो ध्रुवभन्दा बाहिरका सफल प्रविधि कम्पनीहरुलाई हत्याउन वा अवरोध सिर्जना गर्न अमेरिका कुन हद सम्म जानसक्छ भन्ने कुराका लागि ह्वावेपछि टिकटक अर्को दृष्टान्त बनेको छ ।

एजेन्सीको सहयोगमा

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०